Comments Add Comment

बाढीले रुपन्देहीमा दर्जन बढी घर बगायो, ५० घर डुबानमा

१० असोज, बुटवल । रातभरको वर्षाले रुपन्देहीको विभिन्न स्थानमा वस्तीहरु डुबानमा परेका छन् भने बाढीले दर्जन बढी घर बगाएको छ । तिलोत्तमा नगरपालिकामा विभिन्न स्थानमा ७ वटा घर बाढीले बगाएको छ ।

बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको स्थानीय अगुवा टेकराज पन्थीले बताए ।

तिनाउ नदीको बाढीले बुटवल उपमहानगरपालिकाको वडा नं. १७ रानीगन्ज मनकामना टोलमा एउटा घर र देवदहको चरंगेमा एउटा घर खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका बुटवल, तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा बाढीले क्षति पु¥याएको छ ।

रोहिणी नदी बस्तीतिर पसेपछि तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकमा करिब ५० घर डुबानमा परेका छन् । रोहिणी नदी र सुखौरा खोलाको बीचमा रहेको उक्त बस्तीका बासिन्दा रातभर थुनिएका र बिहान भएपछि सुरक्षित स्थानमा सारिएको तिलोत्तमा नगरपाकिलाका प्रमुख बासुदेव घिमिरेले बताए ।

बस्तीमा बाढी पसेपछि मध्यरातदेखि नै नगर प्रमुख घिमिरेको नेतृत्वमा जनप्रतिनिधि, सुरक्षाकर्मी, नगर प्रहरी, टोल विकास संस्थाका पदाधिकारी उद्धारका लागि पुगेका थिए ।

विद्युत सेवा अवरुद्ध

तिलोत्तमामै सुखौरा खोलाको बाढीले सुखौरा खोला पुल नजिक विद्युत पोल ढाल्दा विद्युत अवरुद्ध भएको छ भने तिलोत्तमा–११ गणेशनगर क्षेत्रमा नदी तटीय क्षेत्र कटान गरेर नदी बस्ती नजिक आउन थालेको छ । बुटवलको रानीगन्जमा बाढीले  विद्युतको पोल बगाएको छ ।

देवदहको भलुहीमा ५ वटा घर डुबानमा परेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ मा ४ वटा घर भारी वर्षाका कारण भत्किएका रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए । बाढीले डुबान र कटान गरेपनि मानवीय क्षति नभएको खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment