Comments Add Comment

मकवानपुरमा एकैदिन ६ जनाको मृत्यु

११ असोज, हेटौंडा । मकवानपुरमा बिभिन्न घटनामा परी एकै दिन ६ जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा तीन जना, दुर्घटनामा एक, कोरोना संक्रमणबाट एक र रेविज रोगबाट एक गरी छ जनाको शनिबार मृत्यु भएको हो ।

भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डी मन्दिर नजिक सेल्फी खिच्ने क्रममा चिप्लिएर राप्ती खोलामा खस्दा १८ वर्षीया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज घर भई हेटौंडा बस्ने प्रियंका सोनी रहेकी छिन् । शनिबार दिउँसो साथीहरुसँग घुम्न गएकी उनी सेल्फी खिच्ने क्रममा चिप्लेर खोलामा खसेकी थिइन् । उनको शव त्रिखण्डी मन्दिरभन्दा ८ सय मिटर तल खोप्लाङको पुल मुनि भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको कैलाश गाउँपालिका ५ र १ को सिमानामा पर्ने खोलाले बगाउँदा स्थानीय ३८ वर्षको धावा स्याङ्तानको मृत्यु भएको छ । स्याङतानलाई ५ नम्बर वडा कार्यालय गोगनेबाट घर फर्कने क्रममा चौकीटार खोलाले बगाएको थियो । खोलाले बगाएर स्याङ्तानलाई विमिरे खोलासम्म पुर्याएको थियो ।

यसैगरी हेटौंडा–१९ मा पर्ने ज्यामिरे खोलामा एक महिलाको शव फेला परेको छ । आन्दाजी ४० वर्षीया महिलाको शव खोलामा फेला परेको हो । मृतकको सनाखत खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–मनहरी खण्डको खरङ्गामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ४६५२ नम्बरको ट्रकले मनहरीतर्फ जाँदै गरेको ना ४३ प ७२ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा रतनपुर २ का ३० बर्षीय सूर्य स्याङतानको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार १८ वर्षीया बिनिता स्याङतान गम्भिर घाइते भएकी छन् । उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका–९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्याका कारण अस्पताल भर्ना भएका उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो ।

यसैगरी हेटौंडा–१० न्युरेनीका शान्तबहादुर मार्गनको रेबिज रोगका कारण मृत्यु भएको छ । मार्गनलाई काठमाडौंको टेकु अस्पतालले उपचार नहुने भनेपछि शुक्रबार घर ल्याइएको थियो । उनको शनिबार बिहान आफ्नै घरमा मृत्यु भएको हो ।

६२ वर्षीय मार्गनलाई गत बैशाखमा कुकुरले टोकेको थियो । एक साता अगाडि उपचारका लागि हेटौंडा अस्पताल गएका उनलाई चितवनको भरतपुर अस्पताल रिफर गरेको थियो । भरतपुर अस्पतालले पनि उपचार गर्न नसकेर काठमाडौंको टेकु अस्पतालमा लगिएको थियो । स्थानीय सोमबहादुर लामाका अनुसार कुकुरले जसरी सास फेर्ने, ¥याल काढ्ने र खाना नरुच्ने जस्ता लक्षणहरु उनमा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment