Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

४ असोज, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–४ का ७८ वर्षीय र वडा नम्बर-६ का ८८ वर्षीय दुई वृद्धको मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन) मा उपचारका क्रममा ७८ वर्षीय संक्रमितको मृत्यु शनिबार अपरान्ह ४ बजे भएको कोभिड फोकल पर्सन डाक्टर अरसफ हुसैनले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ३१ गते भर्ना भएका उनी प्यारालाइसिस र लिभरको पुराना रोगी थिए । उच्च रक्तचापको पनि समस्या उनमा थियो ।

‘प्यारालाइसिसका साथै लिभर खराबी जस्ता दीर्घ रोगले उनलाई गलाई सकेको रहेछ,’ डाक्टर हुसैनले भने, ‘पेटमा पानी पनि जमिसकेको रहेछ । कोरोना संक्रमणसँगै उनको किड्नीमा समेत समस्या देखियो । चिकित्सकको टोलीले धेरै प्रयास गर्दा गर्दै पनि उनलाई बचाउन सकेनौं ।’

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज–६ बस्ने ८८ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । आइतबार बिहान १२ः १५ बजे नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको भएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उच्च रक्तचाप, किड्नी, दम र मुटुसम्बन्धी रोगबाट ग्रसित उनमा शनिबार बेलुका ८ बजेतिर कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ । मृत्यु भएका मध्ये पर्साका ४४ जना, बाराका १३ जना, रौतहटका ५ जना र सर्लाहीका १ जना छन् । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment