Comments Add Comment

सार्क परिणाममुखी क्षेत्रीय संगठन बन्नुपर्छ : परराष्ट्रमन्त्री

८ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण एसियाली सहयोग संगठन -सार्क ) यसक्षेत्रका जनताको जीवनमा अनुभूत गर्न सकिने गरी परिवर्तन ल्याउन प्रभावकारी र परिणामुखी क्षेत्रीय संगठन बन्नुपर्ने बताएका छन् ।

बिहीबार सार्क मन्त्रीस्तरीय भर्चुअल बैठकको अध्यक्षता गर्दै ज्ञवालीले सबै सदस्य राष्ट्रहरूलाई सकेसम्म छिटो १९ औं शिखर सम्मेलन गर्ने व्यवहारिक विकल्पको खोजी गर्न र सार्कलाई नयाँ गति दिन आग्रह समेत गरे । ‘हामीले सार्कलाई नतिजामुखी र प्रभावकारी क्षेत्रीय संस्था बनाउन आवश्यक छ, जसले यस क्षेत्रमा जनताको जीवनमा स्पष्ट देखिने परिवर्तन ल्याउन सकोस्, बैठकमा मन्त्री ज्ञवालीले भने ।

हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा वैठकको साइडलाइनमा सार्क मुलुकका परराष्ट्रमन्त्रीहरूको अनौपचारिक बैठक गर्ने परम्परा छ ।

यसपटक महासभाको वैठक नै भर्जुअल भएका कारण परराष्ट्रमन्त्रीहरूको साइडलाइन वैठक पनि भर्जुअल नै गरिएको हो । सार्कको अध्यक्ष राष्ट्रको नाताले ज्ञवालीले बैठकको अध्यक्षता गरेका हुन् ।

भारत-पाकिस्तान घोचपेच

भर्चुअल बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले भारत कनेक्टेड, एकिकृत, सुरक्षित र समृद्ध दक्षिण एसिया निर्माणका लागि प्रतिवद्ध रहेको बताए । भारत ‘छिमेकी पहिला’ परराष्ट्र नीतिको पक्षमा रहेको बताएका उनले पाकिस्तानप्रति लक्षित गर्दै सीमापार आतंकवाद, कनेक्टीभिटी परियोजनाहरू अवरुद्ध गर्ने प्रवृति र व्यापार अवरोध सार्कका मुख्य चुनौती रहेको बताए ।

पाकिस्तानका परराष्ट्रमन्त्री शाह मोहमद क्युरेशीले सार्कको १९ आंै शिखर सम्मेलन आयोजना गर्न पाकिस्तान आतुर रहेको बताए । क्युरेशीले पनि भारतलाई आरोप लगाउन छाडेनन् । भारतले २०१९ मा जम्मु-कश्मीरलाई समेटेर जारी गरेको नक्साप्रति संकेत गदै उनले विवादित भूमिमा लिइने एकतर्फी निर्णयले क्षेत्रीय शान्ति र स्थायित्वलाई असर गर्ने बताए ।

सन् २०१६ को सेप्टेम्बर तेस्रो साता कश्मीरको उरीस्थित सैन्य क्याम्पमा आतंककारी हमला भएपछि नोभेम्बर ९ र १० मा इस्लामावादमा तय भएको १९ औ सार्क सम्मेलनमा भारतले सहभागी नहुने बतायो ।
त्यसपछि सम्मेलन अनिश्चित कालका लागि स्थगित भयो ।

सार्कको ३५ वर्षे इतिहासमा इतिहासमा नै यति लामो समयसम्म सार्क सम्मेलन नभएको यो पहिलो पटक हो । सार्क निष्त्रिmय भएपछि भारतले बिमस्टेक -बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास)लाई अगाडि बढाउन जोड गरेको देखिन्छ । अन्य सदस्य देशहरूले भने सार्कको विकल्प बिमस्टेक हुन नसक्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment