Comments Add Comment

कोरोना संक्रमितको शव १९ घण्टा बित्दा पनि उठेन

खानाखाने स्थल नजिकै शव राखेपछि संक्रमितद्वारा नाराबाजी

५ असोज, सप्तरी । आइतबार साँझ करिब ५ः३० बजे मृत्यु भएकी सप्तरीकी कोरोना संक्रमित महिलाको शव १९ घण्टा बित्दा समेत अझै उठ्न सकेको छैन । आइसोलेसनको खुल्ला प्राङ्गणमा शवलाई राखिएको छ । खुल्ला ठाउँमा राखिएका कारण रातभरको अविरल वर्षाले शव भिज्न पुगेको मृतकका आफन्तले बताएका छन् ।

बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ निवासी ६२ वर्षीया महिलाको राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमा आइतबार साँझ मृत्यु भएको थियो ।

गत असोज २ गते श्वास प्रश्वासमा समस्या भएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएपछि पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । परीक्षणको रिपोर्ट आइतबार दिउँसो पोजेटिभ आएपछि उनलाई आइसोलेसन केन्द्रमा पठाइए पनि त्यसको केही समयपछि उनको मृत्यु भएको थियो ।

मृतक महिलाको शव बाहिर राखेको र तत्कालै व्यवस्थापन नगर्दा पानीमा भिजिरहेको छ । यहाँ आइतबार रातदेखि नै वर्षा भइरहेको छ ।

शव खाना खानो ठाउँ नजिकै राखिएका कारण आइसोलेसनमा भर्ना भएका अधिकांश कोरोना संक्रमितले खाना समेत नखाएको आइसोलेसनमा बसेका संक्रमितहरुले बताएका छन् । एक संक्रमितका अनुसार खाना खाने ठाउँदेखि २० मिटरको दूरीमा शव राखिएका कारण रातिदेखि नै धेरै मान्छेले खाना खाएका छैनन् ।

खाना खाए स्थल नजिकै संक्रमितको शवलाई राखेपछि संक्रमितहरुले अहिले आइसोलेसन केन्द्रमा नाराबाजी गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले स्थानीय पालिका प्रमुखले ध्यान नदिएका कारण शव व्यवस्थापनमा ढिलो भएको स्वीकारे । ‘शव व्यवस्थापन गर्ने ठाउँ पालिका प्रमुखले देखाइदिनुपर्‍यो । खाल्डा खन्न स्काभेटर दिनुपर्‍यो,’ प्रजिअ आचार्यले भने, “मृत्यु भएकै समयदेखि हामी शव व्यवस्थापनको तयारीमा छौं । पालिका प्रमुखले मोबाइलको स्वीच नै अफ गरेका कारण शव व्यवस्थापनमा ढिलाइ भएको हो ।”

शवलाई व्यवस्थापन गर्ने ठाउँसम्म लग्न नेपाली सेना तयारी अवस्थामा भएपनि पालिका प्रमुखकै कारण व्यवस्थापनमा ढिलो भएको उनले बताए । उनले अब केही बेरमै शव व्यवस्थापन गरिने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment