Comments Add Comment

स्वर्णलिखित पुस्तक प्रज्ञा पारमिताको जीर्णोद्धार चल्दै

१२ असोज, काठमाडौं । ललितपुरको क्वाबहालमा रहेको हिरण्यवरवर्ण महाविहार (स्वर्ण मन्दिर)मा राखिएको स्वर्णलिखित पुस्तक प्रज्ञा पारमिताको जीर्णोद्धार गरिएको छ ।

मलमासको समयमा पुस्तक पाठ गर्ने काम नहुने भएकोले असोज २ गतेदेखि पुस्तकको जीर्णोद्धार सुरु गरिएको हो । वि.सं.२०५४ सालदेखि हरेक पटकको मलमासमा पुस्तकको जीर्णोद्धार गर्ने गरिएको छ ।

करिब ७९५ वर्ष पहिले आनन्द भिक्षुले लेखेको प्रज्ञा पारमिता बौद्ध ग्रन्थमा रहेको नौ मुख्य ग्रन्थमध्येको एक हो । यो पुस्तक रञ्जना लिपी र संस्कृत भाषामा लेखिएको छ ।

यसलाई वर्षभरि नै पाठ गर्ने गरिएकोले हरेक साढे २ वर्षमा आउने मलमासको समयमा जीर्णोद्धार गर्ने गरिएको छ । पहिले नियमित यसको जीर्णोद्धार गर्ने नगरिएको भए पनि २०५४ सालदेखि हरेक मलमासको महिनाभरि यसको जीर्णोद्धार गर्ने गरिएको योङ मेन्स बुद्धिस्ट एसोसिएसनका दि्वतीय उपाध्यक्ष सुरेश बज्राचार्यले जानकारी दिए ।

तस्वीर : चन्द्रबहादुर आले

उनका अनुसार कुल ३०० पानाको यो पुस्तक जीर्णोद्धार गर्न एक किलोभन्दा धेरै सुन लाग्छ । यो सुनको खर्च गुठियारहरूले नै व्यहोर्ने गरेका छन् । यो पुरानो पुस्तक भए पनि गुठीको मातहतमा रहेकोले पुरातत्व विभागले यसमा आफ्नो दाबी कायम गरेको छैन ।

अहिले यसलाई बिहान ८ बजेदेखि १० बजेसम्म जीर्णोद्धारको कार्य गर्ने गरिएको छ ।

तीन तले प्यागोडा शैलीको हिरण्यवरवर्ण महाविहार शाक्यमुनि बुद्धको मन्दिर हो । स्वर्णमन्दिर नामले प्रसिद्ध यो महाविहार १२ औं शताब्दीमा राजा भाष्कर मल्लले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment