Comments Add Comment

केन्द्र विवादले ३ महिनादेखि रोकियो गण्डकी गाउँपालिकाको गाउँसभा

११ असोज, गोरखा । नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस निकट जनप्रतिनिधिबीचको विवादले गोरखाको गण्डकी गाउँपालिकाको गाउँसभा शनिबार पनि स्थगित भयो । गाउँ कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान गाउँसभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर कानुनले तोकेको समय भन्दा ३ महिना ढिला भइसक्दा पनि जनप्रतिनिधिहरु गाउँपालिकाको केन्द्र सार्ने कि नसार्ने भन्ने विषयमा पार्टीगत रुपमा विभाजित भएपछि आर्थिक वर्ष २०७७/७८ को बजेट गाउँसभाबाट पारित हुन सकेको छैन ।

लामो विवादपछि शनिबार बोलाइएको गाउँसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । गाउँसभाले वैधानिकता पाउन कम्तीमा २३ जना उपस्थित हुनुपर्नेमा शनिबार २२ जनामात्र उपस्थित भए ।

गाउँसभाका ४४ सदस्यमध्ये नेकपाबाट २५ जना र नेपाली कांग्रेसबाट १९ जना रहेका छन् । गाउँपालिकाको केन्द्र सार्नुपर्ने अडानमा रहेको नेकपाले नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्षसमक्ष बजेट पारित गर्न केन्द्र सार्नुपर्ने शर्त अघि सारेको छ ।

के हो विवाद ?

गाउँपालिका स्थापना हुँदा त्यसको केन्द्र साविकको भुम्लीचोक गाविसको कार्यालयमा निर्धारण गरिएको थियो । नेकपासवद्ध जनप्रतिनिधि केन्द्र जसरी भए पनि सार्नुपर्ने अडानमा छन् । उनीहरुले भुम्लीचोकको बन्टारमा वा अन्त जहाँ राखे पनि हालको ठाउँबाट सार्नैपर्ने अडानमा छन् ।

नेकपाबाट निर्वाचित जनप्रतिनिधि वडा नम्बर ७ का अध्यक्ष तुलसीप्रसाद रेग्मीले गाउँपालिकाको केन्द्र सार्ने विषयमा सहमति नभएकाले गाउँसभामा सहभागी नभएको बताउँछन् । यसअघि असार १७ गतेको गाउँसभा पनि नेकपा सवद्ध जनप्रतिनिधि सहभागी नभएपछि स्थगित भएको थियो ।

असार १६ गते बसेको गाउँ कार्यपालिकाको बैठकमा आर्थिक बर्ष ०७७/७८ को बजेटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि साढे दुई करोड रुपैयाँ विनियोजन गर्ने निर्णय भएको थियो । तर उक्त भवन हाल केन्द्र रहेकै स्थानमा बनाउने वा नेकपासम्वद्ध जनप्रतिनिधिले माग गरेको ठाउँ बन्टारमा बनाउने भन्नेमा सहमति जुटेन ।

‘सहमति नभएपछि त्यो रकमलाई समपूरक कोषमा राखौं, केन्द्रको सहमति भएपछि खर्च गरौला भनेका थियौं तर उहाँहरु (कांग्रेस संवद्ध जनप्रतिनिधि) ले मान्नुभएन, त्यसैले त्यो समयमा पनि हामी गाउँ सभामा उपस्थित नहुने निर्णय गर्‍यौं’ रेग्मीले भने ।

असार १७ गते गाउँसभा स्थगित भएपछिको दुई महिना सहमतिको प्रयासमै बितेको गाउँपालिका अध्यक्ष होमबहादुर राना बताउँछन् । अध्यक्ष राना अहिले केन्द्र सार्न नहुने पक्षमा छन् । २०७४ साल कात्तिक ३० गतेको गाउँसभाले भुम्लिचोक केन्द्र रहने गरी सर्वसम्मत निर्णय गरेको उनी बताउँछन् । असोज १३ गतेका लागि पुनः गाउँसभा बोलाइएको छ । सहमति नभए अब चुनावी प्रक्रियाबाट गाउँपालिकाको केन्द्र केन्द्र टुंगो लगाउने अध्यक्ष रानाले बताए ।

नेकपा निकट जनप्रतिनिधि भने चुनावी प्रक्रियामा आफूहरु सहभागी नहुने बताउँछन् । ‘बजेट पास गर्नुपर्छ भन्ने हामीलाई पनि छ, तर चुनावमा हामी जादैनौं, भुम्लीचोकमा केन्द्र हुँदैन त्यसको तलमाथि वा हटियातिर भएपनि हामी सहमत हुन्छौ,’ वडा नम्बर ७ का वडाध्यक्ष रेग्मी भन्छन् ।

असोज १३ गतेको गाउँसभामा भने नेकपाका जनप्रतिनिधि गाउँसभामा सहभागी हुने मनस्थितिमै छन् । यद्यपि उक्त गाउँसभामा कस्तो रणनीति लिने भन्ने विषयमा उनीहरु पार्टीका निकाय र नेताहरुसँग छलफल गरिरहेका छन् । ‘हामी आज पोखरामा मुख्यमन्त्री र मन्त्रीसँग भेटघाट गर्न आएका छौं, उहाँहरुको राय सल्लाह के हुन्छ, त्यही अनुसार अघि बढ्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment