Comments Add Comment

चितवनमा कोरोनासँग मिल्दो लक्षण भएका ३ जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

२६ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार बिहीबार र शुक्रबार गरी तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष छन् । एक जना जनरल आईसीयूमा र दुई जनाको आकस्मिक कक्षमा  उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार शुक्रबार मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीय किशोरी रहेकी छिन् । उनी आकस्मिक कक्षमा उपचाररत थिइन् । यस्तै रत्ननगर नगरपालिकाका ४० वर्षीय पुरुषको बिहीबार राति आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । बिहीबार दिउँसो आईसीयू कक्षमै खैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको पनि उपचारको क्रममा मृत्यु भएको पौडेलले बताए । ती युवती तीन दिनदेखि आईसीयू कक्षमा उपचाररत थिइन् ।

उनीहरु तीनै जनालाई ज्वरो, खोकीसहित श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वाब परीक्षणको नतिजा शुक्रबार रातिसम्म आउने सूचना अधिकारी पौडेलले बताए ।

यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा तीन जनाको एकैदिन उपचारकै क्रममा मृत्यु भएको थियो । उनीहरुको कोरोना परीक्षण गर्दा तीनै जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment