+
+
Shares

चुनाव चिह्न हलो राखेर दल दर्ता गर्ने राप्रपामा सहमति

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते २३:५९

५ असोज, काठमाडौं । छ महिना पहिले एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति गरेको छ ।

एकीकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको राप्रपा एक अध्यक्षले जानकारी दिए । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो ।

ती अध्यक्षका अनुसार कमल थापा नेतृत्वको साविक राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टी एकता जोगाउन भन्दै गाई चुनाव चिह्न छाड्ने निर्णय गरेको हो । धुम्बराहीमा बसेको थापा समूहको बैठकमा कतिपय नेताहरूले २०७० सालमा २५ सिट जितेर चौथो ठूलो दल बन्दा प्रयोग भएको गाई चिह्न छाड्न नहुने अडान लिएका थिए ।

चुनाव चिह्नबारे औपचारिक निर्णय भने मंगलबार बस्ने कार्यसम्पादन समितिको संयुक्त बैठकले गर्ने एक नेताले जानकारी दिए ।

बैशाखमा महाधिवेशन

एकता महाधिवेशन आगामी बैशाख तेस्रो साता गर्ने विषयमा पनि दुबै पक्षबीच सहमति जुटेको छ । कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर मंगलबार नै दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी भएको राप्रपा नेताहरूले बताएका छन् । यद्यपि कतिपय नेताहरूले मंगलबार शुभबार नभएको तर्क गरेका छन् ।

राप्रपा नेता मोहन श्रेष्ठले पार्टी एकता प्रक्रिया टुंग्याउने विषयमा महत्वपूर्ण निर्णय लिइएको स्विकारे । श्रेष्ठले अनलाइनखबरसँग भने, ‘देशलाई बलियो राष्ट्रवादी शक्तिको आवश्यकता महसुस गरेर पार्टी एकता जोगाउन भावनात्मक विषय जोडिएको निर्वाचन चिन्हमा सम्झौता गर्ने कठिन निर्णय गरेका छौं ।’

२४ फागुन २०७६ मा कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी पार्टी एकीकरण घोषणा भएको थियो । पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र साझा संस्थाको रुपमा राजसंस्था रहने राप्रपाको दस्तावेजमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?