Comments Add Comment

तारिक लाम्पटे ब्राइटनका युवा स्टार

६ असोज, काठमाडौं । प्रिमियर लिगमा आइतबार ब्रायटनले न्यूकासललाई ३-० ले पराजित गर्दा निल माउपेले दुई गोल गरे । तर, उनले आफ्नो खेलको भन्दा अर्का एक एक युवाको धेरै चर्चा गरे ।

‘उनी जताततै छन्’ फ्रेन्च स्ट्राइकर माउपे भन्छन्, ‘उनमा असीमित क्षमता छ । भर्खर १९ वर्षको भएर पनि उनले उच्च स्तरको प्रदर्शन गरिरहेका छन् ।’

यसरी चर्चा बटुल्न सफल भएका खेलाडी हुन्- ब्रायटनका राइट ब्याक तारिक लाम्पटे । इंग्ल्याण्ड यू-२१ अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका लाम्पटेले लगातार दोस्रो खेलमा धेरैको मन जितेका छन् ।

चेल्सीको एकेडेमीमा हुर्किएका लाम्पटेलाई ब्राइटनले वर्षको शुरुवातमा भित्र्याएको थियो । युवा उमेर र सानो कदका भए पनि लाम्पटे डिफेन्समा बलिया छन् । तीव्र गति र आफ्नो उत्कृष्ट क्षमताको कारण उनी विपक्षीका लागि खतरानाक बन्ने गर्छन् ।

न्यूकासलविरुद्ध आक्रमण र रक्षापंक्तीमा उनले पारेको प्रभावले पनि उनको क्षमतालाई पुष्टि गर्छ । उक्त खेलमा एक घण्टाभन्दा कम समयमा नै चारओटा जोखिमपूर्ण बललाई बचाएका थिए भने चार फाउल पनि जितेका थिए ।

न्यूकासलका एलान सेन्ट म्याक्सीमिनले लाम्पटेलाई फाल गर्दा ब्राइटनले पेनाल्टी पाएको थियो । त्यसैले स्टिभ ब्रुसले न्यूकासलका आक्रामक खेलाडीको पोजिसन नै परिवर्तन गरे ।

ब्राइटनका प्रशिक्षक ग्राहम पोटरले भने, ‘उनी गति निकै राम्रो छ, उनी विपक्षीको रक्षापंक्तिलाई समस्यामा पार्नुका साथै आफ्नो टोलीको लागि रक्षापंक्तिको भूमिका निर्वाह गर्न सक्छन् । उनीसँग मानिसलाई अच्चम्ममा पार्ने क्षमता छ ।

उनी थप्छन्, ‘मैले यसअघि नै उनको बारेमा धेरै कुरा बोलिसकेको छु । उनी अझै खेल सुधार्न र सिक्न चाहन्छन् ।’

जो चेल्सीबाट टाढा भए

चेल्सी लाम्पटेको क्षमताबारे जानकार थियो । सन् २०१९ डिसेम्बर २९ मा आर्सनल विरुद्ध डेब्यु गर्दा नै उनले प्रभाव पारेका थिए । उक्त खेल चेल्सीले २-१ ले जितेको थियो । त्यसपछि पनि उनले केही खेल खेले । यद्यपि उनको सम्झौता यसै समरमा सकिँदै थियो । त्यसैले उनले नियमित खेल्नका लागि अन्त कतै जाने निर्णय गरे । जसका लागि उनले ब्राइटनमा जाने विकल्प छनोट गरे ।

त्यसपछि लाम्पटेले पछाडी फर्केर हेर्नुपरेको छैन । गएको सिजनको लिगका बाँकी रहेका खेलमा उनले उत्कृष्ट प्रदर्शन गरे । यो सिजनमा पनि उनले आफ्नो लय कायम राखेका छन् ।

गत साता आफ्नो पूर्व क्लबविरुद्ध लाम्पटेले लिएनड्रो ट्रेसार्डको गोलका लागि सहयोग गरेका थिए । यो खेलमा गरेको प्रदर्शनले उनी गार्थ क्रुक्सको उत्कृष्ट खेलाडीहरुको ‘टिम अफ दि विक’मा पर्न सफल भए । पछिल्लो समय गरेको उत्कृष्ट प्रदर्शनपछि लिभरपुलका पूर्व कप्तान तथा स्काई स्पोर्ट्सका पण्डित जेमी कारेघरले पनि ट्वीटरमा ‘लभ्ड लाम्पटे’ लेख्दै उनको समर्थन गरेका थिए ।

‘पूर्व खेलाडीले प्रशंसा गर्नु राम्रो हो’ लाम्पटेले भने ‘म सबै प्रशंसालाई ग्रहण गर्छु र धन्यवाद दिन चाहन्छु । तर, मैले अझै कडा मिहिनेत गर्न बाँकी छ । साथै टोलीको लागि राम्रो प्रदर्शन कसरी गर्ने भन्नेमा केन्द्रित हुनु जरुरी छ ।’

अब कुन देशका लागि खेल्लान् ?

फुटबलमा लाम्पटेको उदय हुँदाको समय सायद इंग्ल्याण्डका लागि सही थिएन । किनकी उनको उदय हुँदा उनलाई आफ्नो टोलीमा समावेश गर्न सक्ने टोलीमा राइट ब्याकको पोजिसन खाली थिएन ।

इंग्ल्याण्डको युवास्तरीय खेलमा एकपटकध मात्र इंगल्याण्डको लागि खेलेका छन् । आफ्नो पारिवारिक पृष्ठभूमिको कारण उनी घानाका लागि पनि खेल्न सक्छन् ।

तर उनको निर्णय जे भए पनि इंगल्याण्डको टोलीबाट खेल्ने सम्भावना भने कम रहेका ब्राइटनका प्रशिक्षक पोटर बताउँछन् । इंग्ल्याण्डको टोलीमा राइट ब्याक पोजिसनको लागि धेरैसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले लाम्पट त्यसका लागि इच्छुक नभएको उनको भनाइ छ ।

ब्राइटनका प्रशिक्षक पोटरले भने, ‘उनले जे निर्णय गरेपनि म पूर्णरुपमा समर्थन गर्छु र उनको लक्ष्य प्राप्तिका लागि सहयोग गर्छु । तर, व्यक्ति र चरित्रको हिसाबले उनी माथिल्लो स्तरका छन् । पक्कै पनि उनी हार मान्ने व्यक्ति होइनन् ।’

(बीबीसीमा प्रकाशित सामाग्रीको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment