Comments Add Comment

पन्जाबले २० ओभरमा २२३ रन बनायो, तर पनि राजस्थानले जित्यो

१२ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले किङ्गस इलाभेन पन्जाबलाई ४ विकेटले हराएको छ ।

१९.३ ओभरमा २२६ रन बनाएको राजस्थानले आईपीएलमा लक्ष्य पछ्याउँदै सबैभन्दा ठूलो जित हासिलको नयाँ रेकर्ड बनायो । यो रकर्ड बनाउन सबैभन्दा अहम् ब्याट्समान बने राजस्थानका राहुल तेवतिया । उनले १८ औं ओभरमा पाँच छक्का प्रहार गरे ।

शारजहाँ मैदानमा गएराति पन्जाबले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा २२६ रन बनाएर जित हासिल गर्यो । आईपीएलको इतिहासकै ठूलो स्कोर बनाउँदा पनि पन्जाबको टिम हार्यो ।

यो आईपीएल–१३ मा राजस्थानको रोयल्सको लगातार दोस्रो जित हो । यो जितसँगै राजस्थान अंक तालिकामा दोस्रो नम्बरमा उक्लिएको छ ।

एक समय राजस्थानको जित मुस्किल देखिएको थियो । तर राहुल तेवतियाले कमाल देखाए । राजस्थानलाई अन्तिम तीन ओभरमा जितका लागि ५१ रन आवश्यक थियो । १८ औं ओभरमा राहुलले शेल्डन कोटरेलको बलमा पाँच छक्का प्रहार गरेपछि म्याच उल्टियो । अन्तिम दुई ओभरमा राजस्थानलाई २१ रन बनाउनु थियो । १९ औं ओभरको पहिलो बलमा रोबिन उथप्पा आउट भए तर उनको स्थानमा आएका जोफ्रा आर्चरले मोहम्मद शामीको बलमा दुई छक्का प्रहार गरे । त्यसपछि तेवतियाले अर्को एक छक्का प्रहार गरे । जितका लागि दुई रन मात्र आवश्यक परेको बेला तेवतिया आउट भए । उनले ३१ बलमा ७ छक्काको मद्दतमा ५३ रन बनाए ।

राजस्थानलाई जितका लागि दुई रन आवश्यक परेको बेला मुरुगन अश्विनले अन्तिम ओभरको दोस्रो बलमा रियान परागलाई बोल्ड गरिदिए । तर अर्को बलमा टम करनले चौका प्रहार गरी राजस्थानलाई जित दिलाए ।

सामसन म्यान अफ द म्याच

यो जितको आधार ८५ रन बनाएका सन्जु सामसन र ५० रन बनाएका कप्तान स्टिभ स्मिथले तयार पारेका थिए । सामसन म्यान अफ द म्याच बने ।

ठूलो लक्ष्य पछ्याएको राजस्थानको सुरुवात राम्रो थिएन । यशस्वी जयसवालको स्थानमा टिममा आएका जोस बटलर तेस्रो ओभरमा शेल्डन कोटरेलको बलमा आउट भए । उनले जम्मा चार रन बनाउन सके । तर कप्तान स्टिभ स्मिथ राम्रो लयमा थिए । उनले सन्जु सामसनसँग मिलेर मोर्चा सम्हाले । सन्जु र स्टिभ मिलेर पाँचौ ओभरमा राजस्थानको स्कोर ५० रन नघाए ।

केबल २७ बल सामना गरेका स्टिभले सात चौका र दुई छक्काको मद्दतमा ५० रन बनाए । त्यसपछि भने उनी टिक्न सकेनन् । स्टिभलाई जेम्श निशमले आउट गरे ।

स्टिभ आउट भए पनि राजस्थानको खेल सुस्त भएको थियो । यद्यपि नवौं ओभरमा राजस्थानले एक सय रन पूरा गरिसकेको थियो । सन्जु सामसनले २७ बलमा अर्धशतक पूरा गरिसकेका थिए । जारी आईपीएलमा उनको यो लगातार दोस्रो अर्धशतक हो । १६ औ ओभरमा सन्जुले ग्लेन म्याक्सवेलको बलमा थप तीन छक्का प्रहार गर्दै २१ रन बटुले । अर्को ओभरमा मोहम्मद शामीले सामसनलाई आउट गरे । सामसनले ४२ बलमा ८५ रन योगदान गरे । उनले सात छक्का र चार चौका प्रहार गरे ।

मयंकको ब्याटिङ

यसअघि शारजाह मैदानमा किङ्गस इलाभेन पन्जाबका ओपनर मयंक अग्रवाल र कप्तान केएल राहुलले उत्कृष्ट प्रदर्शन गरे ।

अग्रवाल र राहुलले १६ ओभर ३ बलमा १८३ रनको साझेदारी गरे । अग्रवाल एक्लैले १०६ रन बनाए । उनले ५० बलमा १० चौका र सात छक्का प्रहार गरेका थिए ।

यसैगरी कप्तान राहुलले ५४ बलमा ६९ रन बनाए । राहुलले सात चौका र एक छक्का प्रहार गरे ।

अन्तिम ओभरमा निकोलस पुरनले ८ बलमा २५ रन बटुले भने ग्लेन म्याक्सवेल ९ बलमा १३ रन बनाए । निकोलस र म्याक्सवेल नटआउट रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment