+
+

हरि खड्का भन्छन्– गाह्रो रैछ हौ नाच्न !

‘डान्सिङ विथ द स्टार्समा प्रशान्त र म कमजोर’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते २०:१६

१ असोज, काठमाडौं । नेपालका कीर्तिमानधारी फुटबलर हुन् हरि खड्का । पहिले स्ट्राइकरका रुपमा र अहिले प्रशिक्षकका रुपमा निरन्तर नेपाली फुटबलको सेवा गरिरहेका छन् उनले । यी लिजेन्डलाई अबका केही दिन दर्शकले टेलिभिजनमा बिलकुलै अलग अवतारमा देख्न पाउने भएका छन् ।

हिमालय टेलिभिजनमा २ असोजबाट प्रशारण हुन लागेको फ्रेन्चाइज रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स अफ नेपाल’ का उनी एक प्रतियोगी हुन् । मैदानमा फुटबल खेल्दा धेरैपटक खुट्टा मर्काएका उनी अब रियालिटी शोमा कम्मर मर्काउन तयार भएका छन् । एक महिनादेखि शोको रिहर्सल चलिरहेको छ ।

हरिका लागि नृत्य एकदमै नयाँ विधा हो । उनको नृत्य अहिलेसम्म बिहेका पार्टीमा बेढङ्गले हल्लिनेमै सीमित थियो । नृत्य नसिकेको मात्र होइन, सिक्ने चेष्टा पनि गरेनन् उनले । त्यसैले एक्कासी डान्सिङ विथ स्टार्समा सहभागी हुने अफर आउँदा उनी आश्चर्यमा परे ।

उनी सुनाउँछन्, ‘म नाच्नै नजान्ने मान्छे कसरी यस्तो प्रतियोगितामा भाग लिने भन्ने लाग्यो । त्यसमाथि राष्ट्रिय महिला फुटबल लिगको सेड्यूल पनि आइसकेको थियो । त्यसेले सुरुमा अस्वीकार गरेको थिएँ ।’

तर, लकडाउनका कारण महिला फुटबल लिग रोकियो । त्यसपछि डान्सिङ विथ स्टार्सले फेरि उनलाई एप्रोच गर्यो । विभिन्न विधा र क्षेत्रका व्यक्तिहरु समेटेर आयोजना गरिने प्रतियोगितामा खेलकुद विधाबाट उनलाई नै पहिलो प्राथमिकतामा राखेको आयोजकले बताए । अन्ततः उनी कन्भिन्स्ड भए ।

‘कहिलेकाहीँ नयाँ काममा हात हाल्दा छुट्टै अनुभव र एक्साइटमेन्ट हुन्छ । त्यसमाथि नेपालमा पहिलोचोटि आउन लागेको रियालिटी शोमा समग्र खेल क्षेत्रकै प्रतिनिधित्व गरिदिन आग्रह गर्नुभएपछि मैले नाई भन्न सकिनँ,’ खड्काले भने ।

लकडाउनपछि खेलकुद गतिविधि ठप्प बने । फुटबलमा पनि शून्यता छायो । नेपालको महिला राष्ट्रिय टिमका प्रशिक्षक खड्का फुर्सदिला भए । त्यसैले उनलाई यो रियालिटी शोका निम्ति समय निकाल्न गाह्रो थिएन । तर, उनले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अनिमति लिनुपर्ने हुन्थ्यो ।

खड्काले रियालिटी शोमा नाच्ने कुरा गर्दा एन्फाका पदाधिकारीले पनि रमाइलो माने । तत्काल फुटबलमा कुनै जिम्मेवारी नभएकाले उनीहरुले अनुमति दिन आनाकानी गरेनन् । एन्फाको अनुमति पाएपछि डान्सिङ विथ स्टार्समा उनको सहभागिताको निधो भयो ।

खड्काले यो प्रतियोगितालाई चुनौतिको रुपमा लिएका छन् । प्रतियोगितामा सहभागी १२ जनामध्ये उनी उमेरले अरुभन्दा जेठा छन् । अरु प्रतियोगी कुनै न कुनैरुपमा ग्ल्यामर फिल्डबाट आएकाले नृत्य उनीहरुका लागि बिरानो वस्तु होइन । खड्काको चाहिँ नृत्यसित टाढाको साइनो पनि थिएन ।

करिब एक महिना अगाडिदेखि नृत्य अभ्यास सुरु भयो, भ्वाइस अफ नेपालको स्टुडियोमा । सुरुका केही दिन आफू निकै नर्भस बनेको बनाउँछन् खड्का ।

‘अरुले नाचेको हेर्दा जति सजिलो लाग्छ, आफूले नाच्न गाह्रो रहेछ,’ उनले अनुभव सुनाए, ‘स्टेप जान्नुपर्ने, टाइमिङ मिलाउनुपर्ने, गीतअनुसार एक्सप्रेसन दिनुपर्ने, लिपसिंक मिलाउनुपर्ने, डान्स पार्टनरसँग ट्यूनिङ मिलाउनुपर्ने जस्ता दुनिया चिज हुँदा रहेछन् । सुरुमा मलाई निकै गाह्रो भयो ।’

खास गरी एक्सप्रेसन दिने कुरामा आफू कमजोर रहेको उनी बताउँछन् । तर, विस्तारै सुधार गरिरहेका छन् । कोरियोग्राफरले आफूलाई निकै सरल तरिकाले सिकाइरहेको र पहिलेभन्दा अहिले धेरै सहज लाग्न थालेको खड्काले बताए ।

डान्सिङ विथ स्टार्सका प्रत्येक प्रतियोगीहरुका आ–आफ्ना कोरियोग्राफर हुन्छन् । खड्काले पाएकी कोरियोग्राफर हुन् युमी बलामी । एउटा फुटबल लिजेन्डलाई डान्स सिकाउँदाको उनको अनुभव चैं कस्तो छ त ?

युमी भन्छिन्, ‘सुरु–सुरुमा गाह्रो भएको थियो । उहाँलाई डान्सबारे केही पनि थाहा थिएन । आधारभूत कुराहरुबाट सुरु गरियो । अहिले बिस्तारै पिकअप लिइरहनुभएको छ । मैले मिक्स्ड टाइपका गीतहरुमा उहाँलाई अभ्यास गराइरहेकी छु ।’

युमीका अनुसार पनि खड्का एक्सप्रेसनमा अलि कमजोर छन् । फुर्तिलो शरीर, हत्पति नथाक्ने र सिकाएको कुरा चाँडै टिप्ने सकारात्मक पक्ष रहेको पनि उनले बताइन् ।

‘तर, जति चाँडो सिक्नुहुन्छ, त्यति चाँडो बिर्सिनु पनि हुन्छ,’ उनले हाँस्दै भनिन् ।

आफूले डान्स सिकाउने क्रममा खड्कालाई एकदमै सरल र मिहिनेति व्यक्तिका रुपमा पाएको युमी बताउँछिन् ।

‘कहिले पनि अल्छि गर्नुहुन्न, रिसाउने र झर्को मान्ने स्वभाव पनि छैन,’ उनले भनिन्, ‘गीत पनि प्राय घरबाटै कण्ठ गरेर आउनुहुन्छ ।’

तर, पनि अरु कोरियोग्राफरको भन्दा चुनौतिपूर्ण जिम्मेवारी चाहिँ आफूलाई नै परेको उनले ठानेकी छन् ।

‘अरु कन्टेस्टेन्टहरु कुनै न कुनै रुपमा डान्ससँग पहिल्यैदेखि जोडिनुभएको छ, मेरो चाहिँ एकदमै फ्रेस हुनुहुन्छ,’ उनले भनिन् ।

उहाँलाई सिकाएर उपाधि जिताउन सक्नुहुन्छ त ? भन्ने अनलाइनखबरको प्रश्नमा युमीले चतुर जवाफ दिँदै भनिन्, ‘त्यो त दर्शकहरुको हातमा हुन्छ, मैले कसरी भन्ने र । म सक्दो प्रयास त गर्ने नै छु ।’

यही प्रश्न हरि खड्कालाई पनि सोधियो ।

‘के तपाईंले प्रतियोगिताको उपाधि नै जित्ने लक्ष्य राख्नुभएको छ ?’

उनले कूटनीतिक जवाफ दिए, ‘त्यो टाढाको कुरा हो, अहिले सोचेको छैन । म त खासमा उपाधिका लागिभन्दा पनि सिक्नका लागि आएको हुँ ।’

प्रतियोगितामा आफू र प्रशान्त ताम्राकार अरुभन्दा कमजोर भएको उनी बताउँछन् ।

‘प्रशान्तजी फिल्मबाट आएको भए पनि सँधै खलनायकको भूमिकामा अभिनय गरेकाले डान्सको अनुभव छैन । मेरो त कुरै गर्नु परेन । हामी दुईजना उमेरमा पनि अरुभन्दा पाका छौं । अरु त सबै नाच्नमा एकसे एक छन्,’ खड्काले भने ।

डान्सिङ विथ स्टार्सका प्रतियोगीहरुमध्ये प्रशान्तबाहेक अरुसँग खड्काको दोहोरो चिनजान थिएन । यद्यपि, टेलिभिजन, यूट्यूव र टिकटकमा उनीहरुलाई देखिरहेको हुनाले अपरिचित झैं नलागेको उनले बताए । टिकटकबाट चर्चामा आएका जुम्ल्याहा दिदीबहिनी दिपा र दमयन्तासँग उनी निकै झुक्किँदा रहेछन् ।

‘उहाँहरु दुवैको अनुहार डिट्टो एउटै छ,’ उनले भने, ‘पहिले त छुट्याउनै सक्दिनँथे । अहिले निकै निकालेर हेरेपछि चिन्छु । उहाँहरुमध्ये एकजनाको अनुहारमा सानो कोठी छ ।’

सबै प्रतियोगीहरुले आफूलाई सम्मानपूर्ण व्यवहार गरेको र आफूले पनि सबैलाई माया गर्ने उनले बताए ।

‘सबै जनाको डान्स हेर्दा कसले जित्ला भनेर अहिले अनुमान लगाउन सक्दिनँ,’ उनले भने ।

हरि र प्रशान्तसँगै डान्सिङ विथ स्टार्सको पहिलो सिजनमा दृष्टिविहीन अभियन्ता सृष्टि केसी, ‘सक्किगोनी’कि अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ, लोकगायिका ज्योती मगर, नायिका सुमि मोक्तान, हास्यकलाकार उमेश राई (फुलन्देकी आमा), पहिलो नेपाल आइडल विजेता बुद्ध लामा, टिकटक स्टार्स दीपा र दमयन्ता, बालकलाकार देभान्सी वैधबार छन् । कार्यक्रमको होस्ट कमेडियन सुमन कार्की र पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ गर्दैछन् ।

डान्सिङ विथ स्टार्सको ग्रान्ड प्रिमियर हिमालय टेलिभिजनमा शुक्रबार साँझ हुँदैछ । यो कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार बेलुकी आठ बजे प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?