+
+

रेशमले बेरेको ढुंगा हान्ने कवि

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७७ असोज १० गते ११:२५

दाह्रीकपाल पालेका, वृद्धावस्थातिर ढल्कँदै गरेका, आँखामा गम्भीर भाव खेलाइरहेका कणाद महर्षि झट्ट हेर्दा कुनै ऋषि वा योगीझैं लाग्छन् ।

उनी गृहस्थी जीवन बिताउँदै आएका साहित्यकार हुन् । पाँच दशकदेखि कविता लेखनमा सक्रिय छन् । त्यसैले नयाँपुस्ताका कविताकर्मीहरूका लागि यिनी ऋषिजस्तै हुन् ।

उमेर र स्वभावका कारण हिजोआज सहरमा हुने साहित्यिक कार्यक्रममा कणाद महर्षि भेटिँदैनन् । साँझका साहित्यिक मेहफिलहरूमा उनको नामको कुर्सी रिजर्भ हुँदैन । कणादको कविता, मुक्तक र हाइकु लेखनमा यसले केही फरक पारेको छैन ।

****

चाबहिल, मित्रपार्कका कविराज समशेरबहादुर सिंह मिश्रको घर राणाकालमै पनि चर्चित थियो । पुस्तैनी ओखतिमूलोमा लागेकाले मिश्र परिवारलाई कविराजको खलक भनिन्थ्यो । यही परिवारमा २०११ वैशाख २८ गते जन्मिएका कणाद मिश्र भने ‘कवि’को रुपमा चिनिए ।

नयाँ मान्छेसँग कुरा गर्दा कणाद भनिरहेका हुन्छन्, ‘आयुर्वेद र औषधीमूलो गर्ने कविराज खलकमा मचाहिँ कविता सृजना गर्ने कविमात्रै बन्न पुगें ।’

त्यतिबेलाको चाबहिल क्षेत्र पुरै ग्रामीण परिवेशको थियो । आजको मित्रपार्कमा घैया फल्थ्यो । लामपोखरीदेखि मित्रपार्कसम्म चर्चेर बसेका मिश्र परिवारका सदस्यहरू दिउँसो जागीर खान सहर धाउँथे ।

कणादका पिता कृष्णबहादुर सिंह मिश्रको जागिर सिंहदरबार वैद्यखानामा थियो ।  बालक कणाद छिमेकमै रहेको मित्र सहशिक्षालय मर्निङ हाइस्कुल (पछि पशुपति हाइस्कुल) पढ्थे । फुर्सदमा साथीभाइसँग यत्रतत्र डुल्थे ।

बाल्यकालबारे उनी भन्छन्, ‘साँझ घर फर्कने बेलामा खुबै डराउँथें । एक त त्यतिबेला चाबहिल बजारबाट मेरो घरसम्म पुग्ने झाडीको बाटोमा दिउँसै स्याल आउँथ्यो । त्यसमाथि बुबाको खप्किको सम्भावना उत्तिकै हुन्थ्यो ।’

संयुक्त परिवार भएकाले आफ्नो बाल्यकाल रमाइलो गरी बितेको कणादको अनुभव छ । २०२८ सालमा उनी ‘मित्र स्कुल’बाटै एसएलसी उतीर्ण भए । त्यसपछि वसन्तपुरको महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्न थाले ।

रुची थियो साहित्यमा । ‘बिम्बसँग खेल्न मन पराउने मान्छे, अंकसँग खेल्ने पढाइ गर्नुपर्यो,’ कणाद भन्छन्, ‘पछि बैंकमा काम गर्दा अंकसँगै खेल्नुपरे पनि मेरो लागि पैसाको हिसाब कहिल्यै रुचीकर भएन ।’

क्याम्पस जाँदा बाटोमा पर्ने भएकोले उनलाई नयाँ सडकको साहित्यिक मण्डलीमा मिसिन सजिलो भयो । एकसेएक साहित्यकारसँग प्रत्यक्ष चिनजान हुन थाल्यो । पछि होलटाइमर साहित्यकार बन्न नयाँ सडकको त्यो पिपलबोटे माहोलको पनि भूमिका रहेको उनलाई लाग्छ ।

कणाद चाबहिल नजिकै रहेको गीतकार भैरवनाथ रिमाल कदमको घर पनि गइरहन्थे । २० वर्षकै उमेरमा ‘गुफा’ कवितासंग्रह निस्किनुमा रिमालको सानिध्यले काम गरेको उनी बताउँछन् । कणादको पहिलो प्रकाशक बनिन् भुवन थापा, जो विवाहपछि नायिका भुवन चन्दको नामले सुपरिचित बनिन् ।

कणादलाई कविको रुपमा स्थापित गर्न रिमाल र भुवन थापाले प्रारम्भिक भूमिका रह्यो । उनलाई थाहै नपाई कवि बनाउने चाहिँ पिता कृष्णबहादुर सिंह मिश्र नै थिए ।

‘घरकै वातावरणले मभित्र कविता लेख्ने हुटहटी चलाएको मान्छु’, कणाद भन्छन्, ‘तेरा अक्षर राम्रा छन् भन्दै बुबाले आफ्ना कविता सार्न लगाउँदा–लगाउँदै भित्र पनि कविता–रहर बढेछ ।’

फुच्चे कणादले बुबाको सिको गर्दे कविता लेख्न थाले । अड्डाबाट थाकेर फर्केका बुबाले हरेक साँझ छोराको कविता सुन्नपर्ने भएपछि एकपटक भनेछन्, ‘यो दिनहुँ कविता नसुना मलाई, बरु १०८ थान कविता तयार भएपछि गुरुदक्षिणा मानेर मलाई देखा ।’

कणादलाई १०८ कविता पुर्याउन दुई वर्ष लाग्यो । पुत्रको कविताको ढड्डा हेरेर पिताले भनेछन्, ‘गुरुदक्षिणामा पास भइस्, अब आफूले लेखेका कविता मलाई देखाइरहनुको प्रयोजन छैन ।’

त्यसपछि १६ वर्षे कणाद मिश्रले कविताहरू पत्रपत्रिकामा पठाउन थाले, कणाद महर्षिको नाममा । नचिनेका मानिसहरूले कणाद महर्षिलाई पाको उमेरका कोही नयाँ कवि ठान्थे । ‘नामकै कारण मलाई धेरैले ध्यानमा राखेको पछि थाहा पाएँ’, उनी भन्छन् ।

एकचोटी रेडियो नेपालले बृहत् कवि गोष्ठी गर्ने भयो । ‘लाइभ’ कविता वाचन गर्ने त्यो कार्यक्रममा कणाद सहभागी भए । सबैजना लाइनमा बसिरहेको बेला बालकृष्ण समले लीलाध्वज थापालाई ‘त्यो कणाद महर्षि भन्ने को रहेछ, मलाई चिनाउनुस्’ भनेको कणादको कानमा पनि पर्यो ।

‘समले मलाई कुनै पाको उमेरको कवि सोचेका रहेछन्’, कणाद भन्छन्, ‘अहिले पो महर्षिजस्तो देखिन्छु, त्यतिबेला त जुँगाको रेखीसम्म बसेको थियो ।’

****

कणाद २०३० देखि ०५० सम्मको बीस वर्ष साहित्यिक गतिविधिमा निकै सक्रिय रहे । २०३६ सालको ‘सडक कविता आन्दोलन’मा कविता सुनाउँदै देशका दर्जनौं ठाउँ पुगे ।

२०३५ माघमा पोखरामा आयोजित साहित्यिक कार्यक्रममा कणादसँगै युवा कविको टोलीमा सिनियर थिए हरिभक्त कटुवाल । ‘कटुवाल दाइ हाम्रा रोलमोडल कवि थिए’ कणाद भन्छन्, ‘उनी सम्मिलित टोलीमा पोखरा जान पाउँदा मलाई निकै गर्व लागेको थियो ।’

यद्यपि, पोखराको दिन घमाइलो भएपनि रात रमाइलो भएन । कणादसँगै सुतेका कटुवाल आधा रातमा हराएपछि आपत पर्यो । अन्ततः एउटा गल्लिको भट्टीअगाडि बरामद भए कवि कटुवाल । कणादले काँध थापेर कोठामा ल्याएर सुताए पनि बर्बराएर उज्यालो पारिदिए कटुवालले ।

भोलिपल्ट कणादले सोधे, ‘दाइ, तपाईंले राति निद्रामा गाएको त्यो गीत प्रकाशित भएको छ ?

‘राति मैले कुन–कुन गीत गाएँ, पत्तै भएन भाइ !’ कटुवालले जवाफ दिए ।

कणादले आफ्नो चौथो कवितास्रंहको नाम राखे, ‘घाउमा हरिभक्त कटुवाल’ । त्यो संग्रह हरिभक्त कटुवालमा समर्पित रहेको उनी बताउँछन् ।

मिश्र परिवारमा मदिरा सेवन त परको कुरा, चर्चासमेत बन्देज थियो । कणाद भने हरिभक्त कटुवाललगायत कविको गहिरो संगतमा थिए । खासमा उनले २० वर्षकै उमेरमा रक्सीको स्वाद पाइसकेका थिए । ‘काठमाडौं बाहिर जाँदा निकै चढाइन्थ्यो’, कणाद ढाँट्दैनन् ‘जागिर छाडेपछिका सुरुका एकाकी दिनमा त कहिले बिहानैदेखि खाएको छु ।’

लकडाउन सुरु भएयता सात महिना उनले पिउँदै पिएका छैनन् । त्यसो त उनले नपिइकनै तीन वर्ष बिसाएको रेकर्ड पनि छ । ‘धोक्नका लागि धोक्ने चिज होइन मदिरा’ उनी भन्छन्, ‘मुड बनाउने मुड भए भद्र ढंगले पिउने हो मदिरा ।’

सम्पन्न परिवारका सदस्य भएकाले जागीर खानैपर्ने दबाब थिएन, कणादलाई । तर,  यसै बसे वरपर टिकाटिप्पणी हुने हुनाले १९ वर्षको उमेरमा एसएलसी गरेपछि चाबहिलकै प्राइमरी स्कुलमा पढाउन थालेको उनी बताउँछन् ।

त्यसपछि कृषि खरिदबिक्री संस्थानमा खरिदार भएर झापा पुगे । एकदिन धान लोड गरेको गाढामा बसेर मेची पार गर्दैगर्दा पानीको धारले गाढा नै बगायो । उनी भन्छन्, ‘स्कुल पढ्दा भागेर बागमतीमा पौडी खेल्न सिकेकाले त्यतिबेला  ज्यान जोगियो ।’

कृषि संस्थानको काममा बढी दुःख भएपछि उनी २०३४ असोजमा राष्ट्रिय वाणिज्य बैंकमा जागिरे भए । २६ वर्ष त्यहाँ बिताएर २०६० कार्तिकमा अवकाश लिए । अवकाशपछि कुनै जागिर खाएनन् ।  जागिरमा छँदा बैंककै सहायतामा ‘उपहार’ साहित्यिक पत्रिका निकाले । अहिले भने घरमै लेख्ने–पढ्ने गरेर दिन बिताइरहेका छन् ।

कृषि संस्थानको काम गर्दा गाडासँगै मेची नदीमा बगेका कणाद बैंकमा सरेपछि लडेर केही समय थला परे । काभ्रेपलाञ्चोकको दाप्चास्थित वाणिज्य बैंकको शाखामा काठको भर्याङ हतारमा चढ्न लाग्दा लडेर उनको जिब्रोमा गहिरो चोट लाग्यो ।

काठमाडौं ल्याएर उपचार गराउन ढिलो हुँदाको मूल्य कणादले चुकाउन पर्यो । सुपारीका पारखी कणादले सुपारी खान त पाएनन्–पाएनन्, ठूलो स्वरले कविता वाचन गरेर स्रोतालाई लठ्ठ पार्ने क्षमता पनि गुमाए । उनको स्वर सधैंका लागि मसिनो भयो ।

कणाद आठ वर्षको हुँदा नै भर्याङबाट लडेर सिकिस्त भएका थिए । ‘त्यसबेला बुबा र हजुरबुबाले ६ महिनासम्म उपचार गर्नुभयो’ कणाद भन्छन्, ‘मैले अर्धबेहोशीमा त्यो अवधि गुजारें । हजुरआमाले ब्रजयोगिनीलाई भाकल गरेपछि मात्र मेरो होश आएको भने सबैले ।’

उनी भाकलको कुरा पत्याउँदैनन्, तर परिवारजनको आस्था र स्नेहमा अटल विश्वास गर्छन् । ‘म ईश्वर होइन, कसैले पराजित गर्न नसक्ने अदृश्य शक्तिमा विश्वास गर्छु, जसलाई प्रकृति भन्न सकिन्छ’, दुई पटक लडेर मुस्किलले बाँचेका यी कविले भने ।

****

‘कणाद नेपाली कविताबाट हरायो ।’

साथीहरू उनलाई भनिरहेका हुन्छन् । कुनै समय कणादको घर साहित्यिक जक्सन थियो । विमल निभा, नारायण ढाकाल, शार्दूल भट्टराई, गोविन्द वर्तमान आदि लेखक–कवि त्यहाँ भेला हुन्थे ।

‘अचेल साथीहरू सँगको भेट पातलिएको छ’, कणाद भन्छन्, ‘तर, आफू केही न केही लेखिरहेकै छु । कविता, मुक्तक र हाइकु फेसकुबकमा पोस्ट गरिरहेको हुन्छु । पाठकहरूले मन पराएकै प्रतिक्रिया दिइरहनुभएको छ ।’

साहित्यिक गतिविधि र साथीभाइको सर्कलमा सकृय रहँदा कणादका छ थान पुस्तक प्रकाशित भए । ‘गुफा’, ‘पग्लेका लाभाहरू’, ‘भतेर र आँखाहरू’, ‘घाउमा हरिभक्त कटुवाल’, ‘दृष्टीको यात्रा’ संवाद–कविता र ‘कणादका कथाहरू’ निकै चर्चित भए । एकान्तवासतिर धकेलिएपछिका रचनाहरूको पनि संग्रह निकाल्न चाहेको उनी बताउँछन् ।

आख्यानकार नारायण ढकाल मित्र कणादलाई अति सज्जन जीवन बाँच्ने समर्पित कवि मान्छन् । कवि शार्दुल भट्टराई भन्छन्, ‘कणाद दाइलाई अहिले चर्चाबाहिरका ‘ट्रेण्ड सेटर’ कवि भन्दा हुन्छ ।’

युवा कालमै गहन र अमूर्त कवितामा लहसिएका कणाद आफ्नो काव्यशैलीबारे भन्छन्, ‘नबुझिने भनेर मैले अप्ठेरो कविता लेखेको होइन, कलात्मक र निजी शैली विस्तार गर्दा मेरो कविता नबुझिने देखिएको हो ।’

उनले लेखेका छन्– म सोचाइ राख्दछु फूलको मात्र होइन शूलको पनि सुन्दर कविता बन्न सक्दछ । पानीको पनि पीपको पनि र मायाको पनि, घृणाको पनि कविता बन्छ ।’

अनि कवितालाई ‘रेशमले बेरेको ढुंगा’ मान्छन् कणाद । भन्छन्, ‘मैले ढुंगा हान्दा मान्छेले रेशमले प्रहार गरेको ठान्नुपर्यो । तब कविता र कलाको शक्तिले सृजनाको ओज बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?