+

रुपन्देहीको लन टेनिस कोर्ट निर्माणको भुक्तानी विवाद चर्कियो

२०७७ असोज  ७ गते १८:३९ २०७७ असोज ७ गते १८:३९
रुपन्देहीको लन टेनिस कोर्ट निर्माणको भुक्तानी विवाद चर्कियो

७ असोज, बुटवल । रुपन्देही लन टेनिस संघमा कोर्ट निर्माणको बक्यौता भुक्तानी विवाद चर्किएको छ । बुटवल-११ देवीनगरमा कोर्ट निर्माण भएको तीन वर्षसम्म पनि बाँकी रहेको १७ लाख २१ हजार रुपैयाँ भुक्तानीको दायित्व कसले लिने भन्ने विषयमा विवाद चर्केको हो ।

बक्यौता भुक्तानीको दायित्वबाट संघको वर्तमान नेतृत्व पन्छिएपछि निर्माण व्यवसायीले कोर्टमा तालाबन्दी गरेको पनि दुई साता बितिसकेको छ ।  तालाबन्दी भएपछि नियमित खेल्दै आएका खेलाडीहरु कोर्टमा खेल्न समेत पाएका छैनन् । तर तालाबन्दी खुलाउन नेतृत्वले चासो लिएको छैन ।

उपभोक्ता समितिमार्फत ९६ लाख ६२ हजारमा ठेक्का सम्झौता भएकामा निर्माण व्यवसायीलाई ७९ लाख मात्रै भुक्तानी भएको छ ।

उपभोक्ता समितिमार्फत काम भएको भन्दै बक्यौता रकम भुक्तानीको दायित्व संघको वर्तमान कार्यसमितिलाई नभएको संघका अध्यक्ष सञ्जयप्रकाश श्रेष्ठ तर्क गर्छन् ।

उनले कोर्ट निर्माणमा संघको संलग्नता नै नरहेकाले कति खर्च भयो र कति बक्यौता छ भन्ने समेत आफूलाई जानकारी नभएको दावी गर्छन् । तर कोर्ट निर्माण हुंदा संघको

अध्यक्ष रहेका अशोक गुरुङले अधिवेशनमा भएको सहमति अनुसार कोर्ट निर्माणको बक्यौता रकमको दायित्व नयां नेतृत्वको भएको बताउँछन् ।

राष्ट्रिय खेलकुद परिषद्बाट ८५ लाख रुपैयां खर्च गर्ने अख्तियारी दिएकोमा दुईपटक गरेर ७३ लाख १७ हजार रुपैयां मात्र प्राप्त भएकाले १७ लाख २१ हजार रुपैयां बक्यौता रहेको गुरुङले बताए ।

बक्यौता रकमबारे अधिवेशनअघि नै कुरा उठेको र संघका केन्द्रीय महासचिव मनोहर दासको रोहबरमा बक्यौता रकमबारे यकिन गर्न छानबिन समिति गठन समेत भएको तर आफैले गरेका सहमतिबाट वर्तमान नेतृत्व पन्छिदै जाँदा समस्या उत्पन्न भएको गुरुङको दाबी छ ।

छानबिन समितिका संयोजक अर्जुनमान सैंजूले संघको वर्तमान नेतृत्व, उपभोक्ता समितिका अध्यक्ष लगायतसँग तीनपटक बैठक बसेर अध्ययन गर्दा बक्यौता देखिएको रकम तिर्नुपर्ने दायित्व संघको वर्तमान नेतृत्वको नै भएको ठहर गरी प्रतिवेदन बुझाइएको बताउँछन् । ‘संस्थाको नेतृत्व लिएपछि आम्दानी र खर्चको दायित्व स्वभाविकरुपमा लिनुपर्छ,’ संयोजक सैंजूले भने, ‘तर वर्तमान नेतृत्वले दायित्व लिन नखोज्नु दुखद हो ।’

गुरुङको अगुवाई र पहलमा बुटवलमा प्रदेशकै उत्कृष्ट कोर्ट निर्माण भए पनि गुटबन्दी गरेर उल्टै उनलाई ऋणको भार थोपर्ने षड्यन्त्रले संघको छवि धुमिल बनाएको सैंजूले बताए ।

जिल्ला खेलकुद विकास समिति रुपन्देहीका प्रमुख संगमसिंह थापाले उपभोक्ता समितिले खर्च भएको रकम अपुग भएको भए दुई वर्षअघि नै माग गर्नुपर्नेमा त्यसो नगरी वजेट फछ्र्यौट भइसकेपछि अहिले बक्यौता छ भन्नु अनुचित हुने बताउँछन् ।

बुटवलमा लन टेनिस खेलको शुरुवात गरी व्यक्तिगत लगानी र योगदानसमेत गरेका लन टेनिस संघ रुपन्देहीका संस्थापक अध्यक्ष गुरुङले सरकारी बजेटमा निर्माण कार्य गर्दा अपनाउनुपर्ने विधि प्रकृयाबारे ख्याल नगर्दा समस्या आएको थापाले औंल्याए ।

कोर्टमा तालाबन्दीपछि आफूले सम्बन्धित पक्षहरुको बैठक डाकेर निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानीको दायित्व अब उपभोक्ता समितिले लिनुपर्ने स्पष्ट पारिसकेको थापाले बताए ।

टेनिस कोर्ट रुपन्देही लन टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय