+
+
Shares

क्यान्सरले खुट्टा काट्नुपर्ने स्थितिमा थिए, अहिले गाडी कुदाउँछन्

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८२ भदौ १९ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटका ललित राउतको खुट्टामा संक्रमण भएर क्यान्सर भयो र ९ पटक अप्रेसनपछि डाक्टरहरूले खुट्टा काट्नुपर्ने बताए।
  • उपचारका क्रममा तुलसी श्रेष्ठको नेतृत्वमा समानुभुती नेपालले ललितलाई निःशुल्क खाना, बस्ने ठाउँ र सहयोग प्रदान गर्‍यो।
  • ललित अहिले समानुभुती नेपालमा सेवा गर्दैछन् र बिरामीलाई सहयोग गर्दै आफ्नो जीवनमा सन्तुष्ट छन्।

जाजारकोटका ललित राउत जब कक्षा ८ मा पढ्दै थिए, तब उनको खुट्टामा अचानक दुखाइ सुरु भयो । सुरुमा यो सामान्य दुखाइ जस्तो लाग्यो, तर ठिक हुनुको सट्टा बढ्दै गयो । जाजरकोट जस्तो ग्रामीण क्षेत्रमा बस्ने भएकाले परिवारको आस्था धामीझाँक्रीमा थियो । त्यसैले उनीहरूलाई धामीझाँक्री कहाँ लगियो र धेरै दिन घरमै बसे । दुखाइ नघटेपछि अन्ततः अस्पताल लगियो ।

त्यहाँ जाँच गर्दा थाहा भयो कि, उनको हड्डीमा पाकेर संक्रमण भएको रहेछ र जसले गर्दा हड्डी नै फुटेको थियो । डाक्टरले हड्डीको संक्रमित भाग काटेर फाल्नुपर्छ भनी सुनाए । यो पहिलो अप्रेसनपछि उनी अलि ठिक भएजस्तो लाग्यो र घर फर्किए । तर समस्या फेरि दोहोरियो ।

हड्डी बारम्बार पाक्ने, दुख्ने र चर्किने हुन थाल्यो । यसबीचमा उनीहरूले नेपालगञ्ज अस्पतालमा उपचार गराए । त्यहाँ पनि अप्रेसन गर्नुपर्‍यो । हड्डी चिरेर पिप फालियो । घर फर्किएपछि थलाबजारमा एक महिना जति आराम गरे, तर फेरि दुखाइ सुरु भयो । यो पटक नेपालगञ्जका डाक्टरहरूले भने, ‘अब यहाँ सक्दैनौँ, काठमाडौंको वीर अस्पताल जानुपर्छ ।’

ललितका बुबा भारतमा काम गर्थे । आमाले रोइकराई गर्दै भनिन् काठमाडौँ गएर उपचार गर्ने पैसा नभएकाले काठमाडौँ जान सकिँदैन । अन्ततः परिवारले ललितलाई काठमाडौं पठाउने निर्णय गरे ।

क्यान्सरको निदान र कठिन उपचार

काठमाडौँको आएपछि उनको उपचार राष्ट्रिय ट्रमा सेन्टरमा सुरु भयो । यहाँ पनि अप्रेसनहरू दोहोरिए । समग्रमा ललितको खुट्टामा ९ पटक अप्रेसन भयो । बारम्बार संक्रमण हुँदा डाक्टरहरूले अन्ततः क्यान्सर भएको बताए । यो सुन्दा ललितलाई निकै नराम्रो लाग्यो । उनी सोच्थे, ‘यस्तो सानो उमेरमा खुट्टा काट्नुपरे कसरी बाँच्ने?’ डाक्टरहरूले भने, ‘अब खुट्टा काट्नुपर्छ ।’ यो खबरले उनलाई निकै दुःखी बनायो, तर उपचार जारी राखियो ।

उपचारका क्रममा ललितको भेट तुलसी श्रेष्ठसँग भयो । तुलसीले वीर अस्पतालमा बिरामी र तिनका कुरुवालाई नि:शुल्क खाना बाँड्थे। साथै नेपालका दुर्गम ठाउँबाट उपचारका लागि काठमाडौँ आएका विपन्न र बेसहारा बिरामीहरूको व्यवस्थापन पनि गर्थे । त्यसैले ललित तुलसीको साथमा समानुभुती नेपालमा गए । त्यहाँ तुलसी र उनका साथीहरूले ललितलाई २ वर्षसम्म स्याहारसुसार गरे । उनीहरूले अस्पताल लैजाने, ल्याउने, औषधि दिने र कुरुवाको काम गरे ।

ललितका बुबा भारतमा काम गर्न जानुपरेकाले यो सहयोग निकै महत्वपूर्ण थियो । अन्तिम अप्रेसनमा डाक्टरहरूले खुट्टा काट्ने तयारी गरेका थिए, तर अप्रेसन थिएटरमा जाँदा चमत्कार जस्तो भयो । डाक्टरहरूले भने, ‘अब खुट्टा काट्नुपर्दैन, पिपहरू आफैँ फुटेर गए । क्यान्सर निको हुन्छ ।’ यो खबरले ललितलाई नयाँ जीवन दियो । बिस्तारै उपचार गर्दै उनी पूर्णरूपमा ठिक भए । अहिले उनी राम्रोसँग हिँडडुल गर्न सक्छन् र पूर्णरुपमा स्वस्थ्य छन् ।

समानुभुती नेपालसँगको सम्बन्ध र सेवा

उपचारका क्रममा ललित जब सहानुभूति नेपाल संस्थासँग जोडिए । तब उनाले यो संस्थाले अस्पतालमा बिरामी र कुरुवाहरूलाई निःशुल्क खाना दिन्छ अनि बस्ने ठाउँ र अन्य सहयोग दिन्छ भन्ने कुरा थाहा पाए ।

ललित अस्पतालमा थिए, तर जाजरकोट फर्किन सम्भव थिएन । अस्पतालले हरेक हप्ता बोलाउने गर्थ्यो । एक जना साथीले तुलसी श्रेष्ठमार्फत समानुभुती नेपालसँग सम्पर्क गराइदिए । त्यहाँ गएपछि ललितलाई आफ्नै परिवार जस्तो माया मिल्यो । संस्थाका संचालक तुलसीले भने, ‘तिम्रो स्याहार हामी गर्छौँ, तिम्रा बुबा भारत कमाउन जाँदा हुन्छ ।’ यसरी ललित त्यहीँ बसे, पढाइ जारी राखे र उपचार गराए ।

अहिले ललित समानुभुती नेपालमा नै सेवा गर्छन् । बिहान उनी पढ्छन्, बेलुका गाडी चलाएर बिरामीहरूलाई अस्पताल लैजाने र ल्याउने काम गर्छन् । उनी भन्छन्, ‘मलाई जसरी सहयोग मिल्यो, अब म पनि दुःखीहरूलाई सहयोग गर्न चाहन्छु ।’

यो सेवाबाट उनलाई ठूलो सन्तुष्टि मिल्छ । एक पटक उनी एक जना बुढा मान्छेलाई खाना पस्किँदै थिए, तब उनलाई आफ्नो विगत सम्झना भयो । पहिले अस्पतालमा बुबासँग थोरै खाना बाँडेर खान्थे, तर समानुभुती नेपालले थपेर दिएको देख्दा उनलाई रुन मन लाग्यो । उनी सोच्थे, ‘मेरा बुबाले पनि यस्तो थपेर खान पाएको भए कति राम्रो हुन्थ्यो ।’ यस्ता भावनाले उनलाई सेवामा लाग्न अझ बढी प्रेरित गर्छ ।

परिवारको खुसी र भविष्यको योजना

ललितका बुबा–आमा अहिले निकै खुसी छन् । उनीहरूले पनि समानुभुती नेपालबाट सहयोग पाएका थिए–बस्ने र खाने सुविधा । ललितका बुबा भन्छन् ‘हामीले जसरी सेवा पायौँ, अब तिमी पनि त्यही सेवा गर्दैछौँ भनेर खुसी लाग्छ ।’

ललित पहिले बेवारिसे जस्तो महसुस गर्थे, तर अब उनी आफ्नो जीवनमा सन्तुष्ट छन् । भविष्यमा उनी सेवासँगै आफ्नो पेशा र व्यापार पनि गर्न चाहन्छन् । उनी भन्छन्, ‘सेवा पाएकाले सेवा गर्नुपर्छ, तर जीवन चलाउन केही व्यवसाय पनि चाहिन्छ ।’

लेखक
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?