Comments Add Comment

गिट्टी-बालुवा र इँटाको व्यापारमा मन्दी

२७ भदौ, काठमाडौं । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएयता निर्माण क्षेत्र पनि ठप्प छ । जसका कारण देशभर हजारौंको संख्यामा रहेका निर्माण उद्योगहरु बन्द छन् ।

त्यसको असर उद्योगीहरुमा मात्र नभएर श्रमिकहरुमा पनि परेको छ । लकडाउन खुलेपछि पनि निर्माणका गतिविधि कम हुँदा व्यापार न्यून भएकाले झनै समस्या बढेको उद्योगीहरु बताउँछन् ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन आदेश जारी हुँदा निर्माण क्षेत्रका इँटा उद्योग, क्रसर उद्योग लगायतका उद्योगहरु पनि बन्द रहे । तरपनि सरकारले कोभिड १९ संक्रमणको असर परेको क्षेत्रको सूचीमा यी क्षेत्र राखेको छैन ।

निर्माण क्षेत्र कुनै न कुनै रुपमा सञ्चालन भइरहेको सरकारको ठहर छ । निर्माण क्षेत्रका लागि आवस्यक मुख्य कच्चापदार्थ यिनै इँटा उद्योग र क्रसर उद्योगबाट आपूर्ति हुन्छ । त्यसैले पनि यो क्षेत्रमा त्यति ठूलो असर परेको छैन भन्न सकिन्छ । तर, निर्माण उद्योगीहरु भने त्यसमा सहमत छैनन् ।

अन्य क्षेत्रमा परेको असरको प्रभाव निर्माण क्षेत्रमा पनि पर्ने क्रसर उद्योगी श्यामराज खड्का बताउँछन् । उनले कोभिडको असर वैदेशिक रोजगारीमा परेको र रेमिट्यान्समा कमी आउँदा निर्माणका कामपनि कम हुन गई निर्माण जन्य उद्योगहरुमा असर पर्ने बताए ।

उनले रेमिट्यान्समा आएजतिकै कमी निर्माण क्षेत्रको व्यापारमा पनि आउने बताए । त्यसैले सरकारले क्रसर उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने खड्काको भनाइ छ ।

यस्तै इँटा उत्पादक संघका अध्यक्ष नातिभाई हेम्वा पनि लकडाउन सुरुभएपछि इँटा उत्पादन ठप्प भएको बताउँछन् । काँचो इँटा पोल्ने बाहेकका कुनै काम हुन नसेको उनको भनाइ छ । उनले अहिले बजारमा समेत इँटाको माग नभएको बताए ।

अहिले उत्पादन भएको इँटा बिक्री नभएकाले अर्को सिजनको मागलाई समेत धान्न सक्ने इँटा आफूहरुसँग रहेको हेम्वाले बताए । त्यसैले पनि अहिलेकै स्थितिमा माग भइराखे अर्को सिजनमा इँटाको आपूर्तिमा कुनै समस्या नहुने देखिएको छ ।

तर अहिलेको स्थितिमा उद्योग सञ्चालन गर्न चुनौती रहेको पनि उनको भनाई छ । विभिन्न जिल्लाबाट आउने श्रमिकहरुको व्यवस्थापन उद्योगीहरुका लागि मुख्य चुनौती रहेको उनले बताए ।

भक्तपुर जिल्लामा सञ्चालित ६२ वटा इँटा उद्योगमा करिब ३५ हजार कामदार कार्यरत छन् । विभिन्न जिल्लाबाट र भारतबाट समेत कामदार ल्याउनुपर्ने भएकाले कोभिड १९ संक्रमणको व्यवस्थापनमा चुनौति रहेको अध्यक्ष हेम्वाले बताए ।

कामदारहरु विभिन्न उद्योगमा पालैपालो काम गर्न जानुपर्ने भएकाले उद्योगभित्रै क्वारेन्टाइनमा राख्न समेत सम्भव नहुने उनले बताए । त्यसैले सरकारले इँटा उद्योगीहरुका लागि छुट्टै मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment