
News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री डा. आरजु राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच हङकङमा द्विपक्षीय भेटवार्ता भएको हो।
- भेटमा नेपाल-चीन सम्बन्ध, सहयोग र आगामी सहकार्यका विषयमा कुराकानी भएको र नेपालले चीनको सहयोगको निरन्तरता अपेक्षा गरेको बताइन्छ।
- चीनले नेपाललाई वातावरण संरक्षण र अन्तर्राष्ट्रिय संगठनमार्फत् सहकार्य गर्न तयार रहेको र नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गरिएको छ।
१६ जेठ, काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेकी मन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता भएको हो ।
सौहार्दपूर्ण भेटमा नेपाल चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस बर्ष दुवै देशले मनाइरहेका नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बर्षका सन्दर्भमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भेटमा मन्त्री डा. राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको बताउँदै एक असल मित्र राष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्याउँदै आएको सहयोग र समन्वयका लागि विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद ज्ञापन गरिन् ।
साथै आगामी दिनमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवं प्रत्यक्ष वैदेशिक लगानी लगायतका विविध क्षेत्रहरुमा नेपालमा चीनको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको मन्त्री डा. राणाले बताइन् ।
मन्त्री डा. राणाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रही आएको दोहोर्याउँदै नेपाली भूमि चीनका विरुद्धमा प्रयोग हुन नदिइने कुरामा नेपाल अडिग रहेको बताइन् ।
नेपालले हालै सम्पन्न गरेको सगरमाथा संवादमा चीनबाट भएको प्रतिनिधित्वका लागि चीन सरकारलाई विशेष धन्यवाद समेत दिइन् । भेटमा नेपाल चीनबीच केही बर्ष यतादेखि भइरहेका उच्चस्तरीय भ्रमणहरु बारे चर्चा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत डिसेम्बरमा गरेको चीनको औपचारिक भ्रमण र त्यस बेला भएका सहमति एवं सम्झौताहरुको कार्यान्वय बारे समेत कुराकानी भएकाे मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेशमन्त्री वाङलाई मन्त्री डा. राणाले नेपालको भ्रमणका लागि निमन्त्रणा दिएकी छन् । दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ बर्षका अवसरमा सन् २०२५ लाई नेपाल भ्रमण बर्षका रुपमा मनाइएकाले यस बर्ष नेपालमा बढीभन्दा बढी चिनियाँ पर्यटकहरुलाई स्वागत गर्न नेपाल इच्छुक रहेको उनले बताइन् ।
भेटमा चिनियाँ विदेशमन्त्री वाङले नेपालले हालै आयोजना गरेको सगरमाथा संवाद सफलतापूर्वक सम्पन्न गरेकोमा मन्त्री डा. राणा मार्फत् नेपाल सरकारलाई बधाई ज्ञापन गरे । उनले जलवायु परिवर्तन र यसको असरलाई कम गर्ने तथा वातावरण संरक्षण गर्ने क्षेत्रमा आगामी दिनमा नेपालसँग सहकार्य गर्न चीन तयार रहेको बताएका थिए ।
उनले चीनले नेपाललाई दिँदै आएको सहयोग आगामी दिनमा निरन्तर रहने बताउँदै चीनको समन्वयमा स्थापना हुने मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय संगठनमार्फत् आगामी दिनमा नेपालसँग पनि समन्वयका साथ अघि बढ्न सकिने धारणा राखेका थिए ।
विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीको चीन भ्रमणका भएका सहमति र सम्झौताहरुको कार्यान्वयन अघि बढाउन मन्त्री डा. राणामार्फत् नेपाल सरकारलाई आग्रह गरेका थिए । साथै मन्त्री डा. राणाले दिनुभएको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै आफू नेपाल भ्रमणमा आउने बताएका थिए ।
मन्त्री वाङले नेपालको कूटनीतिक क्षेत्रमा हाल मन्त्री डा. राणाको नेतृत्वमा भइरहेका र अघि सारिएका कार्यक्रमहरुको प्रशंसा गर्दै विश्व महिला नेतृत्वसम्बन्धी फोरममा सहभागिताका लागि चीन सरकारका तर्फबाट मन्त्री डा. राणालाई विशेष निमन्त्रणा दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4