Comments Add Comment

कोरोना बाहना हो, ठेकदारकै बदमासीले मल आएन : कृषिमन्त्री भुसाल

२ असोज, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकदारहरुको बदमासी नै रसायनिक मल अभावको मुख्य कारण भएको बताएका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुको प्रश्नको जवाफ दिंदै मन्त्री भुसालले यस्तो धारणा राखेका हुन् ।

साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए ।

‘कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित हुँदैन,’ मन्त्री भुसालले भने । विगतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरुकै कारण समस्या उत्पन्न भएको उनको भनाइ थियो ।

टेण्डर गरेर मल आयात गर्न दुई तीन महिनाको समय दिँदा ठेकदार सम्झौता गर्न नआएको, सम्झौता गरेपछि एलसी गर्न नआएको तथा एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपरेको मन्त्री भुसालले बताए ।

‘असार र साउनभित्र नै ७० हजार मेटि्रक टन युरिया मल आएर वितरण गर्नुपर्ने थियो, पर्याप्त समय दिएका थियौँ,’ मन्त्री भुसालले भने । साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहँदा ठेकदारले कोरोनाका कारण समस्या भएको भन्नु अनुचित तर्क भएको उनको भनाइ थियो ।

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कारबाही गरेको थियो । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न यसै साता सिफारिस गरेको थियो ।

दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६/०७७ का लागि आहृवान भएको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार २५-२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment