Comments Add Comment

१०० रुपैयाँको ‘केमो इन्जेक्सन’ दिन ५८ हजार एम्बुलेन्स भाडा

भोलिका दिन बिरामीको उपचार खर्च र मृत्युदर बढ्नसक्छ

२८ भदौ, काठमाडौं । सुर्खेतबाट एक अभिभावक क्यान्सरको उपचार गराइरहेको आफ्ना सन्तानलाई ‘केमो इन्जेक्सन’ लगाउन गत साता कान्ति बाल अस्पताल, महाराजगञ्ज आइपुगे ।

हरेक महिना अनिवार्य लगाउनुपर्ने केमो इन्जेक्सन कान्ति अस्पतालबाहेक अन्यत्र पाइँदैन । कोरोना संक्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा भएका कारण उनीसामू एम्बुलेन्समा आउनु बाहेक अर्को विकल्प रहेन । १०० रुपैयाँँ पर्ने इन्जेक्सनकै लागि काठमाडौं आएका उनले एम्बुलेन्स भाडा मात्र ५८ हजार रुपैयाँ तिर्नुपर्‍यो ।

उपचारमा संलग्न डा. सुधीर सापकोटा भन्छन्, ‘यो त एउटा प्रतिनिधि घटना मात्र हो, लकडाउनपछि यो अवस्था भोग्ने बिरामीको संख्या दर्जनौं छ ।’

कतिपय त अस्पतालसम्म पुग्दै सक्दैनन् । अस्पतालको तथ्यांकले पनि त्यही बताउँछन् । कोरोना महामारी सुरु नहुँदासम्म कान्ति अस्पतालमा दैनिक हजार हाराहारीमा बिरामी अस्पताल पुग्थे । यसरी अस्पताल पुग्नेहरुमा ओपिडीका बिरामी धेरै हुन्थे ।

कडाउन अवधिमा यो संख्या घटेर १०० हाराहारी पुगेको कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेल बताउँछन् ।

यो तथ्यांकले फलोअप र नयाँ रोग पहिचान गर्न आउने बिरामी घटिरहेको प्रष्ट हुने चिकित्सकहरु बताउँछन् । ‘यातायातका साधन नचलेर मात्र होइन, अस्पतालबाट कोभिड–१९ सर्ने डरले मानिसहरु रोग सहेर घर बसिरहेका छन्’ वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त भन्छन्, ‘समयमै रोग पहिचान नहुनु भनेको उपचार खर्च बढ्नु मात्र होइन, निको हुने सम्भावना कम हुनु पनि हो ।’

महामारीका कारण क्यान्सर, मिर्गौला, कलेजो र न्युक्लियर मेडिसिन अन्तर्गतका बिरामीहरुको रोग पहिचान र उपचारमा समस्या भएको चिकित्सकहरु बताउँछन् ।

उनीहरुका अनुसार क्यान्सरको उपचार गराइरहेका बिरामीको नियमित फलोअप गर्नुपर्छ । केमोथेरापीदेखि औषधि डोज मिलाइरहनुपर्छ । औषधिको नियमितता भंग भयो भने बिरामीको उपचार प्रकियामा नसोचेको जटिलता आउँछ ।

‘अधिकांश बिरामीको फलोअप गर्नुपर्ने समय २/३ महिना धकेलिसक्यौं, गाउँ गएका बिरामीको औषधि सकिएर अवस्था नाजुक छ’ डा. सापकोटा भन्छन्, ‘यसको असर तत्काल नदेखिएला तर २/३ वर्षमा अवश्य देखिन्छ । अहिलेको कारणले क्यान्सरको मृत्युदर बढ्छ भने निको हुने दर घट्छ ।’

कोरोना महामारीका कारण क्यान्सर, मिर्गौला, कलेजो र न्युकियर मेडिसिन अन्तर्गतका बिरामीहरुको रोग पहिचान र उपचार अवरुद्ध भएको छ । यसले भोलिका दिनमा बिरामीको उपचार खर्च मात्र बढ्दै, मृत्युदर समते बढ्नसक्छ ।

कान्ति अस्पतालमा मात्र हरेक वर्ष झण्डै २०० क्यान्सरका नयाँ बिरामी पहिचान हुने गरेको छ । कोरोना महामारीका कारण यो वर्ष नयाँ बिरामी पहिचान गर्न मुश्किल भएको छ । डा. सापकोटाका अनुसार कतिपय बिरामी तुरुन्त उपचार गर्नुपर्ने अवस्थामा पनि अस्पताल आउन सकेका छैनन् भने इमर्जेन्सी अवस्थामा आएकाहरुको पनि रोग पहिचान गर्न समस्या भएको छ ।

डा. सापकोटाका अनुसार बच्चामा देखिएको क्यान्सर कोष पत्ता लगाउन ‘फ्लोसाइटोमिटर’ जाँच गर्नुपर्छ । क्यान्सर कोषको प्रकार पत्ता नलागेसम्म औषधि चलाउन मिल्दैन । तर रिएजेन्टको अभावका कारण यो टेस्ट रोकिएको छ । यस्तै ‘साइटोजेनेटिक’ मेसिन नहुँदा क्यान्सरको कोषभित्र हुने क्रोमोजोमको खराबी पत्ता लगाउने भारत जानुपर्ने बाध्यता वर्षौदेखि छ । ४० प्रकारका रक्त क्यान्सर पत्ता लगाउने ‘एनालाइसिस्का’ मेसिन नेपालका अस्पतालमा छैन ।

‘इनो हिस्ट्रो केमेस्ट्री’ अर्थात क्यान्सरको ट्युमर पत्ता लगाउन जाँच गर्ने रिएजेण्टको अभावले अनेक कष्ट सहेर अस्पताल पुगेका बिरामीको उपचारसमेत रोकिएको छ । हड्डीमा कुन रुपमा क्यान्सर फैलिएको छ भनेर जाँच गर्नको लागि ‘बोन स्क्यान टेस्ट’को रिएजेन्ट नहुँदा समस्यामा पर्ने बिरामी धेरै छन् ।

शरीरको कुन कुन भागमा क्यान्सर फैलिएको छ भनेर जाँच गर्नको लागि ‘पेट स्क्यान’ (पोजिट्रोन इमिसोन टोमोग्राफी) गर्नुपर्छ । नेपालका दुई वटा ल्याबमा मात्र यो टेष्ट हुन्छ र, एउटा टेष्टको मूल्य ६५ हजार रुपैयाँ पर्छ । तर रिएजेण्टको अभावमा ल्याबहरुले पोजिट्रोन इमिसोन टोमोग्राफी स्थगित गरेका छन् । यसले महिनामा १०० भन्दा बढी मानिस परीक्षणबाट बञ्चित हुनु परेको छ ।

चिकित्सकहरुका अनुसार पेट स्क्यानको १ सय वटा रिएजेन्ट भारतबाट मगाउँदा काम लाग्ने अवस्थामा सरदर ६ वटा मात्र आइपुग्छ । नेपालमा स्टोर गर्न नमिल्ने भएकाले प्रयोग गर्नुपर्ने अवस्थामा तत्काल विमानबाट ल्याउने गरिएको थियो । यस्ताका लागि विमानले पनि छुट्टै लाइसेन्स लिनु पर्ने हुन्छ ।

चैतबाट अन्तर्राष्ट्रिय उडान ठप्प छ । यो रिएजेन्ट सडक मार्गबाट ल्याएर काम लाग्दैन । क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरी भन्छन्, ‘पेट स्क्यानको रिएजेण्ट जति पुरानो हुँदै गयो, त्यति प्रभावकारिता घट्दै जान्छ, प्लेनमा हालेको ६ घण्टाभित्र प्रयोग गरिसक्नुपर्छ, गाडीमा ल्याएर प्रयोग गर्न सम्भव छैन ।’

यति मात्र होइन, पहिले महत्वपूर्ण टेस्टको स्याम्पल हवाइमार्गबाट भारतमा पठाइन्थ्यो । अहिले सडक यातायातमार्फत पठाउनुपर्ने हुँदा स्याम्पल बिग्रिएको गुनासो धेरै सुनिएको छ । एकातिर रिपोर्ट आउन समय लाग्ने र अर्कोतिर स्याम्पल ल्याबमा पुग्दा बिग्रने भएकाले हैरानी बढेको डा. सापकोटा सुनाउँछन् ।

भारतमा रगतको नमुना जाँच गर्न २५ हजारदेखि ५० हजार रुपैयाँसम्म खर्च हुन्छ । रक्त क्यान्सरको प्रकार पत्ता लगाउन पनि त्यही हाराहारीमा खर्च गर्नुपर्छ । महामारीको बेला बिरामीले त्यहाँसम्म स्याम्पल पुर्‍याउने बाटो खर्च धान्न नसक्ने अवस्था आएको छ । यसले पछिल्लो ६ महिनामा क्यान्सरको रोग पहिचानमै समस्या भएको क्यान्सर रोग विशेषज्ञहरु बताउँछन् ।

क्यान्सरका बिरामीहरुको केमोथेरापी गर्नुपर्छ । केमोथेरापीलाई क्यान्सरको उपयुक्त उपचार पद्दती मानिन्छ । त अहिले केमोथेरापी गर्न चाहिने ‘कार्बोप्लाटिन’ औषधिको अभाव भइरहेको छ । क्यान्सरका बिरामीले नियमित खाने ‘मेथोट्रेक्सेट’ नामक औषधि पनि अभाव भएको डा. सापकोटा सुनाउँछन् ।

‘उपत्यकाबाहिरका बिरामीहरु नियमित फलोअपमा आउन नपाएकाले आफ्नो रोगको अवस्थाको बारेमा धेरैले जानकारी पाएका छैनन्’ डा. सापकोटा भन्छन्, ‘नियमित औषधि नपाउँदा निम्तिएको समस्या त छँदैछ ।’

न्युक्लियर मेडिसिनसम्बन्धी परीक्षणमा पनि समस्या भएको न्युक्लियर मेडिसिन फिजिसियन डा. सागर महर्जन बताउँछन् । उनका अनुसार न्युक्लियर मेडिसिनको रिएजेन्टका अभावको कारण गएको ६ महिनामा लगभग ३ हजारभन्दा बढी मानिस विभिन्न परीक्षणबाट बञ्चित भएका छन् ।

लकडाउन र निषेधाज्ञाकै कारण डीटीपीए स्क्यान पनि रोकिएको उनी सुनाउँछन् । चिकित्सकहरुका अनुसार शरीरमा मिर्गौलाले कति काम गरेको छ भनेर हेर्नका लागि डीटीपीए टेस्ट गर्नुपर्छ । पिसाब रोकावट वा दुबै मिर्गौलाले काम गरेको छ–छैन हेर्न यो जाँच अनिवार्य गर्नुपर्ने डा. महर्जन बताउँछन् । मिर्गौला कति खराब छ, ट्रान्सप्लान्ट गर्नुपर्ने हो कि होइन भनेर हेर्नलाई डीटीपीए स्क्यान गरिन्छ’ डा. महर्जनले अनलाइनखबरसँग भने, ‘रिएजेण्टको अभावले किड्नीको समस्या पहिचान गर्न रोकिएका बिरामी सयौं छन् ।’

मिर्गौलामा समस्या भए नभएको ‘किड्नी बायोप्सी’ गर्न समेत रिएजेन्ट अभाव भएको वरिष्ठ पेडियाट्रिक कन्सलट्यान्ट डा. नजला खातुन बताउँछिन् । धेरै बिरामीले रिएजेन्टकै कारण बायोप्सी गर्न नपाएको भन्दै उनले भनिन्, ‘फलोअप र औषधिको समस्या त छँदैछ, नयाँ बिरामी पत्ता लगाउन पनि समस्या भयो ।’

मिर्गौला प्रत्यारोपण ठप्प हुनु महामारीले निम्त्याएको ठूलो समस्या भएको मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउँछन् । उनका अनुसार गएका ६ महिनामा लगभग १०० जना भन्दा बिरामीको प्रत्यारोपण स्थगित भएको छ । यसले आगामी ६ महिनासम्म डायलासिस गर्ने ठाउँको सिट र प्रत्यारोपण गर्ने सिट पुरानै बिरामीले ओगट्ने उनी बताउँछन् । भन्छन्, ‘महामारीले असर नगरेको भए यो बेलामा १०० वटा ट्रान्सप्लान्ट गर्ने ठाउँ र अर्को १०० डायलिसिस गर्ने ठाउँ नयाँ बिरामीका लागि खाली हुन्थे ।’

नेपालमा मिर्गौला रोगबारे विस्तृतमा अध्ययन भएको छैन । अस्पतालहरुको तथ्यांक केलाउँदा वर्षेनी ३ हजार नयाँ मिर्गौला रोगी भेटिन्छन् । पछिल्लो ६ महिना भने कोरोना महामारीका कारण रोग पहिचान नै रोकिएको छ । उपचार गराइरहेका र औषधि खाइरहेकाहरुले पनि फलोअपमा जान नपाउँदा स्वास्थ्य कुन अवस्थामा छ भन्ने जानकारी पनि सम्बन्धितले पाएका छैनन् ।

‘यो महामारीको अवधिमा कम्तीमा पनि १५ सय जना डायालासिस गर्ने बिरामी भेटिन्थे भने २०० जति ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्थाका बिरामी भेटिन्थे’ डा. काफ्ले भन्छन्, ‘कोरोना महामारीले बिरामी पहिचान गर्नमै समस्या भएकाले यसको असर दीर्घकालीन रुपमा देखिन्छ ।’

त्यसैगरी कलेजो प्रत्यारोपण सेवा पनि रोकिएको छ । मिर्गौलाको तुलनामा कलेजो प्रत्यारोपण कम हुने भएता पनि सेवाग्राहीहरु मारमा परेको त्रिवि शिक्षण अस्पतालको लिभर, प्यान्क्रियाज सर्जन प्रा. डा. रमेश सिंह भण्डारी बताउँछन् । यस्ता जटिल किसिमको शल्यक्रिया गर्ने बिरामीलाई खतरा हुने भएकाले प्रत्यारोपण बन्द गरिएको हो ।

भण्डारीका अनुसार कोभिड महामारीअघि कम्प्लेक्स ग्यास्ट्रोइन्टेस्टनल सर्जरी (जीआई सर्जरी) हप्तामा १५ देखि २० वटा हुन्थ्यो, अहिले घटेर २/३ वटामा झरेको छ । पहिलाको तुलनामा अति इमर्जेन्सी बिरामी मात्र अस्पताल पुग्ने उनी बताउँछन् । ‘बिरामीहरु अस्पताल आउन सकेका छैनन्, आएका सबैलाई सेवा दिनसक्ने अवस्था पनि छैन’ डा. भण्डारी भन्छन्, ‘कोरोना महामारी नभएको भए ४/५ वटा कलेजो प्रत्यारोपण गरिन्थ्यो होला, तर सबै रोकियो । ’

उपत्यका बाहिरबाट जटिल खालको जीआई सर्जरी गर्न आउने बिरामी घटेकाले त्यसको असर दीर्घकालीन हुने डा. भण्डारी सुनाउँछन् । उनी भन्छन्, ‘अझै तीन चार महिना जटिल ट्रान्सप्लान्ट गर्न सक्ने अवस्था आउला जस्तो छैन ।’

वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त कोभिड महामारीको कारण बिरामीहरु समयमै अस्पताल नआइपुगेकाले शल्यक्रिया गर्दा जोखिम बढेको सुनाउँछन् । शल्यक्रियाको सेड्युल दिन वा साता ढिलो हुँदा शल्यल्क्रिया सफल हुने दर घट्ने उनी सुनाउँछन् ।

ट्युमरका बिरामी ३ महिना ढिलो अस्पताल पुग्दा ट्युमर बढेर उपचार प्रकियामा नै असर गर्ने उनको कथन छ । ‘अहिले आउनुपर्ने ट्युमरका बिरामी ३/४ महिना ढिलो आउँदा शल्यक्रियामा समस्या हुन्छ’ उनी भन्छन्, ‘अझ कति धेरै बिरामी अस्पताल आइपुगेकै छैनन् ।’

अस्पताल आइपुग्ने बिरामीको रोग पहिचान र उपचारमा भने कुनै समस्या नभएको डा. पन्तले बताए । उनका अनुसार यो ६ महिनामा लगभग ७ हजार बिरामी आउनुपर्नेमा आधा भन्दा कम मात्रै आएका छन् । यही कारण भोलिका दिनमा जटिल रोग लिएर अस्पताल आउने बिरामीको संख्या बढ्ने उनको दाबी छ । उनी भन्छन् ‘मानिसहरु अस्पताल आउन ढिलो हुँदा मृत्युदर पनि बढ्छ ।’

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी पनि इमर्जेन्सी उपचारमा रोकवट नभए पनि ओपिडीमा बिरामीको सङ्ख्या‍ घटेको बताउँछन् । उनका अनुसार कोभिड महामारीभर गंगालाल अस्पतालमा कुनै पनि जटिल शल्यक्रिया रोकिएको छैन । तर ओपिडीमा बिरामीको सङ्ख्या घटेकाले त्यसको असर भोलिका दिनमा देखिन सक्ने उनको कथन छ । उनले अनलाइनखबरसँग भने, ‘रोग छिप्पिएर अस्पताल पुगेपछि उपचार प्रकिया नै प्रभावित हुन्छ, खर्च त बढ्छ नै, रोग निको हुने सम्भावना पनि घट्छ ।’

पेटरोगसम्बन्धी विशेषज्ञ डा. एके कश्यप पनि कोभिडले अबको केही वर्ष स्वास्थ्य प्रणालीमा चुनौती थपिने बताउँछन् । उनका अनुसार पेट रोगसम्बन्धी उपचार गर्न इन्डोस्कोपी गर्नुपर्छ । इन्डोस्कोपी गर्न मुखबाट पाइप हाल्नुपर्छ ।

तर यसो गर्दा चिकित्सक कोारेना संक्रमणको जोखिममा पर्ने भएकाले अति इमर्जेन्सीबाहेक इन्डोस्कोपी रोकिएको छ । यस्तै आन्द्राको सुक्ष्म अवस्था जान्न कोलोनोस्कोपी गर्नुपर्छ । कोलोनोस्कोपीले आन्द्रामा क्यान्सर भए नभएको प्रारम्भिक संकेतसमेत दिन्छ ।

तर कोभिड महामारीमा कोलोनोस्कोपी पनि रोकिएको छ । ‘म कार्यरत संस्थामा महिनामा ३ सय इन्डोस्कोपी र १ सय कोलोनोस्कोपी हुन्थ्यो, अहिले त्यो घटेर क्रमश १०० र ५०/६० मा झरेको छ’ डा. कश्यप भन्छन्, ’अन्य संस्थामा पनि यस्तै हो थप जटिल हुने देखिन्छ । ’

कोरोना महामारीले अस्पतालको सेवामा असर गरेको ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा बताउँछन् ।

बिरामीको चाप घटेकाले दीर्घकालमा देखिने समस्या एकातिर छ भने अहिले स्रोत साधनको अभावले सेवा दिन गाह्रो भइरहेको छ । ‘तत्कालिन अवस्थामा बिरामी डराएर अस्पताल नआउँदा चिकित्सकहरुलाई पनि डर बढाएको छ’ उनी भन्छन्, ‘बिरामी, चिकित्सक र अस्पतालको लागि झन गाह्रो समय आउँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment