Comments Add Comment

पाँचतारे होटल टाइगर प्यालेसले हटायो ३९३ कामदार

२८ भदौ, बुटवल । कोरोना महामारीका कारण आर्थिक संकट उत्पन्न भएको भन्दै रुपन्देहीको तिलोत्तमामा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टले झण्डै ४०० कर्मचारीलाई कामबाट निकालेको छ ।

अस्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित होटेलले दुई वर्षे करार सम्झौता सकिएको भन्दै कर्मचारीहरुलाई इमेलबाट पत्र पठाएर अब करार सम्झौता नवीकरण नहुने स्पष्ट पारेको हो ।

कामबाट निकालिनेहरुमा रिसोर्टको माथिल्लो पद जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत ३९३ जना नेपाली कमदार रहेका छन् ।

रिसोर्टमा क्यासिनो समेत सञ्चालित थियो । सेप्टेम्बर ९ तारिखमा पठाइएको इमेलमा करार सम्झौता नवीकरण नहुने भएकाले आफ्नो व्यवस्थापन आफैं गर्न र भविष्यमा होटेल खुलेपछि कर्मचारी माग हुँदा उपयुक्त पदमा आवेदन दिन सकिने उल्लेख छ ।

कोरोना महामारीले निम्ताएको अकल्पनीय परिस्थितिमा होटेल बन्द भई आम्दानी शून्य हुँदा पनि कम्पनीले सबै कर्मचारीलाई ५० प्रतिशत तलब दिएको इमेलमा स्मरण गराइएको छ । ‘कोरोना महामारीले होटेल बन्द हुँदा कम्पनी आर्थिक संकटमा परेरै होला, कर्मचारीको कन्ट्रयाक्ट रिन्यु नहुने भनेर मलाई पनि इमेल आएको छ,’ होटलका एचआर म्यानेजर इन्द्र भट्टराईले भने, ‘कम्पनीको सिनियर टिम अष्ट्रेलिया र हङकङमा हुनुहुन्छ, मैले पनि सम्पर्क गरिहेको छु,उहाँहरुसँग क्लियर भएपछि मात्रै थप कुरा थाहा होला ।’

तर कर्मचारीहरुले करार अवधि सकिएकाले निकालिएको भन्ने कम्पनीको भनाइमा कर्मचारीको असहमति छ । करार अवधि सकिएको एक वर्ष पुगिसकेको कर्मचारीहरुको भनाइ छ । नेपाली कामदारलाई कामबाट निकाल्दा विदेशी कामदारलाई भने ननिकालेको कर्मचारी चित्र भण्डारीले बताए ।

कम्पनीले कर्मचारीसँग छलफल र सल्लाह नै नगरी एक्कासी इमेलबाट पत्र पठाएर जागिरबाट हटाइएको जानकारी पाउँदा अन्योलता भएको उनले गुनासो गरे । ‘कोरोनाले होटल बन्द भएकाले हामी न्यूनतम तलबमा चित्त बुझाउन तयार छौं, तर रोजगारी नै खोस्न पाइँदैन,’ भण्डारीको तर्क छ,’श्रम ऐन अनुसार २ वर्षभन्दा बढी अवधि काम गरेका कामदारहरुलाई निकाल्न पाइँदैन ।’

अर्का कर्मचारी गोविन्द गौतमले करार अवधि सकिएको कुरालाई आधार मान्न नसकिने बताए । ‘करार अवधि सकिएको करिव एक वर्ष भयो,’ उनले भने, ‘त्यति बेलै हटाएको भए हामी अर्को ठाउँ काम खोज्न सक्थ्यौं ।’

अर्का कर्मचारी विशाल कार्कीले भिसाको म्याद सकिएका विदेशी कामदारहरुलाई भने कामबाट ननिकालिएको दाबी गरे । ‘मासिक पाँच लाखभन्दा धेरै तलब खाने विदेशी कर्मचारीलाई हटाइएको छैन, नेपालीलाई मात्र हटाइएको छ,’ कार्कीको दाबी छ ।

चार वर्षअघि ६ अर्बभन्दा बढी लगानीमा तिलोत्तमा नगरपालिका-१३ कोटीहवामा १४ विगाह क्षेत्रफलमा प्रदेश ५ कै पहिलो पाँचतारे होटेलका रुपमा टाइगर वान प्रा.लि.अन्तर्गत टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको थियो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विदेशी लगानी र व्यवस्थापनमा सञ्चालित पाँचतारे होटेल भएकाले विदेशी लगानी फिर्ता हुने र लगानीकर्तालाई नकारात्मक असर नपार्ने गरी समस्याका समाधान खोज्नुपर्ने बताउँछन् । ‘स्वदेशी लगानीकर्तासँग जस्तो व्यवहार विदेशीसँग गर्न हुँदैन, यसमा आवश्यक परे नगरपालिकाले सहजकर्ताको भूमिका निभाउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment