Comments Add Comment

हिँड्दाहिँड्दै बेहोस भएका डाक्टरलाई कोरोना पुष्टि, उपचार गर्न भारत लगियो

५ असोज, विराटनगर । सडकमा हिँडिरहेको बेला एक्कासी बेहोस भएका विराटनगरका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरको बच्चा विभागमा कार्यरत चिकित्सक डाक्टर विनोद बिराजीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार साँझ सडकमा हिँड्दै गर्दा कोशी अस्पताल नजिकै उनी बेहोस भएका थिए । तत्काल उपचारका लागि कोशी अस्पतालको इमरजेन्सी हुँदै आईसीयूमा भर्ना गरिएको थियो । आइसियूमा राखेर उपचार गर्ने क्रममा आइतबार उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

मस्तिष्कमा पनि समस्या देखिएपछि आफन्तले उनलाई उपचारका लागि भारततर्फ लागेका छन् । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार उनलाई आइतबार नै भारततर्फ लगिएको हो ।

ती चिकित्सकको उपचारमा खटिएका अस्पतालका १६ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन् । इमरजेन्सी विभागका पाँच, आइसियूका दश र प्रयोगशालाको एकजना प्राविधिक कर्मचारी क्वारेन्टिनमा बसेको डाक्टर दासले जानकारी दिए ।

डाक्टर बिराजीलाई संक्रमण देखिएसँगै कोशी अस्पतालमा कोरोना संक्रमित कर्मचारीको संख्या ३१ पुगेको छ । तीमध्ये अधिकांश संक्रमण मुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment