Comments Add Comment

क्रिकेटर ललित भण्डारी ‘खतरामुक्त’

२९ भदौ, काठमाडौं । आइतबार दुर्घटनामा परेर गम्भिर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन् ।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्रिकेटर भण्डारीसहित उनको नातेदार करन ठगुन्ना पनि घाइते भएका थिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो । धनगढीबाट आइतबार राति नै उनलाई नेपालगन्जको कोहलपुर मेडिकल कलेज रिफर गरिएको थियो ।

भण्डारीको अहिले कोहलपुरमा उपचार भइरहेको छ । उनको हात र खुट्टा फ्याक्चर भएको छ । अहिले उनको अवस्था सामान्य रहेको राष्ट्रिय टिमका अलराउण्डर पारस खड्काले जनाएका छन् । पारसले उनी अहिले खतरामुक्त रहेको र सामान्य अवस्थामा रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

‘ललित भण्डारी अहिले कोहलपुर मेडिकल कलेज हस्पिटलमा छन् र उनको कन्डिसन स्टेबल छ । उनी अहिले खतरामुक्त छन् । डाक्टरको भनाइअनुसार हात र खुट्टाको अपरेसन गर्नुपर्नेछ,’ पारसले लेखेका छन् ।

यसैगरी नेपाल क्रिकेट संघ (क्यान)का अनुसार भण्डारीको टाउकोको सिटी स्क्यान गरेर हेर्दा टाउको कुनै चोटपटक नलागेको पाइएको छ ।

काठमाडौं ल्याइँदै

क्रिकेटर भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ । कोहलपुर मेडिकल कलेजले भण्डारीलाई थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पतालमा रिफर गरेको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो सिटीस्क्यान रिपोर्ट अनुसार भण्डारीको कलेजोमा पनि केही चोट देखिएको छ । भण्डारीको हात र खुट्टाको शल्यक्रिया गर्न र राम्रो उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment