Comments Add Comment

पद्मश्री उप्रेतीलाई, साधना सम्मान प्रश्रितलाई

मोदनाथ प्रश्रित

काठमाडौं । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई अर्पण गर्ने निर्णय गरेको छ ।

‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, उसले बनाएको कानुन तथा संस्कारका कारण प्रकृतिसँगको प्रेम र सम्बन्ध कसरी जटिल बनेको छ भन्ने देखाएका कारण पुरस्कृत गरिएको निर्णायक समितिले जनाएको छ । उपन्यासमा मानिस अफैँले बनाएको जालमा कसरी फसिरहेको छ र त्यसको बोझले थिचिरहेको छ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरिएको छ ।

त्यसैगरी यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गर्ने निर्णय गरिएको छ । विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका कारण उक्त सम्मान गरिएको बताइएको छ । उनी पूर्वीय दर्शन तथा मार्क्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढंगले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक हुन् ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु. तीन लाख रुपैयाँ रहेको खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रेस विज्ञप्तीमार्फत जनाएका छन् ।

वि.सं. २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस पटक कोरोना संक्रमणको विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment