+
+
Shares

कांग्रेस महामन्त्री पदका आकांक्षी नै आकांक्षी

पद थप्नेबारे हुँदैछ छलफल

महामन्त्रीका आकांक्षीमध्येका केहीले सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् भने केहीले आफूनिकटलाई सम्भावित उम्मेदवारीबारे जानकारी गराइसकेका छन् ।

केशव सावद केशव सावद
२०८३ असोज १४ गते २०:२६

१४ असोज, काठमाडौं । कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्रीका लागि आकांक्षा राख्नेको संख्या झण्डै एक दर्जन पुगेको छ ।

१८ असोजदेखि सुरु हुने महाधिवेशनमा वर्तमान तथा पूर्वपदाधिकारीदेखि वर्तमान र पूर्वकेन्द्रीय सदस्यसम्मले महामन्त्री पदमा दाबी प्रस्तुत गरिरहेका छन् ।

जिल्ला–जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको टुंगो लाग्दै गर्दा नेताहरू आन्तरिक तयारीमा जुटेका छन् ।

महामन्त्रीका आकांक्षीमध्येका केहीले सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् भने केहीले आफूनिकटलाई सम्भावित उम्मेदवारीबारे जानकारी गराइसकेका छन् ।

बहालवाला महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले १५ औं महाधिवेशनबाट दोहोरिने चाहना राखेका छन् । महामन्त्री पौडेलले आसन्न महाधिवेशनमा आफूलाई महामन्त्रीकै जिम्मेवारीमा प्रस्तुत गर्ने बताए ।

‘सभापति गगन थापाकै नेतृत्वमा कांग्रेसलाई परिवर्तन गर्न खोजेका हौं,’ उनले अनलाइनखबरसँग भने, ‘उहाँको महामन्त्रीकै जिम्मेवारीमा रहेर आफूलाई प्रस्तुत गर्ने कोसिस हुन्छ ।’

अर्का महामन्त्री घिमिरेले पनि आफूले महामन्त्रीका लागि तयारी गरिरहेको प्रतिक्रिया दिए । ‘अहिलेकै पोजिसन सोचेको छु । यो स्वाभाविक चाहना पनि हो,’ उनले भने, ‘चुनाव भयो भने महामन्त्रीमै उठ्छु । सर्वसम्मत भयो भने सल्लाह गरेर हिँड्छु ।’

पार्टीको आन्तरिक प्रणाली, मूल्यांकन पद्दति, निर्वाचन र निर्णय प्रक्रियामा सुधार ल्याउने, पार्टीप्रति आमनागरिकको विश्वास बढाउने विषयलाई विशेष महाधिवेशनमा नाराका रुपमा अघि बढाइएको स्मरण गर्दै घिमिरेले एक कार्यकाल काम गर्ने आफ्नो चाहना रहेको सुनाए ।

महामन्त्री पौडेल १४ औं महाधिवेशनमा पनि महामन्त्रीका उम्मेदवार थिए । यस्तै अर्का महामन्त्री घिमिरे उक्त महाधिवेशनमा कोशी प्रदेश सभापतिका उम्मेदवार थिए । उनीहरू दुवै जना पराजित भएका थिए ।

कांग्रेस प्रवक्ता देवराज चालिसे, सहमहामन्त्रीहरू उदयशम्शेर राणा, प्रकाश रसाइली ‘स्नेही’, डा. डिला संग्रौलाले पनि महामन्त्रीमा चाहना राखेको उनीनिकट नेताहरू बताउँछन् ।

चारै नेताले अनलाइनखबरसँगको कुराकानीमा आफूलाई महामन्त्रीको आकांक्षीका रुपमा प्रस्तुत गरेका छन् । तर, सभापति थापासँगको सर–सल्लाहअनुसार उम्मेदवारी निश्चित हुनेमा उनीहरू एक स्वर सुनिन्छन् ।

१४ औं महाधिवेशनमा सहमहामन्त्रीमा निर्वाचित नेता जीवन परियारसँगै पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवाको समूह छाडेका नेताहरू नैनसिंह महर, रामहरि खतिवडा, आङ्गेलु शेर्पाले पनि महामन्त्रीमा आकांक्षा राखेका छन् ।

‘दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेको हुँ । सहमहामन्त्री भइसकेँ,’ नेता परियारले भने, ‘यसपालि महामन्त्रीमा प्रतिष्पर्धा गर्ने हो ।’

नेता महरले महामन्त्रीको तयारीका लागि जिल्ला दौडाहा गरिरहेका छन् ।

क्षेत्रीय अधिवेशनका लागि गृहजिल्ला ओखलढुंगामा रहेका नेता खतिवडाले पनि आफू महामन्त्रीको आकांक्षी भएको बताएका छन् । ‘अहिले क्षेत्रीय अधिवेशन चलिरहेको छ । म जिल्लामा छु,’ उनले भने, ‘पदाधिकारीमा मेरो दाबी रहन्छ । महामन्त्रीको आकांक्षी हुँ ।’

कांग्रेसका कार्यसम्पादन समिति सदस्य आङ्गेलु शेर्पाले पनि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले आसन्न १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने अनलाइनखबरसँग बताए ।

कांग्रेसको लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पनि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी रोल्पाबाट आइतबार महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भइसकेका छन् ।

‘म महामन्त्रीमा उम्मेदवारी दिन्छु,’ लुम्बिनी सभापति पुनले भने, ‘महाधिवेशन प्रतिनिधि चुनिएपछि जिल्लाबाट आफू काठमाडौं आइसकेको र थप छलफलहरू भइरहेको छ ।’

उनले कांग्रेसको नेतृत्वमा रहेर काम गर्ने इच्छा रहेको र नेता कार्यकर्ताहरूले साथ र सहयोग गर्ने विश्वास व्यक्त गरे । सभापति पुन गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा खटिने नेतामध्यमा पर्छन् ।

यस्तै, केन्द्रीय सदस्य मधु आचार्य पनि महामन्त्रीमा आकांक्षी हुन् । नीति प्रतिष्ठानका उपप्रमुख समेत रहेका आचार्यले विशेष महाधिवेशनको अगुवाइ गरेका थिए ।

महामन्त्री पदको के छ महत्त्व ?

कांग्रेसमा महामन्त्रीलाई पार्टीको संगठन सञ्चालन, नीति कार्यान्वयन, समन्वय र दैनिक राजनीतिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने पदका रुपमा लिइन्छ । कांग्रेस विधानमा पार्टीको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहने उल्लेख छ ।

महामन्त्रीलाई केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेदेखि केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी कांग्रेसमा दिइएको छ ।

पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा पार्टीसम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरीवेक्षण गर्ने, गराउने जिम्मा पनि महामन्त्रीको रहने वैधानिक व्यवस्था छ ।

पार्टी सम्बन्धी कार्यमा सभापतिको निर्देशानुसार प्रतिनिधि खटाउने वा समिति वा उपसमिति बनाउने, केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने, पार्टीका सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गर्न लगाउने जिम्मा पनि महामन्त्री मातहत हुन्छ ।

योग्यता पुगेका कुनै व्यक्तिलाई तत्काल पार्टीको सदस्यतादेखि क्रियाशील सदस्यता दिनु पर्ने अवस्था भए सदस्यता प्रदान गर्ने अधिकार पनि विधानले महामन्त्रीलाई दिएको छ ।

कांग्रेस विधानअनुसार महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुन्छन् । तर, पछिल्लो समय महामन्त्री थप गर्ने विषयमा पनि नेतृत्वबीच छलफल चलिरहेको नेताहरू बताउँछन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वसभापति शेरबहादुर देउवा समूह छाडेर मूलधारमा आएका नेताहरूको व्यवस्थापनका लागि महामन्त्री पद थप हुन सक्ने केही नेताको भनाइ छ ।

उपसभापति भुसालले पदाधिकारी थप गर्ने विषय छलफलमा रहेको जानकारी दिइन् । ‘पदाधिकारी थप गर्ने कि भन्ने कुरा छलफलमा छ,’ उनले भनिन्, ‘बैठक बसेको छैन ।’

महामन्त्री घिमिरेले पनि विधान संशोधनका लागि मस्यौदा समिति गठन भएको बताए । ‘पदाधिकारी थप गर्नेबारे विधान मस्यौदा बनेको छ,’ उनले भने, ‘हामी छलफलमै छौं ।’

प्रवक्ता चालिसेले पनि पदाधिकारी थप गर्ने विषयमा छलफल चलिरहेको प्रतिक्रिया दिएका छन् । ‘यो विषय छलफलमै छ । टुंगो लागेको विषय होइन,’ उनले भने ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?