Comments Add Comment

भारतका राजनीतिज्ञ जसवन्त सिंहको निधन

११ असोज, काठमाडौं । भारतका शीर्ष राजनीतिज्ञ पूर्वमन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । मल्टिअर्गान डिसफङ्सनबाट पीडित भएका उनको दिल्लीस्थित आर्मी अस्पतालमा आइतबार निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई २५ जूनमा उक्त अस्पतालमा भर्ना गरिएको थियो । आइतबार बिहानै उनलाई कार्डियाक अरेस्ट भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टि्वट गर्दै सिंहको निधनमा शोक व्यक्त गरेका छन् ।

जसवन्त सिंहले सन् १९६० मा सेनाको मेजर पदबाट राजीनामा दिएर राजनीतिमा होमिएका थिए । अटल बिहारी बाजपेयीको सरकारमा उनी विदेश मन्त्री भएका थिए । सन् १९९८ देखि २००४ भित्र उनले रक्षा, अर्थ र विदेश मन्त्रालयको नेतृत्व गरे । उनी बाजपेयीका विश्वासपात्र मानिन्थे ।

पछि सन् २००९ सम्म उनी राज्य सभामा विपक्षी दलका नेता थिए र भारतका नेपालीभाषिले गरेको गोरखाल्याण्डको आन्दोलनमा उनको समर्थन थियो । उनले दार्जिलिङबाट चुनाव लडेर जितेका थिए ।

सन् २००९ मा नै उनले आफ्नो पुस्तक ‘जिन्नाः भारत विभाजन और स्वतन्त्रता’ मा पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको प्रशंसा गरेर लेखेपछि उनलाई भाजपाबाट निष्कासित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment