+
+
Shares

तयार नहुँदै कोरोना महामारीको मारमा परेको होटल बनवास

सुवास पण्डित सुवास पण्डित
२०७७ भदौ ३१ गते १३:१३

३१ भदौ, चितवन । चितवनको पर्यटकीय नगरी सौराहा नजिक बन्दै गरेको काठैकाठको होटल बनवास कोरोना भाइरसको महामारी नभएको भए यतिबेला सञ्चालनमा आइसकेको हुन्थ्यो ।

तल लकडाउनका कारण २०७६ चैतदेखि होट निर्माणमा ब्रेक नै लाग्यो । काम नसकिँदा एकातिर लागत बढेको छ भने, अर्कोतिर सञ्चालन कहिले गर्ने भन्ने अन्यौल खडा भएको होटल सञ्चालक बासु ढुंगानाले बताए ।

होटलको झण्डै ९५ प्रतिशत काम सकिएको छ । अहिले पनि केही मजदुरले फर्निचर र आन्तरिक सजावटको काम गरिरहेका छन् । अवस्था सहज भएमा अबको दुई तीन महिनामा होटल सञ्चालनमा ल्याउने सकिने आशा सञ्चालकहरुमा छ ।

तीन जनाको २५ करोड रुपैयाँको लगानीमा बन्दै गरेको होटल सौराहाको मूलबजार क्षेत्रबाट तीन किलोमिटर पश्चिममा छ । जंगल नै जंगलले घेरिएको होटलमा काठैकाठ प्रयोग गरिएको छ । नेपालको प्राचीन कला संस्कृति झल्काउने गरी काठमा आर्कषक कला कुँदिएको छ । चार बर्ष विभिन्न काठका काम गर्ने कालिगढहरुलाई राखेर निकै मेहनत गरिएको सञ्चालक ढुंगानाले बताए ।

‘क्रंकिटको जंगलमा बस्दा बस्दा मानिसहरू वाक्क दिक्क छन्, बाहिर घुम्न जाँदा बस्ने होटल पनि त्यस्तै हुँदा पर्यटकले फरकपनको अनुभूति गर्न सक्दैनन्, त्यसैले हरियाली जंगलसहित परम्परागत बसाइको अनुभूति दिलाउने संरचना तयार गरेका हौंं’ सञ्चालक ढुंगानाले भने, ‘सौराहा आउने पर्यटकहरुका लागि यो होटल नयाँ र पृथक लाग्ने छ, त्यसैले नाम पनि बनवास राखेका हौं ।’

झण्डै तीन विघा जग्गा, १० बर्षअघि लिएर विभिन्न प्रजातिका रूख विरुवा र पोखरी जस्ता संरचना बनाई पाँच बर्षअघिदेखि होटल बनाउन थालिएको थियो । ‘हामीले चराचुरुङ्गीलाई आकर्षित गर्ने जातका रुखविरुवा रोप्यौं, त्यसको फल खान चराहरु आउँछन्, पोखरीमा माछा हालेका छौं, माछा खान चराहरु आउँछन्’ सञ्चालक ढुंगानाले भने, ‘रूख बिरुवाहरू ठूलो भएपछि मात्रै योजना अनुसार होटल निर्माण थालेका हौं ।’

होटल परिसरमा ५० भन्दा बढी प्रजातिका रुख रोपिएका छन् । ‘हामीले पोखरीमा चरालाई मन पर्ने माछामात्रै हाल्छौं, कहिल्यै मार्दैनौं, पानी चराहरु आएर खाउन भनेर छाडेका हौं’ उनले भने ‘पर्यटक चराले माछा खाएको हेरेर रमाउन सकुन् ।’

होटलमा २४ वटा भिल्लामा ३४ वटा कोठा छन् । सबैमा परम्परागत काठ र माटोको प्रयोग गरिएको छ । होटलमा १० वटा कोठा अपांगमैत्री छन् । ‘होटल हाम्रो लागि पनि बनेको रहेछ भन्ने डिसेवलहरुले बुझुन् भन्ने हो’ सञ्चालक ढुंगानाले भने, ‘कन्फ्रेन्स हल र रेष्टुरेन्टमा उनीहरूलाई सजिलै जानसक्ने र्‍याम बनाएका छौं ।’

अहिलेको अवस्थामा होटल बनिसके पनि तत्कालै पर्यटक आउलान् र होटल चल्छ भन्नेमा सञ्चालक ढुंगाना त्यति आशावादी छैनन् । उनी भन्छन्, ‘मानिसहरुको क्रयशक्ति नै छैन, पैसा छैन, सरकारले केही योजना बनाएर पर्यटन क्षेत्रलाई माथि उठाउन प्रोत्साहन ग¥यो भने केही होला अन्यथा गाह्रो देख्छु ।’

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?