Comments Add Comment
स्याङ्जा पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु :

सडकले निम्त्याएको विपद्, सरकारी बेवास्ताको शिकार

८ असोज, पोखरा । गएको वर्ष स्याङ्जाको वालिङ नगरपालिका–१४ पुग्दा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालको टोलीलाई गाउँलेले बाटो छेके ।

सडक विभागका उच्च अधिकारीसहित सडक अवलोकन गर्न पुगेकी अर्याललाई वालिङको तमादी गाउँका स्थानीयले बाटो छेकेर भने, ‘यो सडकले बस्ती नै जोखिममा पर्‍यो । वाल लगाइदिनुस्, पानी तर्काउने व्यवस्था मिलाइदिनुस् ।’

यो गाउँ मन्त्री अर्यालको माइती गाउँसमेत हो । सो ठाउँमा सडक विभागले पर्वतसम्म पुग्ने सडक निर्माण गरिरहेको थियो । स्याङ्जाको वालिङ र पर्वतको हुवाससम्म जोड्ने प्रदेशस्तरको सडक पनि निर्माणाधीन छ । त्यही सडकसँग जोडिने गरी विभागले अर्को सडक बनाइरहेको छ ।

भुम्रे, अर्चलबोट, तमादी, डुम्रे भञ्ज्याङ, हुँदै सेतीबेनी जाने सडकका रुपमा यसलाई विकास गर्ने भनिएको छ । विभागले खनेको सडककै कारण बस्ती जोखिममा रहेको भनेर मन्त्रीकै ध्यानाकर्षण गराएपछि विभागले वाल लगाउन टेन्डर पनि निकाल्यो ।

केही ठाउँमा लगाउने काम पनि भयो । तर, सबैभन्दा जोखिममा रहेको र जनप्रतिनिधिसम्म आवाजसमेत पु¥याउन नसक्ने थोरै घर रहेको ठाउँमा न वाल लगाइयो न पानी तर्काउने अरु कुनै उपाय नै खोजियो ।

जुन ठाउँमा गएको वर्षदेखि नै सानो सानो पहिरोसमेत गइरहेको थियो । सडकले सबैभन्दा पहिरोको जोखिममा रहेको ठाउँका वासिन्दाको आवाज नसुनिँदा र सरकारी बेवास्ताका कारण बिहीबार एकाबिहानै खसेको पहिरोले ठूलो धनजनको क्षति पुर्‍याएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ को तमादीमा बिहीबार एकाबिहानै खसेको पहिरोले परिवारकै ९ जनाको ज्यान लियो । विभागले खनेको त्यही सडकभन्दा मुनि जम्मा ३ घर थिए । ती घर तलमाथि गरी लस्करै थिए । जहाँ बिहीबार सडकबाटै पहिरो खस्यो ।

सबैभन्दा माथिल्लो घरमा परियार र तलका २ घरमा खनाल परिवार बस्दै आएका थिए । सबैभन्दा माथिल्लो सानी परियारको घरका १० जनामध्ये ७ महिने शिशुसहित ९ जनालाई पहिरोले निलेको हो । १ जनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

‘मन्त्रीको ध्यानाकर्षण गरायौं । वडाध्यक्ष, मेयरलाई भन्यौं तर कसैले सुनुवाइ गरेनन्,’ पहिरोले बगाएको परिवारकी छिमेकीसमेत श्यामकला क्षेत्री खनालले भनिन्, ‘बेलैमा हाम्रो माग कसैले सुनिदिएको भए । माथ्लो घरका आज सबै सोत्तर हुँदैनथे ।’

सोही सडकको अरु जोखिमै नभएका ठाउँमा वाल लगाउने तर ती ३ घरप्रति कसैले नसोचेको खनालले बताइन् । ‘पोहोरदेखि नै सानो सानो पहिरो जान थालेको हो । वर्षौंदेखि बस्दै आएको घरमाथिबाट सडक गएदेखि भलपानी त सधैं आउँथ्यो, कुनबेला पहिरोले पुर्ने हो भन्ने डर हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले पहिरोले परिवारै बगाउँदा कठै भन्नेहरुले हिजो हाम्रो मागै सुनेनन् ।’

सडककै कारण एउटा परिवारको विभत्स मृत्यु भएको र आफूहरुको घर परिवार नै बिस्थापित भएको सोही ठाउँकी रेनुका क्षेत्रीले बताइन् । ‘माथिल्लो घरको एक जनाबाहेक सबैलाई लगिहाल्यो । हामी पनि अब यो ठाउँमा कसरी बस्न सक्छौं,’ क्षेत्रीले भनिन्, ‘सोच्नेले बेलैमा नसोचिदिएपछि आज यो दिन देख्नुपर्‍यो ।’

वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले सडक खनेदेखि नै त्यहाँका परिवारलाई डर थपिएको र बिहीबारको घटना पनि सडककै कारण भएको बताउँछन् । सानो सानो पहिरो जाँदा नगरपालिकाले प्लास्टिक लगाएर रोकथाम गर्ने गरेको भए पनि विभागले खनेको सडक भएकाले आफूहरुले केही गर्न नसकेको उनको भनाइ छ ।

‘त्यहाँका वासिन्दाले मन्त्री र विभागका मान्छेलाई बाटो नै छेकेर कुरा राखेको पनि सत्य हो । उनीहरु वाल घर सुरक्षित हुने गरी वाल लगाइदिन भने,’ मेयर खाँडले भने, ‘विभाग अन्तर्गत टेन्डर निस्किएर केही काम पनि भएको हो । तर, तिनै घर भएतिर कसैको ध्यान गएन ।’

त्यो ठाउँ पहिलेदेखि नै जोखिम क्षेत्र हो भने पनि विकल्पसहित उनीहरुको स्थानान्तण गर्न सरकारी निकायले ध्यान दिनुपर्नेमा बेवास्ता गरेको स्थानीय बताउँछन् । विभागको सडक नगरपालिकाको अधिकार क्षेत्रभित्र नपर्ने भएर पनि त्यहाँ आफुहरुले वाल लगाउने काम गर्न नसकेको उनको भनाइ छ ।

सोही ठाउँका वडाध्यक्ष झम्मरबहादुर श्रेष्ठले सडकले जोखिम निम्त्याएको र त्यहाँ पानीको मूलसमेत भएकाले पहिरो खसेको बताए ।

त्यो बेला ३ करोड रुपैयाँमा सडकको ट्रयाक खोल्ने र रिटेनिङ वाल बनाउने ठेक्का पाएको निर्माण व्यवसायी मनोज श्रेष्ठले बताए । ‘हामी त निर्माण व्यवसायी हौं । जहाँ जस्तो ठेक्का पाएका छौं, त्यही गर्छौं,’ श्रेष्ठले भने, ‘जिम्मा पाएको ठाउँमा वाल लगाएका हौं ।’

आर्थिक वर्ष ०७५/०६६ मा १ करोड रुपैयाँमा सुधार गर्ने काम भएको तर यो प्राकृतिक हिसाबले पहिले नै त्यो ठाउँ जोखिमयुक्त रहेको सडक डिभिजन कार्यालय पोखराका डिभिजन इन्जिनियर सुनीलबाबु पन्तले बताए ।

सीमित बजेटले सन्तुलित हिसाबले काम गर्नुपर्ने भएकाले सबै ठाउँमा विचार पुग्न नसकेको पनि हुन सक्ने र आफुहरुले पानी व्यवस्थापनको काम भने भएको पन्तको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment