Comments Add Comment

वीर अस्पताल र केन्द्रीय कारागारले भन्यो : कैदीबन्दीको मृत्यु शंकास्पद होइन

७ असोज, काठमाडौं । केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शंकास्पद नभएको दावी गरेको छ ।

कारागार र अस्पतालले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असोज ३ गते राति १०ः५५ बजे उपचारको क्रममा ६३ वर्षीय जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको जिकिर गरेको हो ।

पार्किडसन र उच्च रक्तचापबाट ग्रसित जैसवाललाई अचानक असोज ३ गते राति ९ः४५ बजे श्वास प्रश्वासमा समस्या आएपछि बन्दीगृहभित्रबाट केन्द्रीय कारागार अस्पतालमा पठाइएकोमा त्यहाँबाट उनलाई थप उपचारका लागि वीर अस्पताल पठाइएको विज्ञप्तिमा उल्लेख छ । थप उपचारका लागि उनलाई वीर अस्पताल पुर्‍याइए पनि उनी जीवितै रहेको कुनै संकेत नदेखिएपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपचाको क्रममा उनको मृत्यु भएपछि पोष्टमार्टमका लागि उनको कोरोना परीक्षण गर्दा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ ।

विगत तीन दिनदेखि मृतकको शव शवगृहमा रहेका कारण शव सड्ने प्रक्रिया सुरु भइसकेका कारण शवमा फोकाहरु देखिनु, सुन्निनु मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया भएको अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले बताएका छन् । शवलाई रेफ्रिजेरेटरमा नराख्दा शवमा त्यसखालका संकेतहरु देखिनु सामान्य प्रक्रिया भएको डा. सेन्चुरीले बताए ।

मेडिकल अवस्थालाई नबुझी सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा कारागारभित्र वा अस्पतालमा उनको हत्या गरिएको, आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता समाचार आएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

बाहिर आएका विभिन्न किसिमका सूचनाहरुमा यथार्थ नभएको र कारागारभित्रको सीसीटिभी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत साबित भएको विज्ञप्तिमा उल्लेख छ । अन्य रिपोर्ट पोस्टमार्टमपछि मात्रै आउने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment