Comments Add Comment

पत्रकार राजिवसँग जोडिएको भन्दै भारतमा एक नेपाली पक्राउ

३ असोज, काठमाडौं । भारतीय सेनाको गोप्य सूचना चिनियाँ जासुसलाई बेचेको आरोपमा पक्राउ परेका व्यक्तिसँग सम्पर्क देखिएको भन्दै एक नेपाली भारतमा पक्राउ परेका छन् ।

दिल्ली पुलिसको स्पेशल सेलले ३० वर्षीय शेर सिंह उर्फ राज बोहोरालाई पक्राउ गरेको हो । दिल्लीस्थित नेपाली दूतावासले पनि बोहोरा पक्राउ परेको पुष्टि गरेको छ ।

बोहोराको नेपाली ठेगाना स्पष्ट भइनसकेको दिल्ली पुलिसका सहायक पुलिस आयुक्त (एसीपी) अनिलकुमार मित्तलले टेलिफोनमा अनलाइनखबरलाई बताए । उनकाअनुसार चार दिनअघि पक्राउ परेको दिल्लीका स्वतन्त्र पत्रकार राजिव शर्मासँग सम्पर्क देखिएपछि बोहोरालाई पक्राउ गरिएको हो । चिनियाँ महिला ३० वषर्ीया क्विङ सी पनि पक्राउ परेकी थिइन् ।

उनीहरुले गोप्य सूचना दिए वापत राजिवलाई रकम दिने काम गरिरहेको मित्तलको दाबी छ । चिनियाँ नागरिक ज्याङ चाङ र उनकी श्रीमती च्याङ लिलियाले एमजेड फार्मेसी र एमजेड मल चलाइरहेको उनले बताए । सुरज र उषा नाममा उनीहरुले चलाएको कम्पनीबाटै राजिवलाई रकम दिइने गरिएको मित्तालको भनाइ छ ।

ज्याङ चाङ र याङ लिलिया हाल चीनमा रहेको उनले बताए । उनीहरुको अनुपस्थितिमा हाल पक्राउ परेकी चिनियाँ नागरिक क्विङ र नेपाली नागरिक बोहोराले कम्पनी चलाइरहेको मित्तलको दाबी छ । दुवै जनाले फार्मेसीको निर्देशकका रुपमा आफूलाई चिनाउने गरेको दिल्ली पुलिसले बताएको छ ।

स्वतन्त्र पत्रकार राजिवले सीमामा भारतीय सेनाको रणनीतिक र फौज परिचालनसम्बन्धी विषयमा चिनियाँ नागरिकलाई सूचना दिएको दिल्ली पुलिसको आरोप छ ।

दिल्ली पुलिसका डीसीपी सञ्जिवकुमार यादवका अनुसार पक्राउ परेका पत्रकारले एक चिनियाँ मिडियामा सन् २०१० देखि २०१४ को बीचमा साप्ताहिक रुपमा स्तम्भ लेखेका थिए । त्यसलाई हेरेर चीनकी मिचेल नामक महिलाले कुन्मिङ शहरबाट उनीलाई सम्पर्क गरेको पाइएको यादवले बताए । उनी सन् २०१९ मा काठमाडौं हुँदै चीनसम्म पुगेको पनि यादवको भनाइ छ ।

चीनबाट फर्किएपछि सूचना चुहाउन थालेको र एउटा सूचनावापत ५ सय डलर पाउने लिने गरेको डीसीपी यादवको दाबी छ । उनले भने, ‘उनले हालसम्म यो कम्पनीबाट १० पटकमा ३० लाखभन्दा बढी रकम लिइसकेका छन् ।’

बोहोरा भने राजिवसँग सम्पर्क भएको भन्ने आरोपको आधारमा मात्रै पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment