
८ असोज, काठमाडौं । छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्न नसकेको भनी यतिबेला भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको तीव्र आलोचना भइरहेको छ । प्रतिपक्ष इन्डियन नेसनल कंग्रेस, मिडिया र त्यहाँका प्राज्ञिक वर्गले मोदी नेतृत्वको सरकार छिमेक नीतिमा असफल भएको बताइरहेका छन् ।
पछिल्लोपटक भारतको छिमेकी नीतिको विषयले त्यहाँको दुवै संसद लोकसभा र राज्य सभामा समेत उच्च प्राथमिकता पाएको छ । कोरोनाका कारण सिर्जित समस्यालाई दृष्टिगत गरी छोटो समयका लागि बोलाइएको संसदका दुवै बैठकमा पछिल्लो एक सातायता मोदी सरकारको नेपाललगायत अन्य मुलुकसँग बिग्रदो सम्बन्धबारे गर्मागर्मी बहस भइरहेको छ ।
मंगलबार राज्यसभाको बैठकमा भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनलाई नेपाल र चीनको बीचमा पछिल्ला वर्षहरुमा भएका व्यापार र वाणिज्य सम्बन्धी सन्धि सम्झौता र त्यसले भारतलाई पार्ने प्रभावबारे निकै कडा प्रश्नहरु गरियो ।
सांसदहरुको प्रश्न थियो, पछिल्ला केही वर्षयता भारतसँगको निर्भरता घटाउनको नेपालले चीनसँग व्यापार र वाणिज्य लगायतका विषयमा विभिन्न सम्झौता गरेको छ, यो विषय भारत सरकारलाई थाहा छ कि छैन ? छ भने के कस्ता सम्झौता भएका छन्, त्यसको जानकारी दिनुपर्यो । अनि अर्काे प्रश्न पनि सोधियो, यस्ता सम्झौताले भारतको नेपालसँगको सम्वन्धमा कस्तो असर गर्छ ?
यी प्रश्नका उत्तर दिँदै भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनले भने, ‘नेपाल सरकारले जारी गरेको विज्ञप्ति अनुसार २०१९ को अप्रिल महिनामा भएको नेपालका राष्ट्रपतिको चीन भ्रमणको समयमा पारवहन र यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको छ ।’
यसै सम्बन्धमा उनले नेपालसँग लामो समयदेखिको भौगोलिक, सांस्कृतिक र जनता—जनता बीचको सम्वन्धको चर्चा गर्दै भने, ‘नेपालको ९० प्रतिशत ब्यापार भारतसँग रहेको छ र नेपालको तेस्रो मुलुकसँगको आयात—निर्यात भारतमार्फत नै हुने गर्छ ।’ राज्यमन्त्री मुरलीधरनले नेपालसँग आर्थिक र व्यापारिक, लगानी, विकास सहयोग, कनेक्टीभिटी र जनता जनता बीचको सम्वन्धलाई अझ सुदृढ गर्न प्रतिवद्ध रहेको बताएका थिए ।
त्यसैगरी अघिल्लो साता पनि भारतको लोकसभामा नेपाल लगायत अन्य छिमेकी मुलुकहरुसँगको सम्वन्धको बारेमा निकै बहस भएको थियो । विभिन्न दलका सांसदहरुले नेपाल, चीन, बंगलादेश, श्रीलंका, अफगानिस्तान र म्यानमारसँगको सम्वन्ध बिग्रेको हो भनी प्रश्न गरेका थिए । सम्वन्ध बिग्रेको हो भने के कारणले बिग्रेको भनी प्रश्न सोधेका थिए । सांसदहरुको अर्काे प्रश्न थियो, सम्वन्धलाई सुमधुर बनाउन के कदम चालिएको छ ?
पहिलो प्रश्नमा विदेश राज्यमन्त्रीले एक शब्दमा ‘होइन’ भन्ने उत्तर दिएका थिए । उनले भारतले छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताएका थिए । मन्त्री मुरलीधरनले छिमेकी मुलुकमा रहेका भारतका परियोजना र राजनीतिक सम्वन्धको बारेमा लामो ब्याख्या गरेका थिए ।
उनले चीन तर्फ संकेत गर्दै भारतले छिमेकीसँगको सम्वन्धलाई स्वतन्त्र रुपमा हेर्ने र कुनै मुलुकसँग जोड्न आवश्यक नभएको समेत बताएका थिए ।
यस अगाडि नेपालसँगको सम्वन्धको बारेमा वि.सं. २०७२ सालको भूकम्पको समयमा निकै बहस भएको थियो । त्यसपछि भारतीय संसदमा बहस भएको अहिले नै हो । भारत र चीनबाहेक, विशेषगरी भारतको नेपाल, बंगलादेश र श्रीलंकासँगको सम्बन्धको बारेमा नयाँदिल्लीमा निकै चर्चा हुने गरेको छ । विभिन्न कारणले यी सबै मुलुकसँगको सम्वन्धमा पछिल्लो समयमा चिसोपन आएको छ ।
नेपालसँग सीमा विवादका कारण सम्वन्धमा चिसोपन आएको छ भने बंगलादेशसँग पनि राम्रो सम्वन्ध छैन । भारतीय राजदूतलाई बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले ३ महिनासम्म भेट नदिएको खबर बंगलादेशका मिडियाहरुमा नै सार्वजनिक भएको थियो । सम्वन्धमा चिसोपन आइरहेकै समयमा भारतीय विदेश सचिवले अगष्टको तेस्रो साता बंगलादेशको भ्रमण गरेका थिए । तीव्र दबाबपछि मोदी सरकारले छिमेकीसँग सम्वन्त्र विस्तारका लागि केही कदम लिन थालेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी शनिबार श्रीलंकाका समकक्षी महिन्दा राजापाक्षेसँग भर्जुअल कुराकानी गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतको बीचमा विदेश सचिवस्तरीय वैठक अथवा परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने संयुक्त कमिसनको बैठक गर्ने विषयमा केही कुराकानी भएपनि खासै अगाडि बढ्न सकेको छैन ।
केही साताअघि स्थलमार्गबाट नयाँदिल्ली गएर साउथ ब्लकसँग परामर्श गरेर फर्केका नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उच्च सरकारी अधिकारी र नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन् ।
मोदी नेतृत्वको सरकारको यतिबेला छिमेकी मुलुकसँगको सम्वन्ध सुधार गर्नुपर्ने दबाबमा रहेको छ । बुधबार नै एक ट्वीट गदै इन्डियन नेसनल कंग्रेसका नेता राहुल गान्धीले भनेका छन्, ‘कंग्रेसले निर्माण गरेको र केही शताब्दी लगाएर त्यसलाई सुदृढ बनाएको सम्वन्धको वेबलाई मोदीले ध्वस्त पारेका छन् । साथीविना छिमेकमा बस्नु एकदमै खतरनाक छ ।’ उनले दि इकोनोमिष्टमा प्रकाशित भारतको बंगलादेशसँगको सम्वन्ध कमजोर भएपनि भारतसँगको सम्वन्ध सुदृढ भयो पनि प्रकाशित समाचार शेयर गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
प्रतिक्रिया 4