१४ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन तथा आगामी हिउँदमा विद्युत् माग व्यवस्थापन गर्न काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार १५ देखि २६ असोजसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गत विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेर भूमिगत लाइन सञ्चालन लगायत प्राविधिक काम गरिने छ ।
सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती हुनेछ । प्राधिकरणले मौसम प्रतिकूल भए निर्धारित विद्युत् कटौती नगरिने जनाएको छ ।
प्राधिकरणका अनुसार १५ असोजमा सतुंगल–बौथली क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । १६ मा मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक, १७ मा मुलपानी, १८ मा गुर्जुधारा र २० गते पुन: मुलपानी क्षेत्रमा लाइन काटिने छ ।
त्यस्तै २१ असोजमा बलम्बु, २२ मा कोटेश्वर–बालकुमारी, २४ मा सिफल, २५ मा सतुंगल–धौलागिरि आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरेर आवश्यक काम गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले चरणबद्ध काम अघि बढाइरहेको छ ।
यसअन्तर्गत पहिलो चरणमा काठमाडौंका रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली निर्माणको काम सुरु गरिएको थियो ।
दोस्रो चरणमा काठमाडौंका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर र भक्तपुरका सहरी क्षेत्र तथा चौथो चरणमा पोखरा र भरतपुर महानगरपालिकाका क्षेत्रमा यस्तो प्रणाली निर्माण गर्ने कार्यक्रम छ ।
कार्यक्रम अन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गरिने छ । त्यस्तै अप्टिकल फाइबर समेत भूमिगत रूपमा बिच्छ्याइने प्राधिकरणले जनाएको छ ।
भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै वितरण प्रणाली क्रमश: स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ ।
सहरी क्षेत्रमा विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकका तार अव्यवस्थित रूपमा जथाभावी फैलिँदा देखिने समस्या पनि भूमिगत प्रणालीबाट कम हुने प्राधिकरणको भनाइ छ ।
यसबाट काठमाडौं उपत्यकाको सहरी सौन्दर्य कायम गर्न तथा आधुनिक र व्यवस्थित विद्युत् वितरण प्रणाली निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4