Comments Add Comment
मदन पुरस्कार विजेता बानियाँ भन्छन्- :

पुरस्कारको भारी धान्न सक्दिनँ कि !

Photo Credit : तस्वीरः राधिका कँडेल

१० असोज, पोखरा । प्रधानपञ्च परिवारका चन्द्रप्रकाश बानियाँ निजामती जागिरे हुन चाहन्थे, तर नाम निस्किएन । शिक्षक बनेपछि कम्युनिस्ट भएको आरोपमा बर्खास्तीमा परे । अनि राजनीतिमै पूर्णकालीन भएर सांसद बने, तर सन्तुष्टि मिलेन । भाषाका विद्यार्थी थिए, इतिहासमा लेखेर प्रकाशकको खोजीमा हण्डर खाए ।

अहिले उनलाई लाग्छ, जीवन त रहरका लहराहरुमा लहराउने रहेछ । जीवनको मजा बांगोटिंगो रेखामै हिँड्दा हुँदोरहेछ । भन्छन्, ‘अँध्यारो छाउन नदिनु नै जीवन रहेछ, बस् लागिरहनुपर्छ ।’

उनको दर्शन छ-धेरै ठूलो अपेक्षा नराखी आफ्नो काममा लागिरहे, एक दिन आफ्नो महत्व स्थापित हुन्छ । अचेल उनको पनि खोजी भइरहेको छ । कति प्रकाशकले फोन गरेा छन् । किनभने उनको उपन्यास ‘महारानी’ले २०७६ सालको मदन पुरस्कार जितेको छ ।

पुरस्कार घोषणा भएकै दिनदेखि उनको फोन निरन्तर बजिरहेको छ, बधाईकोे ओइरो छ । मिडियाले सोधखोज गरिरहेका छन्- उपन्यास कसरी लेख्नुभयो ? मदन पुरस्कार पाउँछु भन्ने लागेको थियो ? पुरस्कार पाउँदा कस्तो महसुस भइरहेको छ ?

‘यसरी मेरो खोजी भयो कि ‘महालेखक’ नै भएको भ्रमले थिचिन्छु कि भन्ने डर पो भयो,’ ठठट्यौलो पारमा उनी विनित बने, ‘खासमा म साहित्यकारै होइन, यो सबैको स्नेह हो ।’

बानियाँ यतिबेला पोखराको सिमलचौरमा बसेर कहिले तत्कालीन पर्वत राज्यको इतिहास सम्झिरहेका छन् त कहिले महारानीको किम्वदन्ती सुनाइरहेका छन् । जिज्ञासा अनुसार कसैलाई इतिहास र साहित्य लेखनको पृष्ठभूमि बताइरहेका छन् । कसैलाई आफ्नो अनूभव र जीवनसँग जोडिएका कुराहरु बताइरहेका छन् ।

२०७६ सालको मदन पुरस्कार विजेता उनको उपन्यास ‘महारानी’ उहिलेको पर्वत राज्यको किम्वदन्तीमा आधारित छ ।

दिमागमा महारानीको कथा खेल्न थालेको १५ वर्षमा उपन्यास लेखेको उनी बताउँछन् । ‘यसअघि २०६५ सालमा पर्वत राज्यको इतिहासलेखेको थिएँ, ‘उपन्यास चाहिँ पर्वत राज्यसँग सम्बन्धित किम्वदन्ती-कथाहरुको आधारमा लेखेँ ।’

उनका अनुसार, दरबारभित्रैबाट महारानी अलप भइन् भन्ने किम्वदन्ती छ, जसलाई देवी भनेर पूर्जा गरिन्छ अहिले । नियाँको पनि एकजना फूपू घरमा मनोमालिन्य भएपछि सन्यासी भएर हिँडिछन् । उनी भन्छन्, ‘फूपूलाई भेट्दा महारानी पनि सन्यासी भएर हिँडेको हुनुपर्छ भन्ने लाग्यो, अनि उपन्यासले मेलो पायो ।’

त्यतीबेला बोलिने भाषाको खोज गरेर पात्रहरुका लागि भाषिका निर्माण गर्न उनलाई धेरै मिहिनेत गर्नुपर्‍यो । ‘१७७० को दशकमा त्यहाँ बोलिने भाषा, संस्कृति, परम्परा उपन्यासमा छन्’, बानियाँ भन्छन्, ‘त्यो खोज नगरेको भए यो उपन्यास निस्कँदैनथ्यो, निस्केपनि जम्दैनथ्यो ।’

चन्द्रप्रकाश बानियाँले सानैदेखि क्रान्तिकारी हिन्दी किताब पढेकाले नेपाली साहित्यमा खासै रुची भएन । हिन्दी उपन्यासमा लत बस्यो । नेपाली किताबले दिल च्वास्स् नपारेको उनी बताउँछन् । खगेन्द्र संग्रौला, ताना शर्माहरुका भाषाले ताने पनि अरुका किताबले दिल नछोएको उनको अनुभव छ । ‘मैले यसो भन्दा घमण्ड सुनिन सक्छ, तर किन-किन मलाई नेपाली उपन्यासहरुले तान्दै तानेन’, बानियाँले अनलाइनखबरसँग भने, ‘नेपाली साहित्यमै कम रुची भएकाले मलाई पुरस्कारहरुमा पनि चासो रहने कुरा भएन ।’

उनलाई ‘महारानी’ले मदन पुरस्कार पाउँछ भन्ने रत्तिभर थिएन । कम्तिमा किताब कोठाको कुनामा थन्किएन, बजारमा गयो भन्नेमै ठुलो सन्तोष मानिरहेको बेला नेपाली साहित्यको एउटा प्रतिष्ठित पुरस्कार आइलागेको उनी बताउँछन् ।

पुरस्कार छनोट भएपछि मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले फोन गरेर बानियाँलाई बधाई दिए । ‘म त वाल्ल परें,’ उनले भने, ‘पुरस्कार पाउँदा दुःख महसुस भइरहेको छ भनेँ भने कसले पत्याउँछ र !’

बानियाँ आफूलाई अल्छी लेखक मान्छन् । उनलाई मदन पुरस्कारको भारी धान्न सक्दिन कि भन्ने चिन्ता छ । लाग्छ- पुरस्कारले होइन, उसको कृतिले साहित्यकार बनाउने हो । ‘मदन पुरस्कार पाइसकेपछि मलाई ठूला सहरले पनि खोजी गरिरहेको छ’, बानियाँले सुनाए, ‘पुरस्कारले मलाई झ्याली पिटेर लेखकमा स्थापित त गरायो, तर भोलिका दिनमा पाठकको चित्त बुझेन भने भएन नि ।’

वैराग लाग्दो प्रकाशन यात्रा

बानियाँ लेखनमा लागेको २०५५/०५६ सालदेखि हो । लेखेर मात्र हुँदैन, प्रकाशन भएन भने त्यसले पाठकको मुख देख्न पाउँदैन । ‘महारानी’को पनि त्यही हविगत हुन्छ कि भनेर उनी चिन्तित थिए ।

यसअघि तिनवटा पुस्तक निकाल्दा बानियाँले निकै तितो अनुभव गरेका थिए । ‘महारानी’ छाप्न पनि केही प्रकाशन गृहले मानेका थिएनन् । केहिले त छाप्ने बचन दिएर ढाँटेका थिए । बानियाँले आफैं ऋणधन गरेर पुस्तक निकालेर झोलामा राखेर बाँड्ने हिम्मत पनि गरेनन् ।

पर्वत, वेनीका उनले सुरुका वर्षहरुमा लेखेका दुई वटा उपन्यास र गीताको अनुवादको पाण्डुलिपी संकटकालमा प्रहरीले जफत गर्‍यो । त्योबेला प्रहरीले ति पाण्डुलिपी सुरक्षित राखेकै भएपनि माओवादीले बेनी आक्रमण गर्दा जल्यो ।

त्यसपछि लेखेको ‘ऐतिहासिक पर्वत राज्य’ छाप्न उनले साझा प्रकाशनदेखि अनगिन्ति निजी प्रकाशन गृहको चक्कर लगाए, तर पाण्डुलिपी नै गायब होला भन्ने डर मात्र भयो । केहि नलागेपछि अन्ततः बेनी पुस्तकालयलाई जिम्मा दिए, त्यहीबाट प्रकाशन र वितरण भयो । ‘त्यसपछि तीन वर्ष लगाएर २०६८ मा ‘खस जाति र कुल पूजा’ र त्यसपछि ‘मृत्यु संस्कार मन्थन’ लेखेँ’, बानियाँ भन्छन्, ‘पुस्तक तयार भएपछि प्रकाशक खोज्न चारचौरास भौंतारिएँ । भाइवन्धुदेखि पहुँचवालासम्मलाई गुहार मागेँ, तर केहि लागेन ।’

किताव प्रकाशनको दुःख कति भने बानियाँलाई एकजना चिनारुले ‘यो किताबलाई मर्न दिन्न, म खर्च हाल्छु’ भने तर प्रकाशनको तयारी नहुँदै उनी आफैं बिते ।

त्यसपछि बानियाँले भेटेका शिखा बुक्सका पुष्पराज पौडेलले ‘नाफा-घाटा जे होस्, किताब निकाल्ने’ भए । ‘त्यो किताब पनि मदन पुरस्कारका लागि दर्ता भएको थियो, तर मनोनयनमै परेन’, बानियाँ भन्छन्, ‘नाफा, घाटा के भयो मैले सोधेको छैन ।’

कडेंलले अर्को किताबको पनि तयारी गर्न भनेका थिए । बानियाँसँग दार्शनिक विषयको निवन्ध संग्रह ‘भौंजिया’ तयार थियो । कँडेलले त्यसलाई पहिलाको जस्तै बिषय भन्दै अर्को लेख्न भने । बानियाँको दिमागमा महारानीको कथा पाकिसकेको थियो । उनले २०७६ वैशाखमा लेख्न सुरु गरेर भदौमा सकेर असोजमा पठाए ।

२७ पुसमा काठमाडौं विमोचन भयो । तर, कोरोना महाव्यधीका कारण चैतमा देशव्यापी लकडाउन भइहाल्यो । ‘किताब राम्ररी बजारमा जानै पाएको थिएन, तर मदन पुरस्कार विजेता भएपछि अहिले धमाधम विक्री भइरहेको सुन्दैछ’, प्रफुल्लमुद्रामा बानियाँ भन्छन् ।

अब उनी ‘भौंजिया’ र ‘मेरो सेरोफेरो’ प्रकाशन गर्न चाहन्छन् । यसमध्ये ‘मेरो सेरोफेरो’ संस्मरण हो । एउटा शोक निवन्ध संग्रह पनि तयार अवस्था रहेको बानियाँ बताउँछन् । उनी भन्छन्, ‘यसमा ज-जसको मृत्युले मलाई बढी बिचलित बनायो, तिनीहरुबारे लेखेको छु ।’

जिम्मुवालको छोरा कम्युनिस्टको सांसद

राणाकालमा चन्द्रप्रकाश बानियाँका बुढाहजुरबा डिट्ठा थिए भने हजुरबा बेनीथुमको पहिलो जिम्मुवाल । पञ्चायतकालमा बानियाँ खलकका प्रधानपञ्च बन्ने परम्परा नै बस्यो । त्यो क्रम चन्द्रप्रकाशका साहिला दाइसम्म आइपुग्यो ।

चन्द्रप्रकाश भने दाइ प्रधानपंच भएकै बेला कम्युनिष्ट विचारधारामा बगे । बेनीमा कक्षा ७ पास र बागलुङबाट एसएलसी पास गरेका उनले २०३० सालमै काठमाडौंको सरस्वती क्याम्पसबाट बीए पास गरे । त्यो बेला बीएपढ्ने औंलामा गन्न सकिन्थ्यो ।

उनी वेनी फर्केर शिक्षक बने । ‘निजामती कर्मचारी बन्न चारपटक लिखित परीक्षा र तिनवटा अन्तर्वार्ता दिएँ, तर सबैमा फेल भएँ’, बानियाँ भन्छन्, ‘०३६/०३७ सालतिर आन्दोलनमा लाग्दा शिक्षकबाट पनि बर्खास्त भएँ ।’

२०४७ सालमा राज्य व्यवस्था परिवर्तन भएपछि उनको पुनर्वाहाली भयो । त्यस लगत्तैको निर्वाचनमा पार्टीले उमेद्वार बन्न आदेश दियो, बानियाँले शिक्षकको जागिरबाट राजीनामा दिएर चुनाव लडे । राणाकालीन डिट्ठाको नाती, प्रधानपञ्चको छोरो कम्युनिस्ट उमेदवार बनेर २०४८ सालमा सांसद बने ।

२०५१ सालमा मध्यावधिक निर्वाचन भयो । त्योभन्दा अगाडि नै उनमा ब्रेन ट्युमर देखिएको थियो । उपचारपछि राजनीतिबाट विश्राम लिन पार्टीसँग बिदा मागे । ‘तर, २०५४ सालमा एमाले टुक्रिएपछि वामदेव गौतमले नै कर गरेर मालेको म्याग्दी जिल्ला सचिव बनाउनुभयो’, बानियाँ भन्छन्, ‘५६ सालको निर्वाचनमा माले देशभर हार्यो, म पनि हारेँ ।’

पछि माले-एमालेमा मिल्यो, तर बानियाँ राजनीतिबाट टाढिँदै लेखनमा रमाउन थाले । उनी स्थानीय पत्रिकामा नियमित स्तम्भकार भइसकेका थिए । उपन्यास पनि तयार पारेका थिए ।

माओवादीको सशस्त्र बिद्रोह चर्किँदै थियो । कलम चलाउनेहरु तारो बन्थे । त्यही क्रममा माओवादीलाई सघाएको आरोपमा पूर्व सांसद बानियाँ पक्राउ परे । उनीसंगै उनका दुई उपन्यास र गीता अनुवादका पाण्डुलिपी वेनी कारागारमा थुनिए ।

बानियाँ थुनामुक्त भएपनि म्याग्दी बस्नसक्ने स्थिति नभएपछि सपरिवार काठमाडौं पलायन भए । त्यसपछिको ११ वर्ष उनी काठमाडौंमा स्कुल चलाएर बसें । त्यो बेलासम्म छोरा प्रविण डाक्टर बनेर पोखरा आइसकेका थिए । त्यसपछि बाबुआमा पनि ०७१ वैशाखमा काठमाडौंको स्कुल बेचेर पोखरा आए ।

त्यसरी पोखरावासी बनेका ७० वर्षीय चन्द्रप्रकाश बानियाँको साहित्यिक व्यक्तित्व यो साल राष्ट्रिय चर्चामा आएको छ । भन्छन्, ‘जिन्दगीको के ठेगान छ र ! अब जति सक्छु, लेखनमै लाग्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment