Comments Add Comment

बामदेवको व्यवस्थापन : ६ वर्ष राष्ट्रियसभामै थन्किएलान् ?

विश्लेषक भन्छन्– बामदेवको महात्वाकांक्षामा विराम लाग्नेछैन

१ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले विहीबार राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन् । गौतमको सपथ ग्रहणसँगै एउटा प्रश्न भने अझै थाती छ, के अब नेकपाभित्र गौतमको व्यवस्थापन तत्काललाई टरेको हो ? वा अझै बाँकी छ ?

कतै न कतै शक्तिमा रहिरहन रुचाउने नेता हुन् गौतम । राष्ट्रिय सभामा जाँदैमा बामदेवको महात्वाकांक्षामा विराम नलाग्ने विश्लेषण गर्छन् संयुक्त पाटन क्याम्पसका राजनीति शास्त्रका उपप्राध्यापक डा.विष्णु दाहाल ।

डा. दाहाल भन्छन्, ‘बामदेवको महत्वाकांक्षा प्रधानमन्त्री बन्ने हो । त्यसका लागि प्रतिनिधिसभामा आउन खोजे, सकेनन् । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गराउन खोजे, त्यो पनि भएन । त्यसकारण अब आफ्नो महत्वकांक्षा पूरा गर्न उनले नयाँ कदम चाल्नेछन् ।’

त्यसो त सबैलाई थाहा भएकै कुरो हो कि प्रधानमन्त्री बन्ने बाटो नखुलेपछि नेता गौतमले आफूलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनाउनुपर्ने दाबी गरेको धेरै समय भएको छ ।

डा. दाहालले भनेजस्तै, गौतमले आफूलाई प्रधानमन्त्री बनाउनका लागि ०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएलगत्तै प्रतिनिधिसभामा छिर्ने ढोका खोज्न सुरु गरेका थिए ।

उनले सुरुमा तत्कालीन एमालेबाट ललितपुरबाट चुनाव जितेका सांसद नवराज सिलवालको ठाउँबाट आफूलाई संसदमा छिराउने प्रयत्न गरे । त्यस्तै बर्दिया २ बाट निर्वाचित सांसद सन्तकुमार चौधरी, पूर्वी रूकुमबाट निर्वाचित कमला रोक्का, नवलपुर–२ बाट निर्वाचित तिलक महत, बाँके–३ का नन्दलाल रोकाया, कञ्चनपुर–३ बाट जितेका दीपकप्रकाश भट्ट लगायतलाई पनि गौतमले फकाएकतै सांसदले मानेनन, कतै जनविरोधले रोक्यो ।

अन्तिममा काठमाडौँ–७ बाट चुनाव लड्न खोजे । सांसद रामवीर मानन्धरलाई मनाउन पनि सफल भए । मानन्धरले पत्रकार सम्मेलन गरेर गौतमका लागि छाड्न तयार भएको बताए । तर, यहाँ पनि जनविरोधका कारण सफल हुन सकेनन् । पोखरामा पनि स्व. रविन्द्र अधिकारीको ठाउँमा चुनाव लड्ने चर्चा थियो, तर, गौतम पछि हटे ।

तथापि गौतमको संसद छिर्ने महत्वाकांक्षा त्यतिमै रोकिएन । आफूलाई सांसद बनाउने वा प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाउने सर्तमा पार्टीको आन्तरिक विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको वीचमा रहेर आफ्नो प्रयासलाई जारी राखे । अन्ततः उनी पार्टीबाट निर्णय गराएर सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुँदै राष्ट्रिय सभा सदस्य बन्न सफल भएका छन् ।

पार्टीले बाध्य भएर गौतमलाई सांसद बनाएको उपप्राध्यापाक डा.दाहालको विश्लेषण छ ।

‘नेकपामा बामदेव समुन्द्र मन्थनको विष घाँटीमा राखेजस्तै हो । नीले आफैँलाई खान्छ, ओकले जगतै स्वाहा’ डा. दाहालको टिप्पणी छ ।

अब बामदेवले पार्टीको आन्तरिक शक्तिसंघर्षमा अझ भूमिका बढाएर लैजाने उनको विश्लेषण छ । ‘अब उनले महत्वपूर्ण मन्त्रालय खोज्छन् । सरकारमा गएर ओली र बामदेव मिले भने अर्को पक्षलाई थप अप्ठ्यारो पर्छ’ दाहल भन्छन् ‘गौतममार्फत ओलीलाई साइजमा राख्ने प्रयत्न अर्को पक्षले गर्छ । यस्तोमा गौतमले आफ्नो भूमिका अझ बढेको देखेर महसुस गर्नेछन् र महत्वाकांक्षा पूरा गर्ने वातावरण बनाउन खोज्नेछन् ।’

नेकपाका सांसद रामनारायण बिडारी पनि सांसद बन्दैमा बामदेवको सेटल भयो भन्ने अर्थमा लिन नहुने बताउँछन् । ‘एउटा मान्छे ज्युँदो रहेसम्म उसको महत्वकांक्षा पूर्ण भयो भन्ने हुँदैन । मान्छेको इच्छा आकांक्षा बढ्दै जाने विषय हो’ बिडारी भन्छन्, ‘उदाहरणका लागि अहिले मलाई मन्त्री बन्न इच्छा छ, मन्त्री भएपछि अझ राम्रो मन्त्रालय चाहियो । उपप्रधानमन्त्री हुन पर्यो, प्रधानमन्त्री बन्न पर्यो भन्ने हुन्छ ।’

यो पनि पढ्नुहोस अब तपाईं पनि माननीय !

बामदेव उपप्रधानमन्त्री बन्छन् कि बन्दैनन ?

राष्ट्रिय सभा सदस्य भएका गौतमको अब उपप्रधानमन्त्री बन्ने ईच्छा छ । तर, उनी उपप्रधानमन्त्री बन्न संविधानले रोक्छ कि रोक्दैन भन्ने विषय पनि बहसमा छ ।

प्रतिनिधिसभाको निर्वाचन हारेको व्यक्ति त्यस प्रतिनिधिसभाको कार्यकालभरि मन्त्री बन्न नपाउने प्रावधान संविधानमा छ । तर, यो व्यवस्था सांसद नभइकन मन्त्री बन्नसँग मात्रै सम्बन्धित रहेको तर्क गरिन्छ ।

संविधानको धारा ७८ अनुसार सांसद नभएको व्यक्ति पनि मन्त्री बन्न सक्छन् । तर, ६ महिनाभित्र संघीय संसद सदस्य प्राप्त गर्नुपर्ने हुन्छ । यही व्यवस्था अनुसार डा.युवराज खतिवडा अर्थमन्त्री भएका थिए ।

‘संविधानले गौतमलाई मन्त्री बन्न रोक्दैन । नैतिक कुरा उहाँलाई नै सोध्नुहोला’ अधिवक्ता समेत रहेका नेकपाका सांसद बिडारीले अनलाइनखबरसँग भने ।

तर, संविधानको धारा ७८(१) अनुसार प्रतिनिधिसभामा पराजित भएको व्यक्ति उक्त कार्यकालभर मन्त्री पदमा नियुक्तिको लागि योग्य हुने छैन । बामदेव गौतम धारा ७८ (१) बमोजिम नभएर संविधानको धारा ७६ (९) बमोजिम मन्त्री पदमा नियुक्त हुन सक्ने बिडारीको तर्क छ ।

धारा ७६ (९) मा सांसद मन्त्री हुने व्यवस्था छ । राष्ट्रिय सभा सदस्य उपप्रधानमन्त्रीसम्म बन्न सक्छन् । प्रधानमन्त्री बन्न प्रतिनिधि सभा सदस्य नै हुनुपर्छ । त्यसकारण बामदेव उपप्रधानमन्त्री बन्छन कि बन्दैनन ? भन्ने प्रश्नको उत्तर नेकपासँग, अझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहेको नेकपा सांसद बिडारीको जवाफ छ ।

गौतम तीनपटक उपप्रधान तथा गृहमन्त्री सम्हालिसकेका नेता हुन् । तर, आफू सरकारमा रहेको अवधिमा सम्झन लायक कुनै पनि काम नगरेको भनेर गौतमको आलोचना हुने गरेको छ ।

यद्यपि विहीबार राष्ट्रियसभा सदस्यको सपथ लिएपछि गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् ।

राष्ट्रियसभाको गरिमा बढाउन संविधान र नियमावली बमोजिम काम गर्ने बताउँदै उनले भनेका छन्, ‘यो सभाको सदस्य रहँदासम्म राष्ट्रियसभाको गरिमा र प्रतिष्ठालाई गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन ।’

६ वर्ष राष्ट्रिय सभामै रहलान् ?

गौतम राष्ट्रिय सभामा गएसँगै ६ वर्ष चुपो लागेर राष्ट्रिय सभामै बस्छन् कि आगामी प्रतिनिधि सभा सदस्यको चुनाव लड्न जालान भन्ने पनि धेरैलाई चासोको विषय बनेको छ ।

‘६ वर्ष चुप लागेर बसे नेकपालाई बामदेवको सेटल भएको मानिनेछ । तर, उनको त्यो प्रवृत्ति होइन’ राजनीतिकशास्त्रका उपप्रध्यापक डा. दाहालको विश्लेषण छ, ‘उनी प्रतिनिधि सभा चुनाव लड्न जाने मेरो बुझाइ छ ।’

डा. दाहालको विश्लेषण अनुसार बामदेव प्रतिनिधि सभा सदस्यमा लड्न गए भने फेरि पराजित गराउने खेल हुने खतरा प्रवल रहनेछ ।

डा.दाहाल भन्छन्, ‘पराजित भएर डेढ वर्ष बाहिर रहन नसक्नेलाई फेरि लडाइदिउँ टन्टै साफ भन्ने नेकपामै हुन सक्छ ।’

कतिपयले बामदेव अर्को चुनावमा के गर्छन् र त्यसबाट आउने परिणामले उनको आगामी राजनीतिक भविष्य तय गर्ने तर्क गर्ने गरेका छन् ।

नेकपामा चुनाव हारेको व्यक्ति सांसद बन्न लालायित हुने बामदेव एक्लापात्र भने होइनन् । ०६४ सालको संविधानसभा सदस्यमा पराजित माधव नेपाल सुशीलचन्द्र अमात्यलाई फिर्ता बोलाएर सांसद बने । ०६६ सालमा प्रधानमन्त्री नै बनेर देश चलाएको इतिहास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment