Comments Add Comment

फुटबलर राजेश परियारले भारतीय दोस्रो डिभिजनको आई लिग खेल्ने

३१ भदौ, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलतर्फ स्वर्ण जितेका राजेश परियारले भारतीय दोस्रो श्रेणीको फुटबल आई लिग खेल्ने भएका छन् ।

राजेशलाई दोस्रो डिभिजनको आई लिग क्लब अरा एफसी (अहेमवाद राकुएटा केडेमी फुटबल क्लब)ले अनुबन्ध गरेको हो ।

लिग अन्तर्गत सिजनको बाँकी खेलका लागि क्लबले अनुबन्ध गरेको राजेशले अनलाइनखबरलाई बताए । अनुबन्ध रकम भने खुलाउन नमिल्ने उनले बताएका छन् । ‘भारतीय क्लबमा अनुबन्ध हुन पाउँदा एकदमै खुसी छु । म क्लबलाई माथि पुर्‍याउन सक्दो सहयोग गर्ने प्रयास गर्नेछु,’ राजेशले भने ।

राजेशलाई अनुबन्ध गरेको टिम अरा एफसी लिगअन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा छ । कोरोना महामारीका कारण भारतमा दोस्रो डिभिजनको लिग स्थगित भएको थियो ।

राजेशले विभिन्न उमेर समूहको राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन् । गत मंसिरमा नेपालमै भएको सागमा यू-२३ पुरुष फुटबल टिमले स्वर्ण जित्दा राजेश त्यसको सदस्य थिए । घरेलु लिगमा राजेशले न्यूरोड टिम एनआरटीबाट खेल्दै आएका छन् ।

राजेश सेप्टेम्बर १७ मा भारत जाँदैछन् । भारत पुगेपछि आधिकारिक रुपमा सम्झौता हुने राजेशले बताएका छन् ।

नेपालकै अर्का खेलाडी अभिषेक रिजाल पनि दोस्रो डिभिजनकै मोहम्मेदन स्पोर्टिङ क्लबमा अनुबन्ध भइसकेका छन् । राजेशसँगै सागमा स्वर्ण जितेका अभिषेकले राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment