Comments Add Comment

पुराना फाइल पल्टाउँदै स्याङ्जा प्रहरी : १७ वर्षको हुँदा अपराध, ६२ वर्षमा पक्राउ

५ असोज, स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका–१ का ६२ वर्षीय लालबहादुर लाम्जालीले किशोरावस्थामा भएको एउटा घटनाको सजाय यो उमेरमा भोग्नु पर्ला भनेर सोचेकै थिएनन् । त्यसैले अपराध गरेको ४५ वर्षपछि आँगनमा प्रहरी टोली आइपुग्दा लाम्जालीले अन्य कुनै कारणले आएका होलान् भन्ने कल्पेका थिए ।

तर, जब प्रहरीले २०३२ सालमा भएको एउटा डाँका चोरी सम्बन्धी घटनाबारे उनलाई बतायो, तब लाम्जाली आश्चर्यमा परे । प्रहरीलाई उनले बताए अनुसार घटनापछि विभिन्न ठाउँमा लुकिछिपी बसेका उनी एक वर्षपछि भारत गए । २०५५ सालमा फर्किएर नेपालमै आए । केही समय गाउँघरमै गए पनि द्वन्द्वकालका वेला सुखद् भविष्य देखेनन् । त्यसैले ६ वर्ष मलेसिया गएर बसे । ०६१ सालमा फर्किएर आउँदा पनि उनको खोजी भएन ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले पुराना घटनाका फरार अभियुक्तलाई समात्ने अभियान चलाएपछि भने उनी आइतबार पक्राउ परेका छन् । जिल्ला अदालतले उनलाई ६ वर्ष जेल र ३१ हजार ५० रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । सजाय भुक्तानीका लागि अहिले उनलाई जिल्ला कारागार चलान गरिएको एसपी होविन्द्र बोगटी बताउँछन् ।

लाम्जालीको जस्तै अनुभव छ, हरिनाश गाउँपालिका–५ का ६२ वर्षीय कर्णबहादुर मह भन्ने कर्णबहादुर भट्ट क्षेत्रीको पनि । कान्छी आमालाई हाडनाता करणी गरेको अभियोग लागेको २३ वर्षपछि उनी पक्राउ परेका छन् ।

आफूविरुद्ध कानुनी कारबाही हुने थाहा पाएसँगै भागेर तनहुँको भिमाद नगरपालिकामा गएर बसे । तत्कालीन समयमा प्रहरीबाट बचेका उनलाई त्यसपछि कसैले खोजी गरे । आइतबार पक्राउ गर्न जाँदा थाहा भयो, उनी भिमाद प्रहरी चौकीकै सामुन्नेमा बसिरहेका रहेछन् ।

अदालतले उनलाई २ वर्ष २ महिना कैद सजायको फैसाला गरेको छ । सजाय भुक्तानीका लागि उनलाई पनि जेल चलान गरिसकिएको छ ।

यी दुई घटनाका प्रतिवादीसहित अन्य विभिन्न मुद्दामा फरार ४८ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले आइतबार एकैदिनमा पक्राउ गरेको छ । स्याङ्जाका एसपी बोगटीका अनुसार जिल्ला र मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशबण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपाट लगायतका विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको हो ।

उनले अनलाइनखबरलाई बताए अनुसार पछिल्लो एक महिनाको अवधिमा आइतबारसहित ८३ जना फरार अभियुक्तलाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment