Comments Add Comment
१६ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस :

क्यान्सर अस्पताल आउने बिरामी बढे, क्यान्सर हुने बिरामी घटे !

१० असोज, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको छ । तर, क्यान्सर पत्ता लाग्ने बिरामीको संख्यामा भने कमी आएको देखिएको छ ।

१६ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा अस्पतालको २१ औं वार्षिकोत्सवका अवसरमा अस्पतालले सार्वजनिक गरेको तथ्यांंकमा अस्पतालमा सन् २०१९ मा उपचारका लागि आउने बिरामीको संख्या अघिल्लो वर्षभन्दा ७ हजार ९ सय ६१ जनाले बढेको देखिएको छ । सन् २०१९ मा बहिरंग विभागमा उपचारका लागि आउने बिरामीको संख्या १ लाख ४५ हजार ७ सय ७६ छ ।

यसअघि, सन् २०१८ मा सोही विभागबाट सेवा लिने बिरामीको संख्या १ लाख ३७ हजार ८ सय ६२ जना थियो । सन् २०१७ मा यस्तो तथ्यांक १ लाख २५ हजार ४१ जना छ ।

अस्पताल आउने बिरामी बढे पनि क्यान्सर रोगी पहिचानको संख्याको भने घटेको छ । अघिल्लो वर्षको तुलनामा गत बर्ष नयाँ थपिने क्यान्सर रोगीको संख्या ४ सय ४० ले कमी आएको छ । सन् २०१९ मा ४ हजार ८ सय ९४ जना नयाँ क्यान्सर रोगी थपिए । अघिल्लो वर्ष सन् २०१८ मा नयाँ थपिने क्यान्सर बिरामीको संख्या ५ हजार ३ सय ३४ थियो ।

सन् २०१८ मा २९ हजार ९ सय ९५ जना नयाँ बिरामी उपचारका लागि अस्पताल आएकोमा सन् २०१९ मा ३२ हजार ८ सय ३१ नयाँ बिरामी आएको अस्पतालको तथ्यांकमा उल्लेख छ । अन्य फलोअपका बिरामी हुन् । बहिरंग विभागबाट सेवा लिनेमा पुरुषभन्दा महिलाको संख्या अधिक छ । अस्पतालमा नयाँ बिरामीका रुपमा १० हजार ९ सय ७० पुरुष र २१ हजार ८ सय ४३ जना महिलाले सेवा लिएका छन् ।

गएको १० वर्षको अवधीमा क्यान्सरको उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या झण्डै १० गुणाभन्दा धेरैले बढेको अस्पतालको तथ्यांकले देखाएको छ ।

विश्वभरी क्यान्सरका विरामीहरूको तथ्यांक राख्ने एक संस्थाले गरेको अनुमानलाई आधार मान्ने हो भने नेपालमा बर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । तीमध्ये ३५ प्रतिशत मात्रै अस्पतालमा आउने गरेका छन् । अस्पतालमा दर्ता भएका बिरामीहरुको संख्याको आधारमा नेपालमा तीव्र रुपमा क्यान्सर रोगी बढिरहेको चिकित्सकहरुको भनाइ छ ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम क्यान्सर रोग चाँडो पत्ता लगाउने सके बिरामीलाई सजिलैसँग बचाउन सकिने बताउँछन् । ‘अर्ली स्टेजमा पत्ता लागे ९० प्रतिशत क्युरेबल हुन्छ, स्टेज ४ मा आउँदा ४० प्रतिशतलाई बचाउन सकिन्छ,’ डा. गौतमले भने, ‘अस्पतालमा बिरामी ढिला आउने, निदान ढिला हुँदा समस्या भएको हो, तर पहिलो स्टेजमा नै पत्ता लगाउन सक्ने मल्टिपल एक्सपेटमा काम गर्न सके क्यान्सर रोगसँग डराउनु पर्दैन ।’

रगतको क्यान्सर अधिक सानो उमेरका बच्चाहरूलाई लागेको देखिन्छ । जन्मिएदेखि १५ वर्षसम्मका बालबालिकाहरू रगतको क्यान्सरबाट पीडित बनेका छन्

विश्वमा बर्सेनि ७० लाखले क्यान्सरबाट ज्यान गुमाएका छन् । नेपालमा क्यान्सरको उपचारको लागि २ लाखदेखि २५ लाखसम्म खर्च हुने गरेको छ ।

पछिल्लो पाँच बर्षको तथ्यांकलाई हेर्दा क्यान्सर भएर वा शंका लागेर अस्पतालमा आएर जाँच गराउने बिरामीको संख्या बढ्दै गएको देखिन्छ । सचेतना बढ्दा बिरामीहरु ओपीडीमा थपिएको कार्यकारी निर्देशक डा. गौतमले बताए ।

अस्पतालमा भर्ना भएर उपचार सेवा लिने बिरामीको संख्या पनि बढेको देखिएको छ । गत वर्ष अस्पतालमा ७ हजार ९ सय ८ बिरामी भर्ना भएका थिए । अघिल्लो वर्ष भर्ना हुने बिरामीको संख्या ५ हजार ७ सय ९८ थियो । अस्पतालमा सन् २०१९ मा ३ हजार ९ सय ३९ बिरामीको सानो ठूलो अप्रेसन गरिएको छ ।

अस्पतालमा हाल ४५० बेड संख्या छ । अस्पतालमा बिरामीका औसत बसाइ ७ दिनको देखिन्छ । अकुपेन्सी दर ७५ प्रतिशतभन्दा माथि छ ।

क्यान्सरको रेटिङ : पहिलोमा फोक्सो, दोस्रोमा पाठेघर

गत वर्ष बीपी कोइराला क्यान्सर अस्पतालमा ४ हजार ८ सय ९४ जना नयाँ रोगी थपिएका छन् । यीमध्ये महिला २६ सय ७५ र पुरुष २२ सय १९ छन् । अस्पतालले दिएको जानकारीअनुसार सबैभन्दा बढी फोक्सोको क्यान्सर भएका बिरामी छन् । सन् २०१९ मा फोक्सोका क्यान्सर भएर उपचार गराउने बिरामीको संख्या ६२२ छ । ६० देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरुलाई अधिक मात्रामा फोक्सोको क्यान्सर भएको पाइएको छ । फोक्सोका क्यान्सर महिलालाई भन्दा बढी पुरुषलाई हुने गरेको छ ।

दोस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर छ । गत वर्ष ५४४ जना महिलाहरुलाई पाठेघरको क्यान्सर भएर उपचार गरिएको अस्पतालको तथ्यांकमा उल्लेख छ । ४५ देखि ६५ वर्ष उमेर समूहका महिलामा यो क्यान्सर अधिक देखिएको छ ।

तेस्रो नम्बरमा स्तनको क्यान्सर पर्दछ । स्तन क्यान्सर भएका ४९३ जना महिलाहरुले गत वर्ष अस्पतालमा उपचार गराएका छन् । ४० देखि ६० वर्ष उमेर भएका महिलाहरुलाई स्तनको क्यान्सर अधिक भएको पाइएको छ ।

चौथौ नम्वरमा आमासयको क्यान्सर २०६ जनामा भएको छ । अस्पतालको तथ्यांकअनुसार पुरुषमा सबैभन्दा बढी ३५७ जनामा फोक्सोको क्यान्सर र महिलामा पाठेघरको मुखको क्यान्सर ५४४ जनामा देखिएको छ ।

रगतको क्यान्सर अधिक सानो उमेरका बच्चाहरूलाई लागेको देखिन्छ । जन्मिएदेखि १५ वर्षसम्मका बालबालिकाहरू रगतको क्यान्सरबाट पीडित बनेका छन् ।

शहरीया जीवनशैली र खानपानका कारणले क्यान्सरका रोगीहरू बढिरहेको चिकित्सकहरु बताउँछन् । सूर्तीजन्य पदार्थको प्रयोग, रासायनिक मल, किटनाशक विषादीको प्रयोग गरिएका, मिसावट भएका खाना र प्रदुषणका कारण क्यान्सरका रोगी बढिरहेको चिकित्सकको भनाइ छ । सूर्तीजन्य सामाग्रीको प्रयोग क्यान्सर लाग्ने ३० प्रतिशत कारक बन्ने गरेको तथ्यांकले देखाउँछ ।

सबैभन्दा बढी बिरामी चितवनका

ओटी रुम

बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउन आउनेहरुमध्ये अधिकांश चितवन जिल्लाका बिरामी छन् । सन् २०१९ मा अस्पतालमा आएका बिरामीमध्ये चितवनका ३ सय २५ जनामा क्यान्सर देखिएको थियो । दोस्रोमा नवलपरासी (२ सय ४९ जना), तेस्रोमा रुपन्देही (२ सय ४४ जना), चौथोमा मोरङका १९१ जनामा क्यान्सर रोग पहिचान भएको थियो । बाँकी जिल्लामा झापाका १७३, बाराका १६०, पर्साका १४९, धनुषाका १४८, सुनसरीका १३६ र कैलालीका १३३ छन् ।

अस्पतालमा देशका ७७ वटै जिल्लाबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन् । भारतबाट गत वर्ष उपचारका लागि आएकामध्ये १०८ पुरुष र ८६ महिला गरी १९४ जनामा क्यान्सर रोग पहिचान भएको थियो । देशभर हुने क्यान्सरका रोगीमध्ये ५० प्रतिशत उपचारका लागि चितवनमा आउने गरेको अस्पतालका कार्यकारी निर्देशक डा. गौतम बताउँछन् ।

देशका अन्य अस्पतालभन्दा एकीकृत विशिष्ट सेवा अस्पतालले प्रदान गर्ने भएकाले बिरामीहरू टाढा–टाढाबाट रिफर भएर आउने गरेको उनको भनाइ छ । अस्पतालमा बेडको संख्या र विषेशज्ञ चिकित्सकहरु पनि थप हुँदा धेरै बिरामीहरुले अस्पतालबाट नै उपचार पाउन सहज भएको कार्यकारी निर्देशक डा. गौतमले जानकारी दिए ।

निःशुल्क उपचार र सचेतना

बीपी कोइराला क्यान्सर अस्पताल चितवनले रोगी बिरामीहरुको उपचार मात्रै नभई क्यान्सरसम्बन्धी बिभिन्न सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ ।

देशका विभिन्न जिल्लामा ७० भन्दा बढी फरक–फरक समुदायमा स्क्रिनिङ सेवा प्रदान गरिएको छ । सरकारले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको जाँचलाई प्राथमिकतामा राखेको छ । अस्पतालले गत वर्ष ६ हजार विद्यालयका छात्राहरूमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएको अस्पताल कार्यकारी निर्देशक डा. गौतमले जानकारी दिए ।

क्यान्सर अस्पतालले स्तनको क्यान्सर, व्यक्तिगत सरसफाइ र क्यान्सरबाट जोगिने उपायबारे जनचेतना फैलाउने काम पनि गर्दै आएको छ ।  अस्पतालले सूर्तीजन्य पदार्थका कारण हुने फोक्सोको क्यान्सरबाट जोगिन अपनाउनुपर्ने सावधानीका बारेमा सडक नाटक, विद्यालयहरूमा गएर क्यान्सर रोगका बारेमा जनचेतना फैलाउने काम पनि गर्दै आएको छ ।

सरकारले क्यान्सरका रोगीलाई एक लाख रुपैयाँ बराबरको उपचारमा सहयोग गर्दै आएको छ  । अस्पतालमा रक्त क्यान्सर भएर उपचार गराइरहेका बिरामीलाई गत वर्ष म्याक्स फाउण्डेशनका तर्फबाट प्राप्त २० करोड १९ लाख रकम बराबरको औषधी तथा अन्य उपचारमा सहयोग प्राप्त भएको कार्यकारी निर्देशक डा. गौतमले बताए ।

अस्पतालबाट विपन्न सेवा अन्तर्गत १६ करोडको निःशुल्क उपचार गरिएको छ । क्यान्सर सेवा समाजमार्फत ५२ लाख रुपैयाँ क्यान्सरका बिरामीलाई औषधी तथा उपचारमा सहयोग गरिएको छ । ७० वर्षमाथिका बिरामीलाई १६ लाख ९६ हजार ३ सय ३५ रुपैयाँ तथा १५ वर्ष तलका बालबालिकाहरुलाई १ करोड ६७ लाख ४१ हजार ४ सय ९७ रुपैयाँ बराबरको उपचार सहयोग गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. गौतमले जानकारी दिए ।

कोभिड प्रयोगशाला सञ्चालन

अस्पतालले भदौ २२ गतेबाट अस्पतालमा नै कोरोना परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

कार्यकारी निर्देशक डा. गौतमका अनुसार अस्पतालले बिरामी र उनीहरूका कुरुवालाई पहिलो र स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई दोस्रो प्राथमिकतामा राखेर कोरोना परीक्षण गर्दै आएको छ ।

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि प्रयोगशाला सञ्चालन अनिवार्य जस्तो हुन पुगेको कार्यकारी निर्देशक डा. गौतमले बताए ।

हालसम्म २ हजार ६४ जनाको कोरोना नमूना परीक्षण गरिएकोमा १ सय ४४ जनामा पोजेटिभ आएको छ । अस्पतालले पीसीआर परीक्षण गरेर मात्रै बिरामीको उपचार गर्ने नीति लिएको छ । कोरोनाबाट हालसम्म अस्पतालका ५६ चिकित्सक, नर्ससहितका कर्मचारी संक्रमित बनेकोमा ५० जना निको भएका छन् । सो अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् ।

जिल्लामा सरकारीतर्फ भरतपुर अस्पतालको भरतपुर कोभिड १९ प्रयोगशाला र निजीतर्फ चितवन मेडिकल कलेजले पनि स्वाब परीक्षण गर्दै आएका छन् ।

अस्पतालको आगामी योजना

अस्पतालले हाल उच्चस्तरको लेजर मेसिन, त्यसका लागि आवश्यक अत्याधुनिक माइक्रोस्कोप, इन्डोस्कोपी गर्दै भिडियो एक्सरे मेसिनबाट उपचार सेवा दिँदै आएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. गौतमले क्यान्सर बिरामीलाई सेकाइका लागि आवश्यक लिन्याक एक्सिलेरेटर दुई वटा मेसिन थप गर्ने योजना रहेको बताए । उनले अस्पतालले मलेकुलर ल्याब स्थापना गर्ने, बोन म्यारो ट्रान्सप्लान्ट, इन्टरभेन्सन रेडियोलोजी लगायतका सेवा थप गरिने जानकारी दिए ।

अस्पतालले दाँत सम्बन्धी सेवा सुरु गर्ने तयारी पनि अघि बढाएको छ । दन्त रोग सेवाको लागि छुट्टै इकाइ स्थापना गर्ने निर्णय अस्पतालले यसअघि गरिसकेको छ । अस्पतालमा हालसम्म दाँत सम्बन्धी सेवा नहुँदा नाक, कान, घाँटी रोग विभागले नै हेर्दै आएको थियो । दाँतको समेत क्यान्सर भएका बिरामीहरू उपचारका लागि आउने तर स्पेशलाइज सेवा नभएकाले उपचार सेवा सुरु गर्ने निर्णय भएको कार्यकारी निर्देशक डा. गौतमले बताए ।

यस्तैं, क्यान्सर एमडी एमएसको अध्यापन गराउने योजना पनि अघि सारिएको छ । क्यान्सर सम्बन्धी रोगमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुरुप क्यान्सर रोगमा एमडी र एमएस अध्यापन गराउने तयारी थालिएको अस्पताल कार्यकारी निर्देशक डा. गौतम बताउँछन् । उनले क्यान्सर सम्बन्धी अनुसन्धान र गुणस्तरीय सेवाका लागि कार्यक्रम प्रभावकारी हुने बताए ।

यस्तै, अस्पतालले फेलोसिप तालिम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । चिकित्सकहरुका लागि क्यान्सर सम्बन्धी तालिम दिने उद्देश्यले फेलोसिपको कार्यक्रम ल्याइएको डा. गौतमले बताए । अस्पतालले अहिले अंकोलोजी बीएन तीन वर्षे कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अस्पतालमा उपलब्ध नभएका तथा अति आवश्यक सेवाहरु सञ्चालनका लागि चिकित्सकहरु झिकाएर उपचार गर्ने नीति अस्पतालले लिएको छ । अस्पतालमा हाल मुटु, दम, सुगर, प्रेसर लगायतका अन्य समस्या भएका बिरामीहरुका लागि उपचार नहुँदा समस्या हुँदै आएको छ । यसका लागि बाहिरबाट कसरी दक्ष चिकित्सकलाई जोड्ने भनेर कार्यविधी बनाउन समिति गठन गरिएको कार्यकारी निर्देशक डा. गौतमले जानकारी दिए ।

टिकट अब एपबाट

बीपी कोइराला क्यान्सर अस्पताल चितवनमा सेवा लिन आउने बिरामीले अब लामो लाइन बसेर टिकट काट्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । अस्पतालले एपबाट नै टिकट काट्न मिल्ने व्यवस्था मिलाएको छ ।

अस्पतालको २१ औं स्थापना दिवसका अवसरमा एपको औपचारिक शुभारम्भ गरिने अस्पतालका कार्यकारी निर्देशक डा. गौतमले बताए ।  बिरामी तथा अन्य व्यक्तिले अस्पताल सम्बन्धी अन्य सूचना तथा जानकारी एपबाट लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment