Comments Add Comment

चीनले सीमा मिचेको छैन भन्नु हतारको टिप्पणी : कांग्रेस

८ असोज, काठमाडौं । चीनले हुम्लामा नेपाली भूमि मिचेको छैन भनेर सरकारले दिएको प्रतिक्रियालाई प्रमुख विपक्षी नेपाली कांग्रेसले हतारको टिप्पणी भनेको छ ।

हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको खबर आएपछि सरकारले खण्डन गरेको थियो । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन भनेका थिए ।

तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेकोमा पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।

‘प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन’ उनले भनेका छन् ।

अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो/होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का नराखेको कांग्रेसले बताएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही अध्ययनकै क्रममा रहेको भन्दै शर्माले भनेका छन्, ‘स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ ।’

साथै स्थलगत अध्ययन टोली सदरमुकाम फर्किएपश्चात सीमा मिचिएको ठहर भए चीन सरकारसमक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment