Comments Add Comment

कीर्तिपुर घटना : कोठा सर्दासर्दै मारिए शम्भु

घरवेटीको परिवारैविरुद्ध किटानी जाहेरी

शम्भुलाई न्याय दिनुपर्ने माग गर्दै कीर्तिपुर प्रहरी वृत्त अगाडि भएको प्रदर्शन ।

२८ भदौ, काठमाडौं । भारतको चम्पारण घर भएका ४२ वर्षीय शम्भु चौधरी (महतो) नेपालमै बसेको दुई दशक हुन लागेको थियो । धेरै पढलेख नगरेका उनी सुरुवाती दिनमा बारामा बसे । त्यहीँ रहँदा सिराहाकी मिरासँग विवाह भयो ।

पछिल्लो समय शम्भु र मिरा परिवारसहित काठमाडौंको कीर्तिपुर नगरपालिका–७, भाजंगलमा बस्दै आएका थिए । शम्भु मजदुरी गरेर तीन छोरासहितको परिवार चलाइरहेका थिए । कहिले सार्वजनिक यातायातमा सह–सहचालक त कहिले फलफूल व्यवसाय गर्ने उनी खाली भएको बेला पाएको काम गर्थे ।

चौधरी परिवारमा बिहीबार बज्रपात आइलाग्यो । परिवारको सहारा र भरोसा चौधरी घरवेटीको कुटाइबाट मारिएका छन् । मिराका अनुसार घरवेटी प्रेमकृष्ण महर्जनको परिवारले लकडाउनसँगै दुःख दिन थालेका थिए ।

घरवेटीको बोली दिनप्रतिदिन रुखो मात्र भएको थिएन, ज्यानै लिने धम्की समेत दिन थालेका थिए । तर सानो कुरामा कसरी ज्यानै लेलान् ? न शम्भुलाई विश्वास थियो न मिरालाई । तर नसोचेकी घटनाकोसाक्षी बन्नुपर्‍यो मिराले ।

कोठा सरिसकेपछि भएको घटना

प्रहरीका अनुसार पछिल्लो समय लकडाउन र निषेधाज्ञाका कारण शम्भुको परिवारले भाडा तिर्न केही ढिला भयो ।

घरबेटी महर्जनले तुरुन्त कोठा सर्न दबाब दिन थाले । त्यही दबाबका कारण शम्भुले अघिल्लो साता मात्रै १२ हजार रुपैयाँ घरवेटीलाई दिएको श्रीमती मिरा बताउँछिन् । उनका अनुसार तिर्न बाँकी दुई महिनाको भाडामा एक महिनाको एड्भान्स समेत शम्भुले दिएका थिए ।

शम्भु महतो

तर, पैसा पाउँदा पनि घरवेटीले राम्रो व्यवहार गरेनन् । उल्टै तुरुन्त घर छाडेर जान भन्दै धम्क्याए । ‘एक हप्ता समय दिनुस्, लकडाउनमा कसरी कहाँ जानु ? भनेका थियौं’ मिरा भन्छिन्, ‘तर, जसरी पनि कोठा छोड, मार्छु भन्दै मेरो कपाल भुत्ल्याए ।’

उनका अनुसार घरबेटीका परिवारका अरु सदस्यले पनि शारीरिक तथा मानसिक तनाव दिन थाले । अति भएपछि बिहीबार शम्भु काममा गएनन्, कोठाको खोजीमा लागे ।

केहीपर कोठा भेटिएपछि त्यही दिन आधा सामान ओसारे । केही सामान भने महर्जनकै घरमा बाँकी थियो । त्यसैले श्रीमान–श्रीमती बिहीबार राति त्यहीँ बसे भने छोराहरुलाई नयाँ डेरामा पठाए । शुक्रबार बिहान फेरि कोठाका थप सामान सार्ने सुरसार थाले । मिरा दोस्रो तलामा काम गरिरहेकी थिइन् । एक्कासी श्रीमान शम्भु चिच्याएको सुनिन्, ‘मलाई मारे, बचाऊ, बचाऊ ।’

दौडिएर बाहिर हेर्दा घरवेटी महर्जनले आग्लो उज्याइरहेका थिए । हेर्दाहेर्दै उनले शम्भुको टाउकोमा हाने ।

तल आउञ्जेलमा शम्भुको कोखामा पनि आग्लो बजारे । मिरा चिच्याउँदै छुट्याउन गइन्, तर घरवेटीको परिवारका सदस्यले आफूलाई लछारपछार गरेको उनी बताउँछिन् ।

महर्जनकै घरमा डेरागरी बस्ने आएर छुट्याए, शम्भुलाई पानी छम्किएर होसमा ल्याउने प्रयास गरे । माइला छोरा पनि त्यहाँ आइपुगे । उनैले प्रहरीलाई फोन गरेर बोलाए ।

महानगरीय प्रहरी वृत्त, कीर्तिपुरको टोली आउने वित्तिकै साढे १२ बजे शम्भुलाई एम्बुलेन्समा हालेर कीर्तिपुर अस्पताल पुर्‍याइयो । तर केहीबेरमा चिकित्सकले शम्भुको मृत्यु भएको घोषणा गरे ।

परिवारले उठाएको छैन शव

कीर्तिपुरमा शम्भुको मृत्यु भएपछि प्रहरीले पोष्टमार्टमका लागि शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठायो । त्यसका लागि परिवारको सहमति आवश्यक पर्छ ।

शम्भुकी श्रीमती मिरा ।

तर श्रीमती मिराले शव बुझ्न मानेकी छैनन् । उनी भन्छिन्, ‘प्रेमकृष्णको परिवारका सबैलाई पक्राउ नगरी शव बुझ्दिन ।’ उनले शनिबार नै ६६ वर्षीय महर्जन, उनकी ६३ वर्षीय श्रीमती, दुई छोरा र दुई छोरीविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

प्रेमकृष्ण शुक्रबार नै पक्राउ परेका थिए । मिराको जाहेरीका आधारमा उनका दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जनलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतले ५ दिन म्याद दिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौर बताउँछन् ।

उनका अनुसार अब घटनाबारे विस्तृत अनुसन्धान हुनेछ । प्रहरीका अनुसार शम्भुको कोखामा चोट देखिएको छ । अन्यत्र, बाहिरी चोटपटक छैन । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र उनको मृत्यु कसरी भयो भन्ने यकिन कारण खुल्नेछ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार पक्राउ परेका अभियुक्तहरुले घटनामा एक जनामा मात्र संलग्न भएको दाबी गरेका छन् । यो घटना विशुद्ध आपराधिक भएको र गम्भिरतापूर्वक छानविन भइरहेको उनीहरु बताउँछन् ।

सामाजिक सद्भाव भड्किने गरी घटनालाई प्रस्तुत नगरिदिन पनि प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment