Comments Add Comment

महामारी व्यवस्थापनमा निजामती सेवाको भूमिका

सन् २०१९ को अन्त्य र २०२० सुरुवातसँगै सिङ्गो विश्व कोभिड-१९ भाइरसका कारण सिर्जित विश्वव्यापी कोरोना महामारीसँग जुधिरहेको छ । यसबाट हाम्रो देश अछुतो रहन सकेको छैन । महामारी देखापरेसँगै यसलाई परास्त गर्न महामारी व्यवस्थापनको प्रभावकारिता आवश्यक रहन्छ ।

निजामती सेवा राज्य सञ्चालनको वैधानिक संयन्त्र भएकाले राज्यमा देखापरेको महामारीसँग जुध्नु र यसको प्रभावकारी व्यवस्थापनमा जुट्नु निजामती सेवकहरूको अहम् जिम्मेवारी हो । यसै मेसोमा यस आलेखमा हाल देखिएको महामारी र यसको व्यवस्थापनमा निजामती सेवाले वहन गर्नुपर्ने भूमिकाका सन्दर्भमा चर्चा गरिएको छ ।

सामान्य अर्थमा विश्वको कुनै कुनामा नयाँ किसिमको रोगको सुत्रपात भई त्यसको फैलावट एकभन्दा बढी देश वा विश्वव्यापीरूपमा नै हुन पुगेमा त्यसलाई महामारी भनिन्छ ।

विश्वको कुनै पनि भूगोलमा विद्यमान चिकित्सा विज्ञानले औषधि र उपचार पद्धतिसमेत पत्ता लगाउन नसकेको नयाँ रोगको उत्पत्ति र फैलावट भई उक्त रोगका कारण समाजमा देखापर्ने असहज अवस्था नै महामारी हो । यसले आम जनजीवनमा आकस्मिक रूपमा असामान्य परिस्थितिको सिर्जना गर्दछ ।

मानवीय क्षति हुने, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रहरू छिन्नभिन्न हुनेजस्ता बहुआयामिक प्रभावहरू महामारीका कारण देखिने गर्दछन् । यस किसिमको महामारीको प्रशासकीय प्रबन्धका लागि अपनाइने व्यवस्थापकीय शैलीलाई महामारी व्यवस्थापन भनिन्छ ।

महामारीको कठन, पीडादायक र त्राशयुक्त स्थितिमा नियमित र सहज अवस्थामा सञ्चालन गरिने व्यवस्थापकीय ढाँचाले अपेक्षित कार्यसम्पादन गर्न नसक्ने भएकाले महामारी व्यवस्थापनको अपरिहार्यता रहन्छ ।

देशको शासन प्रणाली र दैनिक प्रशासन सहजरूपमा सञ्चालन गरी सार्वजनिक सेवाप्रवाहलाई व्यवस्थित गर्ने अभिप्रायले हरेक मुलुकमा निजामती सेवाको गठन भएको हुन्छ । निजामती सेवामा आबद्ध कर्मचारीहरूले सेवाभित्र रहेर मूलभुत रूपमा ‘नियमित’, ‘विकासात्मक’ र ‘आकस्मिक’ गरी तीन प्रकृतिका कार्य सम्पादन गर्दछन् । महामारी व्यवस्थापन निजामती कर्मचारीहरूले सम्पादन गर्ने आकस्मिक कार्य अन्तर्गतको महत्त्वपूर्ण पाटो हो ।

मोटामोटीरूपमा महामारी व्यवस्थापनअन्तर्गत महामारी पूर्वतयारीको चरण, महामारीको चरण र महामारीपश्चातको चरण गरी तीनवटा चरणहरू समाहित हुन्छन् । यी सबै चरणहरूमा निजामती सेवामा आबद्ध कर्मचारीहरूले आफ्नो पदीय हैसियत र जिम्मेवारीअनुसार विभिन्न भूमिका वहन गर्नुपर्ने हुन्छ ।

महामारी पूर्वतयारीको चरण महामारी व्यवस्थापनको महत्त्वपूर्ण चरण हो । महामारीको असरलाई कम गर्ने वा टार्ने उपायहरूको अवलम्बन यो चरणमा गरिन्छ । यो चरणमा महामारी भित्रन नदिन उच्च सर्तकता अपनाउँदै पूर्वतयारीका लागि आवश्यक ऐन-नियम एवं नीतिहरूको निर्माणमा विज्ञतायुक्त सहयोग पुर्याउने, निर्मित कानुन र राजनैतिक नेतृत्वबाट निसृत निर्देशनहरूलाई कार्यरूपमा उतार्ने, महामारी व्यवस्थापनको चुस्त संगठनात्मक बन्दोबस्तका लागि पहल गर्ने, देशभित्र महामारी संभावित क्षेत्रको पहिचान र नक्शांकन गर्ने जस्ता कार्य कर्मचारीको हैसियतमा सम्पादन गरिनुपर्ने हुन्छ ।

महामारीको जोखिम न्यूनिकरण गर्न उपयुक्त सूचना प्रवाह, महामारी फैलाउन कारक रहेको रोग र यसको जोखिमबाट बच्ने उपायहरूका विषयमा प्रवर्द्धनात्मक कार्यक्रमको सञ्चालनमार्फत सचेतना अभिवृद्धिजस्ता गतिविधिमा निजामती कर्मचारी अग्रसर रहनुपर्दछ । महामारी देखा परिहालेमा तुरून्तै आवश्यक पर्ने औषधि, उपचार व्यवस्थापनका सामग्रीहरूको भण्डारण, अत्यावश्यक स्रोतसाधन, औजार र उपकरणको समुचित व्यवस्थाजस्ता कार्यहरू पनि यो चरणमा निजामती कर्मचारीबाट अपेक्षित रहन्छन् ।

महामारीको असर देश वा यसको कुनै पनि भूभागमा भित्रन नदिन आवश्यक पूर्वतयारी गर्दागर्दै पनि महामारीजन्य नयाँ रोग प्रवेश गरी मानिसहरूमा फैलावट हुन थालेपश्चात महामारीको चरण सुरु हुन्छ । यो चरणमा चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको भूमिका मूर्त र सक्रिय रहनुपर्दछ । नयाँ रोगबाट ग्रसित भएका व्यक्तिहरू पहिचान गर्ने, अरूमा रोग फैलन नदिन सावधानी अपनाउने, रोगग्रस्त व्यक्तिहरूको उपचारको व्यवस्था मिलाउनेजस्ता कार्यमा चिकित्सक र स्वास्थ्यकर्मीको ठूलो भूमिका हुन्छ । यस कार्यको समग्र व्यवस्थापन र प्रशासनिक बन्दोबस्त मिलाउने सन्दर्भमा स्वास्थ्य सेवाबाहेकका निजामती कर्मचारीको समेत उतिकै गहन जिम्मेवारी रहन्छ ।

महामारी व्यवस्थापनमा अन्तर्राष्ट्रिय जगतमा भइरहेका असल अभ्यासको अनुसरण, ज्ञान र अनुभवको आदानप्रदान जस्ता विषयले ठूलो महत्त्व राख्दछन् । महामारीको कारक चिकित्साविज्ञानको वशभन्दा बाहिर रहेको नयाँ रोग हुने भएकोले यसको नियन्त्रणका लागि विश्व जगतमा विकास भएका नवीन उपचार पद्धतिहरूको तत्कालै अनुसरण गरिनुपर्ने हुन्छ ।

अर्कोतर्फ, महामारीविरूद्ध लड्नका लागि आवश्यक स्रोत साधनको अभाव हुन नदिन पनि अन्य मुलुक र साझेदार संस्थाहरूको सहयोगको अपरिहार्यता रहन्छ । यो अवस्थामा कूटनीतिक पहलमार्फत विश्व जगतबाट सहयोग जुटाउन प्रयत्न गर्नेदेखि लिएर व्यवस्थापन कार्यमा राज्यबाहेकका क्षेत्रहरूको सहभागीता आकषिर्त र परिचालित गर्ने भूमिकासमेत निजामती सेवकहरूले वहन गर्नुपर्ने हुन्छ ।

निजामती कर्मचारीहरूले विपद व्यवस्थापनको लामो अनुभव, विज्ञता र संस्थागत स्मरणलाई सहीरूपमा प्रवाह गर्दै महामारी व्यवस्थापनमा सबै तहका सरकारको कुशल सहयोगी बन्नुपर्ने आवश्यकता रहन्छ । यसैगरी, आम नागरिकलाई सार्वजनिक सेवा र अत्यावश्यक सेवाको अपरिहार्यता महामारीकै समयमा समेत उतिकै रहन्छ । निजामती सेवाले महामारीको अवस्थामा पनि अत्यावश्यक र सार्वजनिक सेवाको प्रवाह परिस्थिति अनुकूल गर्नुपर्ने हुन्छ ।

महामारीको समयमा प्रभावकारी सञ्चार र चुस्त समन्वयको आवश्यकता रहन्छ । प्रभावकारी सञ्चार व्यवस्थापन गर्न र सरकारका सबै तह एवं राज्यबाहेकका क्षेत्रसँग सुदृढ समन्वय कायम गर्न सकिएमा महामारीविरूद्ध लड्न सहज हुन्छ । क्वारेन्टाइन, आइसोलेसनजस्ता आवासहरू, अस्थायी अस्पतालहरू महामारी व्यवस्थापनसम्बद्ध पूर्वाधारहरूको निर्माणको प्रशासनिक प्रबन्ध मिलाउने जिम्मेवारी पनि निजामती सेवाले वहन गर्नुपर्ने हुन्छ । यसका साथै, महामारी प्रभावित समुदायलाई राहतको व्यवस्था गर्ने, वितरण गर्नेजस्ता कार्यहरूमा निजामती कर्मचारीहरूको नेतृत्वदायी भूमिका रहनुपर्दछ । उद्धार तथा राहतका लागि सुरक्षा निकायहरू, चिकित्सक एवं स्वास्थ्यकर्मी र दक्ष जनशक्ति समेतको परिचालन गरी अधिकार एवं स्रोतको कुशल र शीघ्र बाँडफाँड गर्ने तत्परता निजामती कर्मचारीले प्रदर्शन गर्नुपर्ने हुन्छ ।

महामारी पश्चातको चरणमा समाजलाई महामारीको विनाशबाट पुनः विकासतर्फ अग्रसर गराउनुपर्ने हुन्छ । महामारीबाट प्रताडित मानिसको जनजीवनलाई सामान्य अवस्थातर्फ फर्काउनमा पनि निजामती कर्मचारीको भूमिका महत्त्वपूर्ण रहन्छ । महामारी प्रभावित मानिसको जीवनलाई पुरानै स्थितिमा फर्काउन सहजीकरण गर्ने, पीडितलाई राज्यले उपलब्ध गराउने अनुदान र सहायताहरू उपलब्ध गराउने, प्रताडित मानिस र समुदायलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने व्यवस्था मिलाउने, महामारीजन्य रोग विरूद्धका भ्याक्सिन र औषधिहरू उपलब्ध भएमा त्यसको सेवा प्रवाह गर्ने, महामारी ग्रस्त क्षेत्रमा सार्वजनिक सेवाप्रवाहलाई पूर्ववत् रूपमा सुरु गराउने जस्ता दायित्व कर्मचारीले वहन गर्नुपर्ने हुन्छ ।

प्रष्ट कानुनी आधारसहित सञ्चालन भएको करिब साढे ६ दशकभन्दा लामो कालखण्डमा नेपालको निजामती सेवा र यसमा आवद्ध कर्मचारीले देशले भोगेका थुप्रै प्राकृतिक विपद सामना गरिसकेको छ । विभिन्न समयमा देखापरेका सानातिना महामारीको समेत सामना गरिसकेका छन् ।

खासगरी विगतमा देखिएका ठूला प्राकृतिक विपदमा निजामती सेवामा आवद्ध कर्मचारीले वहन गरेको भूमिका स्मरणीय रहेको छ । एचआइभी एड्स, सार्स, इबोला लगायतका विश्वव्यापी महामारी र देशभित्रै समय समयमा देखापर्ने गरेका हैजा, झाडापखालाजस्ता महामारीको कुशल व्यवस्थापनको अनुभवसमेत नेपालको निजामती सेवाले बटुलिसकेको छ । हाल गैरप्राकृतिक विपद्का रूपमा देखापरेको कोभिड-१९ महामारीको व्यवस्थापनमा समेत नेपालको निजामती सेवा जुटिरहेको छ ।

यति हुँदाहुँदै पनि महामारी व्यवस्थापनका सन्दर्भमा नेपालका निजामती कर्मचारीले सक्षमतापूर्वक प्रभावकारी भूमिका वहन गर्दछन् भन्ने नागरिक विश्वास अपेक्षित रूपमा आर्जन हुन सकेको छैन ।

विपद् व्यवस्थापनमा संलग्न प्रशासनिक निकाय तथा कर्मचारीको कौशलता र क्षमता विकास गर्दे व्याप्त कमजोरीलाई सुधार्न थुप्रै प्रयास हुँदै आएका पनि छन् । तथापी, महामारीको पूर्वतयारीमा पर्याप्त ध्यान नपुगेको, राहत वितरण र सामग्री खरिदमा अनियमितताको आरोप लाग्नेगरेको, सहयोगको वितरण अपारदर्शी बन्ने गरेको, अन्तरनिकाय र अन्तरसरकार समन्वयको अभाव खड्किने गरेकोजस्ता मानवीय दृष्ट्रिले संवेदनहीन कमजोरीहरूको भागीदार निजामती कर्मचारी पनि हुन् । पछिल्लो समयमा कोरोना भाईरसको नियन्त्रण गर्न र यससम्बद्ध महामारी व्यवस्थापनको गति अपेक्षित रूपमा प्रभावकारी बन्न नसक्नुमा अन्य धेरै पक्षहरू सँगै निजामती कर्मचारीहरूको असक्षमताको हिस्सा पनि जिम्मेवार रहेको छ ।

महामारी व्यवस्थापनमा विगतमा देखिएका कमजोरीको पुनरावृत्ति हुन नदिनेतर्फ सजगता अपनाउँदै विपद् एवं महामारीका नयाँ आयाम र सिकाइहरू प्रतिविम्बित हुनेगरी अबको भूमिका परिलक्षित हुनुपर्ने देखिन्छ । महामारी व्यवस्थापनमा सिङ्गो निजामती सेवा र यसमा आवद्ध राष्ट्रसेवकहरूले प्रभावकारी भूमिका वहन गर्नुको प्रतिविम्ब महामारीजन्य रोगबाट पीडित नागरिकको मुहार र जीवनशैलीमा देखिनुपर्छ ।

महामारीको क्षति न्यूनिकरण र समयमै यसको नियन्त्रण हुनुका साथै नागरिकहरूले महामारीको जोखिम एवं संक्रामक रोगबाट ग्रस्त बन्नुपरेको बखत सहज, शीघ्र र सुलभ रूपमा आपतकालीन सेवा प्राप्त गर्न सक्ने पहुँच वृद्धि भई आइपरेको संकट मोचन हुन सक्नुमा नै सबै क्षेत्रका निजामती कर्मचारीहरूको भूमिकाको सार्थकता रहने देखिन्छ ।

(लेखक ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल’मा प्रशासन प्रमुख पदमा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment