Comments Add Comment

एप्पलका कर्मचारीका लागि आफ्नै डिजाइनको मास्क

काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पल आफ्नो डिजाइन दर्शनका लागि चर्चित छ । चाहे आफ्ना प्रडक्टहरुको डिजाइन होस् वा आफ्ना प्रडक्टहरु बिक्री गर्ने रिटेल स्टोरहरुको डिजाइन नै किन नहोस् एप्पलले डिजाइनको क्षेत्रमा अतिरिक्त लगानी र मेहेनत गर्ने गर्दछ ।

आफ्नो डिजाइन दर्शनलाई एक कदम अगाडि बढाउँदै एप्पल कम्पनीले आफ्ना कर्मचारीहरुका लागि मास्क डिजाइन गरेको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि अनुहारमा मास्क लगाउनु अनिवार्य जस्तै बनेको बेला एप्पलले आफ्ना कर्मचारीहरुका लागि आफ्नै छुट्टै मास्क डिजाइन गरेको ब्लुम्बर्गले जनाएको छ ।

उक्त मास्कको नाम ‘एप्पल फेस मास्क’ रहेको छ । कम्पनीको इन्जिनियरिङ तथा औद्योगिक डिजाइन सम्बद्ध टिमले उक्त मास्कको डिजाइन गरेको हो ।

त्यस्तै म्याक र्युमर्स नामक वेबसाइटले पनि एप्पलको मास्कका विषयमा समाचार प्रकाशित गरेको छ । समाचार अनुसार एप्पल फेस मास्कमा तीनवटा पत्र रहेका छन् जसले सुक्ष्म कणहरु समेत भित्र छिर्न तथा बाहिर निस्किन दिँदैन ।

सो मास्कलाई धोइपखाली गरी बढीमा ५ पटकसम्म पुनः प्रयोग गर्न सकिने बताइएको छ ।

एप्पललाई उद्धृत गर्दै ब्लुम्बर्गले जनाएअनुसार निकै सावधानीपूर्वक अनुसन्धान तथा परीक्षण गरी उक्त मास्कको डिजाइनलाई पूर्णता दिइएको हो ।

आगामी दुई हप्ताभित्र एप्पलको कर्पोरेट तथा रिटेल शपहरुमा कार्यरत कर्मचारीहरुले उक्त मास्क लगाउन पाउनेछन् ।

स्मरण रहोस् गत अप्रिल महिनामै एप्पलले स्वास्थ्यकर्मीहरुका लागि अनुहार छोप्ने चिकित्सा सामान डिजाइन गरी वितरण गर्ने घोषणा गरेको थियो । ट्वीटरमा सार्वजनिक गरेको एक भिडियो मेसेजमा एप्पल सिइओ टिम कुकले एप्पलले डिजाइन गर्ने स्वास्थ्यकर्मी लक्षित फेस शिल्डका विषयमा जानकारी गराएका थिए ।

उनले एक फेस शिल्डको नमूना समेत देखाउँदै उक्त फेस शिल्डका बारेमा डाक्टरहरुबाट सकारात्मक पृष्ठपोषण प्राप्त भैरहेको समेत दाबी ग्रेका थिए । उनका अनुसार एप्पलका फेस शिल्ड प्याकिङ गर्न तथा लगाउन समेत निकै सजिलो हुनेछ । टिम कुकले एप्पलका फेस शिल्डको उत्पादन अमेरिका र चीनमा गरिने बताएका थिए ।
आफ्ना कर्मचारीहरुका लागि फेस मास्क डिजाइन गरेको एप्पलले स्वास्थ्यकर्मीहरुलाई लक्षित गर्दै ल्याउने भनिएको फेस शिल्ड कहिले ल्याउने हो भन्नेचाहिँ खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment