Comments Add Comment

कोरोना संक्रमित महिलाको मृत्यु, मृत्युपछिको रिपोर्ट नेगेटिभ

२९ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमण भई उपचाररत एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-१० की ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा आइतबार दिउँसो २ : ५५ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

कोभिड निमोनियका कारण लामो समयसम्म आईसीयुमा उपचाररत उनलाई शनिबार भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै उनको मृत्यु भएको थियो ।

नारायणीमा उपचारको क्रमममा भदौं १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गण्डक कोभिड अस्पतालमा सारिएको थियो । २२ गते गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ नै आएको थियो ।

दुवै फोक्सो सुकिसकेको उनको एक्युट रेस्पाईर्‍याटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) अर्थात श्वासप्रश्वास प्रणाली फेल भएर मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।

उपचारमा लापरबाहीको आरोप

तर गण्डक अस्थायी कोभिड अस्पतालमा उचित उपचार नपाएर उनको मृत्यु भएको आरोप पनि कतिपयले लगाएका छन् । श्वासप्रश्वासमा समस्या भएका कारण उनलाई बढीभन्दा बढी अक्सिजन चाहिन्थ्यो । सेन्ट्रल अक्सिजन सप्लाई र सिलिण्डरसहित दुवै तरिकाबाट उनलाई अक्सिजन दिने गरिएको थियो ।

रातको समयमा सिलिण्डरमा अक्सिजन फेर्नुपदा स्वास्थ्यकर्मी नआइदिने गरेको र आईसीयुमै रहेका अन्य संक्रमितले अक्सिजन फेरिदिने गरेका थिए ।

जनशक्ति नै कम भएको अस्पतालको गुनासो

गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले उपचारमा लापरबाही भएको भन्ने कुरामा सत्यता नभएको बताए ।

‘फोक्सो सुकिसकेको थियो, शरीरमा जति अक्सिजन दिए पनि पुगिरहेको थिएन । उहाँ अक्सिजन डिमाण्ड गरिरहुनुहुन्थ्यो,’ उनले भने, ‘त्यस्तैमा दया लागेर कसैले बाहिर रहेको अक्सिजन सिलिण्डरलाई भित्र लगेर लगाइदिएको हुन सक्छ । हैन भने उपचारमा लापरबाही गरेको कुरामा सत्यता छैन ।’

तीन तलाको कोभिड अस्पतालमा तीनदेखि चारजना मात्रै स्टाफ हुने गरेकोले पनि सोचेजसरी सेवा दिन नसकेको डाक्टर सिंहले बताए ।

‘आईसीयुकै स्टाफलाई पोष्ट अफ वार्डको पनि जिम्मेवारी दिएका छौं । कुनै सिफ्टमा तीन त कुनैमा चारजना ड्युटीमा हुन्छन् । २४ घण्टा आईसीयुमा स्टाफ राख्न नसकिएको सत्य हो,’ उनले भने, ‘जनशक्ति नै कम छ, महानगरले अस्पताललाई व्यवस्थापन गर्न भन्छ, अस्पतालले भएकैबाट म्यानेज गर्न भन्छन् ।’

मृत्युअघि संकलन गरिएको स्वाबको रिपोर्ट आइतबार नेगेटिभ आएपछि शव भने परिवारलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment