Comments Add Comment

आफ्नै जीवनकालमा यस्तो सरकार हेर्ने रहर छ

जिम्मेवारीयुक्त अधिकार र संरक्षण प्राप्तिको गहन विषयसँग अभिभावकको गहिरो सम्बन्ध रहेको हुन्छ । आफ्ना परिवारलाई ध्यानमा राखि हरेक क्षण अभिभावकले निर्वाह गरेको असल र सफल भूमिकाको अवस्थालाई अभिभावकत्व भनिन्छ । अभिभावकबाट खोजिएको अभिभावककै भूमिका हाम्रो देश, समाजमा अझै देख्न पाइएका छैनन् जनताले । चोरले अरुलाई चोरै देख्छ, आफुजस्तै चोरको संगत गर्न खोज्छ, सज्जनले अरुलाई सज्जनै देख्छ र आफु जस्तै सज्जनको संगत गर्न खोज्छ भन्ने सबैलाई अवगत भएकै कुरा हो ।

आफू जस्तो छ, त्यस्तै समाज अगुवा नेताले निर्माण गर्छन् वा निर्माण गर्न खोज्दछन् । अहिले देशमा यही भएको बुझिन्छ । मानव, मानव त बन्न सकेनन् दुर्जन बनिदिए, दुर्जनहरुको संख्यात्मक वृद्धि पनि गराइरहेका छन् । गुण दोषको आधारमा हरेक कुराको परिभाषा र पहिचान तय हुन्छ । अग्नि र सूर्यमा ताप हुन्छ, दुर्जनहरुमा दुर्भावना । झारैझारको माझमा अंकुरित भएको फुलको बिरुवा आफ्नो स्वाभाविक गतिमा हुर्कन र वृद्धि विकास गर्न पाउँदैन । नेपाल जस्तो सम्भावनै सम्भावनाले भरिएको देश दुर्जनहरुको दुर्भावनाकै दुष्प्रभावले सर्वत्र घेरिएको छ । भ्रष्टाचार र अन्यायको जालैजालोले बेरिएको छ ।

अभिभावकको अभिभावकत्व बिनाका सन्तानको जीवन कठिन मात्र होइन अत्यन्तै दुःखदायी र जोखिमपूर्ण पनि हुन्छ । अभिभावक र अभिभावकत्वविहीन सन्तानहरु प्रायः बलात्कृत भएका, हत्या गरि फालिएका, गलत सँगतमा परेका, अपराध कार्यमा फंसेका, आत्महत्या गरेका धेरै घटनाहरु नदेखेका होइनौं । अभिभावक र अभिभावकत्वविहीन हुनुको पीडा हामीलाई थाहा छ ।

राज्य र राज्यको प्रशासन प्रणालीलाई पनि अभिभावककै श्रेणीमा राखिन्छ । नागरिक राज्यबाट अभिभावकत्व ग्रहण गर्दै समृद्ध हुन्छन् र देशलाई पनि प्रगतिको बाटोमा जान सकोस् भन्नका लागि स्वस्थ योगदान दिन्छन् । सरकारले नागरिकप्रतिको अभिभावकत्व ग्रहण गर्छ भने उसले सम्मान पनि पाउँछ नागरिकबाट । त्यो सम्मान हो मतदान । चुनावमा नागरिकले असल अभिभावकलाई नै मतदान गर्छन् । जिताउँछन् र पुनः देशको शासन सत्ता सुम्पिन्छन् ।

घोर विडम्बना, नेपालको सरकार, सत्ता, शासन नागरिकबाट होइन पार्टीका सदस्यहरुबाट चलेको छ । लाखौं नागरिकहरु त वैदेशिक रोजगारका लागि विदेशिएका छन् । उनीहरु मतदानबाट त्यसै वञ्चित हुने भए । नेपालभर अस्पतालमा भर्ना भइ उपचार गराउने हजारौं नागरिकहरु पनि मतदानका दिन मतदान गर्न पाउँदैनन् । लाखौं नागरिक कुनै न कुनै कारण स्वेच्छाले मतदान गर्दैनन् । हाम्रो देशमा गरिबी र बेरोजगारीको समस्या उस्तै छ । गरिब, विपन्नहरुलाई त केही हजार रकम दिएर उनीहरुको मत किनिन्छ । कतिले दरिद्रता, गरिबीका कारण हताश भइ आत्महत्या गर्छन् । मृतककै नामबाट मतदान गर्ने खेल पनि रचिन्छ । मृतकका परिवार पार्टीकै सदस्य भएकाले परिवारकै समर्थनमा यसो गरिन्छ ।

कतिले त एउटै व्यक्तिले दुई पटकसम्म मतदान गर्ने व्यवस्था मिलाएका हुन्छन् । कसै गरि नागरिकको मत थोरै पाउने पक्का पक्की भइ आएमा मतदान पेटीसमेत नियन्त्रणमा लिइन्छ । मतदान केन्द्रमा आगो लगाइन्छ । साम, दाम, भेद र दण्ड अपनाइन्छ, आवश्यक परेमा धाँधली पनि गरिन्छ अनि अन्तिममा जसरी नि विजयी भइन्छ ।

चुनावताका दिनरात पार्टीका सदस्य कार्यकर्ताबाट गलत काम गराइन्छ, सत्तामा पुगेपछि त्यही गलत कामलाई ढाकछोप गर्न जनताले तिरेको करबाट निर्मित सरकारी ढुकुटीको दुरुपयोग गरि तिनै कार्यकर्ता सदस्यहरुलाई पोषिन्छ । यति नगर्ने हो भने नेतृत्वपंक्तिलाई लुकाइएका, दबाइएका सबै षडयन्त्रको भन्डाभोर पो हुने हो कि भन्ने डर रहिरहन्छ ।

राज्य र जनताको सफल अभिभावक बन्न सक्ने असल उम्मेदवारको अभाव भएमा बरु मतदान नै नगरौं । बाध्यता भयो भन्दै गलत उम्मेदवारलाई अभिभावक नबनाऔं

असल नागरिकहरुलाई मतदानबाट टाढिन, वञ्चित हुन बाध्य बनाए पछि को बच्यो त ? उनै पार्टीका कार्यकर्ताहरु, पार्टीका समर्थकहरु, जसका कारणले बहुमतको गणित देखाउँदै चुनाव जित्न सजिलो हुने नै भयो ।

एउटा चुनाव लड्न कम्तिमा २५ लाख रुपैयाँ चाहिन्छ । तामझाम बढी राखेर प्रचारप्रसार गर्ने हो भने त यो खर्च करोडौंमा पुग्छ । लाखौं, करोडौं रुपैयाँ चुनावमा सकेपछि त्यो रकमको क्षतिपूर्ति विजयी भए उप्रान्त राज्यको ढुकुटीबाटै मिलाइन्छ । पार्टीले पार्टी सदस्यलाई उम्मेदवार बन्न टिकेट दिनुपर्ने हुन्छ ।

टिकट दिए बापत हारे पनि पार्टीले तोकेको न्यूनतम रकम त दिनै पर्ने हुन्छ, जितेको अवस्थामा पार्टीले संगठन विस्तारका लागि महिनै पिच्छे विजयी उम्मेदवारबाट रकम असुली गर्दछ । पार्टीलाई रकम बुझाउन सजिलो होस् भन्नका लागि सरकारी पदमा रहेर सरकारी ढुकुटीकै रकम हिनामिना गरिन्छ । चुनावका बेला केही तत्वहरुले चुनाव प्रचार प्रसारमा लाग्ने करोडौं रुपैयाँको खर्च सहयोग गरेका हुन्छन् पार्टीलाई ।

ती तत्वहरु प्रायः गैरकानुनी धन्धा, अपराधिक क्रियाकलापमा आबद्ध हुन्छन् । चुनावताका लाएको गुण चुकाउन उनीहरुलाई राज्यको ऐन कानुन बमोजिम दण्ड सजाय दिनुको सट्टा सरकारबाट उल्टै संरक्षण दिइन्छ । आम माफी घोषणा गरिन्छ । तर, सामान्य नागरिकले त्यही प्रकारको अपराधिक वा गैर कानुनी क्रियाकलाप गरेमा उनीहरुलाई ऐन कानुनका किताब, नियामावलीको धारा, उपधारा, दफा, उपदफाको हवाला दिदै कडाभन्दा कडा सजाय दिइन्छ । थुनामै मान्छे मारिन्छ । न्यायका लागि अनशन बसेका अनशन बस्दाबस्दै प्राण त्याग्छन् । सरकारलाई त केही फरक पर्दैन । किन कि न्यायको लागि अनशन बस्ने र अनशनमै मर्ने नेपाली नागरिक सरकारको पार्टीलाई मतदान गर्ने मतदाता होइनन् ।

सरकारसँग त करोडौं, अर्बौंको खर्च जुटाइदिएर मतदात किन्ने ठुलो पावर हाउस नै छ, उसलाई अर्काे चुनाव हारिन्छ कि भन्ने पीर चिन्ता नै छैन । आजसम्म अनैतिक काम तथा धाँधली गरेरै ठुलाबडा भइयो, चुनाव पनि पैसा फालेरै जितियो, अब पनि जितिन्छ भन्नेमा सत्ताधारी ढुक्क छ । राजनीतिक पृष्ठभूमि बोकेका वा राजनीतिक नेतृत्वको पहुँचभित्र रहेका हत्यारा र बलात्कारीहरु खुलेआम घुम्छन् । बलात्कृत हुने र हत्या भएकाहरुले न्याय नै पाउँदैनन् । प्रहरी मूकदर्शक बन्छ । अपराध अनुसन्धानलाई कमजोर बनाइन्छ । नागरिकलाई सानो जात र ठुलो जातमा विभाजित बनाएर परस्पर लडाइन्छ । उद्योग, कलकारखाना खोलेर, श्रम सिप गरेर आय आर्जनमा व्यस्त हुने महत्वपूर्ण समय जातिविभेदकै नाममा लड्दै खेर फाल्न बाध्य बनाइन्छ । न्यायालय र न्यायाधिशलाई अनुकूल फैसला होस् भन्दै इसारामा नचाइन्छ ।

यस्तै यस्तै अनगन्ति भाँडभैलोका कार्यहरु भइ राख्दा, देश नै दुर्घटनातर्फ ओरालो लागिसक्दा, जनता भोकभोकै मर्दा, वास्तविक श्रमिक वर्गहरुको अवस्था अझै विग्रँदा, आँखा अगाडि न्याय मर्दा राज्यको अभिभावक पदमा बस्नेहरु जहिले सत्ताको कुर्सी तानातान र सरकारी मन्त्रालय तथा विभागहरुको भागबण्डामै व्यस्त देखिन्छन् ।

हिजोका दिनमा सामन्ती विरोधी नारा लाउनेहरु आज आफै सामन्ती व्यवहार गरिरहेका छन् । गरिब, दुःखी, विपन्न जनताको सामाजिक, आर्थिक, शैक्षिक अवस्थालाई सपार्न नीति, कार्ययोजना र विकासका कार्यक्रम ल्याउन कहाँ छ कहाँ ? सधैं निर्माण कार्यको बहानामा भ्रष्टाचार र घूसखोरीमै रमाउँछन् ।

हरिकृष्ण अधिकारीको एउटा लेखमा पढेको थिएँ ‘जस्तो जनता त्यस्तै सरकार’ भोक लाग्दा खान पर्छ, तिर्खा लाग्दा पानी पिउनु पर्छ भन्दैमा सडेगलेको गन्हाउने खाना कसैले खांदैन, जहर मिसिएको प्रदूषित पानी कसैले पिउँदैन । कस्तो खाना, कस्तो पानी स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने कुरा थाहा पाउनका लागि मास्टर्स डिग्रि, पिएचडी गरेर ठुलो शिक्षित बन्नै पर्छ भन्ने छैन ।

त्यसैगरी राज्यले कस्तो व्यक्तिलाई अभिभावकको रुपमा पाउनुपर्छ, कस्तो व्यक्तिले अभिभावकको भूमिकामा रहेर देश र नेपालीको भविष्य उज्जवल बनाउन सक्छ भन्नको लागि नागरिकले मास्टर्स डिग्री, पिएचडी गर्नैपर्ने छैन । केवल दूरदर्शी बनिदिए पुग्छ । देश र सर्वसाधारण नेपालीको भविष्य संरक्षण र आफूले देखेको समृद्धिको सपनाको ख्याल राख्दै, उम्मेदवारले आजसम्म गरेका सबै कामकुराहरुको मूल्याङ्कन गर्दै निष्पक्ष ढंगले निर्भिक भएर मतदान गरे मात्र पुग्छ । देश र नागरिकको कल्याण चिताएर इमानदारीपूर्वक कर्तव्य पूरा गर्नसक्ने उम्मेदवारलाई नै मतदान गर्छु भनेर जनताले संकल्प गरे पुग्छ ।

यही जीवनकालमा देश र जनताको हितमा अभिभावकत्व ग्रहण गर्ने सरकार देख्ने चाहना हरेक नेपालीको सपना हो । निदाएको अवस्थामा होइन, आँखा खोलेरै देखेको आफ्नो सपनाप्रति गम्भिर बनौं ।

राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोज लगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ । खर्च रकम वर्गीकरण र व्याख्या अनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कार लगायतमा खर्च बेहोर्ने व्यवस्था छ । तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ ।

पछिल्लो समय यस्ता समाचार देख्न र पढ्न पाइएको छ । जनताका लागि केके गर्यो त राज्यले ? गरिब जनताले रगत र पसिना बगाएर जुटाएको रकमबाट कर असुली राज्य मोजमस्तीमा रमाएको छ । जनताको दुःख र सकसको कुनै पर्वाह गरेको एकरत्ति पनि भेटिँदैन । असल अभिभावक नपाउनु नेपाली नागरिकको बिडम्बना बनेको छ ।

नेपाली जनता बिरामी हुँदा नि:शुल्क उपचार गर्ने, जनता भोकै हुँदा खाना खुवाउने, जनता पीडामा हुँदा त्यो पीडालाई राहत दिने , महामारी हुँदा जनताको उद्वार गर्ने, दैवी प्रकोपमा जनताको आवश्यकता पूरा गर्ने र जनतलाई गाँस, बास, कपासको ग्यारेन्टी गर्न सक्ने अभिभावकबाट अभिभावकत्व ग्रहण गर्ने पर्खाइमा नेपाली जनता रहेका छन् ।

नागरिककै रोजाइ, नागरिककै आवश्यकता, नागरिककै निर्णय, नागरिककै मतदानबाट नागरिककै सुरक्षित भविष्य निर्माणका लागि राज्यले अब यस्तो असल अभिभावक पाओस् जसको उदाहरण आउने सय पुस्ताले दिन सकोस् । राज्य र जनताको सफल अभिभावक बन्न सक्ने असल उम्मेदवारको अभाव भएमा बरु मतदान नै नगरौं । बाध्यता भयो भन्दै गलत उम्मेदवारलाई अभिभावक नबनाऔं ।

–बुटवल १३ रुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment