
५ असोज, काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाडौंतर्फ आएका छन् । नेपालगञ्जसम्म एम्बुलेन्समा आएका केसी सोमबार साँझ काठमाडौं आउने विमान नभएका कारण नेपालगञ्जमै रोकिएका छन् ।
उनलाई सोमबार नेपालगञ्जकै भेरी अस्पतालमा राखिएको छ । केसी मंगलबार विहान ११ बजेको उडानमा काठमाडौं आउने तयारी रहेको उनका सहयोगी डा. प्रवीण गिरीले जानकारी दिए ।
जुम्लामा अनशन बसेको आठौं दिन सोमबार केसीले अब काठमाडौं पुगेर नै सत्याग्रह जारी राख्ने बताउँदै जुम्ला छाडेका थिए । दुई वर्षअघि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका बेला केसीलाई काठमाडौंतर्फ लैजान आएको सरकारी टोलीले अस्पतालमा तोडफोड गरेको थियो । केसीले यस वर्ष पनि त्यस्तै संकेत देखिएकाले आफूले काठमाडौं फर्किएर नै सत्याग्रह गर्न लागेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्योा, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं’ उनले विज्ञप्तिमा भनेका छन् ।
सत्याग्रहको ८ औं दिनसम्म माग पूरा गर्ने सरकारले कुनै प्रयास नगरेको र उल्टै सत्याग्रहस्थलबाट अपहरण शैलीमा अस्पताल पुर्यागएको बताएका छन् ।
उनले जुम्लामा सत्याग्रहका क्रममा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद दिदै सबै मागहरु पूरा गराएर मात्रै सत्याग्रह टुंगिने बताएका छन् ।
यसपटक डा. केसीले पहिलेका सहमति कार्यान्वयन हुनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तत्काल सुरु गर्नुपर्ने, पीसीआर परीक्षण बढाएर लकडाउन र निषेधाज्ञा खुला गर्नुपर्ने, वयलपाटा अस्पतालमा निशुल्क उपचार पाउने व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर अनशन बसेका छन् ।
प्रतिक्रिया 4