Comments Add Comment

गौर अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालन

२ असोज, असोज । रौतहटको गौर अस्पतालमा शुक्रबार पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । प्रदेश २ सरकारको सहयोगमा कोरोना भाइरस (कोभिड १९) को परीक्षणका लागि पीसीआर ल्याब स्थापना गरिएको हो ।

प्रदेश २ सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले शुक्रबार एक कार्यक्रमका बीच पीसीआर परीक्षण ल्याबको उदघाटन गरेका छन् । ल्याबले ६ घण्टा भित्रमा ७२ वटा स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेको अस्पतालले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त निर्णयले जिल्लाका स्थानीय तहहरुले सो ल्याब र आइसोलेसन निर्माणका लागि पाँच लाख रुपैयाँका दरले सहयोग गरेका थिए । ल्याब सञ्चालनमा आएपछि स्वाबको नतिजा चाँडै प्राप्त हुने विश्वास लिइएको छ । रिपोर्टको नतिजा चाँडै प्राप्त हुने हुँदा संक्रमितहरुको पहिचान गर्न सहज हुने गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णा साहले बताए ।

पीसीआर ल्याब उदघाटन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश २ कोरानाका कारण नराम्ररी प्रभावित भएको र समुदाय स्तरको संक्रमणले थप चुनौतीको सामना गर्नु परेको बताए ।

प्रदेश २ सरकारले स्वास्थ्य पूर्वाधारको विकास र संक्रमणका बेला जोखिम नियन्त्रणका लागि सक्दो प्रयास जारी राखेको उनले बताए । आठ वटै जिल्लाहरुमा कोभिड नियन्त्रणका लागि पठाइएको रकमको प्रयोग हुन नसकेकोप्रति गुनासो गर्दै मन्त्री साहले स्थानीय तह र प्रशासनले पनि अस्पतालहरुको प्रभावकारीताको लागि लगातार अनुगमन र निगरानी गर्नु पर्ने बताए ।

उदघाटन कार्यक्रममा प्रदेश सरकारका राज्यमन्त्रीद्धय योगेन्द्र यादव र डिम्पल झाका साथै जिल्लाका स्थानीय पालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment