Comments Add Comment

अग्रता जोगाउन नसक्दा आर्सनल हार्‍यो, लिभरपुल र एस्टन भिल्ला अपराजित

१३ असोज, काठमाडौं । साविक विजेता लिभरपुलले प्रिमियर लिगमा आर्सनलविरुद्ध पुनरागमन जित हात पारेको छ । आर्सनलले पहिले अग्रता लिएपनि खेल लिभरपुलले ३-१ ले जितेको हो ।

लिगमा लगातार ३ खेल जित्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । आर्सनलले पनि लगातार दुई खेल जित्दै लिगमा उत्कृष्ट सुरुवात गरेको थियो । तर लिभरपुलविरुद्ध अग्रता लिएपनि कायम राख्न नसक्दा पराजित भयो ।

लिभरपुलको मैदान एनफिल्डमा भएको खेलको २५औं मिनेटमा एलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय भने टिकेन ।

२८औं मिनेटमै साडियो मानेले लिभरपुलका लागि बराबरी गोल फर्काए। ३४औं मिनेटमा एन्डी रोवर्टसनले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।

८८औ मिनेटमा डिएगो जोटाले गोल गरेपछि लिभरपुलले ३-१ को जित हात पारेको हो । जोटा केही यसै सिजन वल्भसबाट लिभरपुल पुगेका हुन् ।

लगातार तेस्रो जितपछि ३ खेलबाट ९ अंक जोडेको लिभरपुल अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ९ अंक नै जोडेको लेस्टर सिटी गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । यस्तै ९ अंक नै रहेको एभरटन तेस्रो स्थानमा छ ।

लेस्टर लिभरपुल र एभरटनले यस सिजन खेलेका तीनवटै खेल जितेका छन् । यस्तै एस्टन भिल्लाले पनि फुलहमलाई ३-० ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ । २ खेल मात्र खेलेको खेलेको एस्टन भिल्लाले दुवै खेल जितेको छ र ६ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ ।

एस्टन भिल्लालाई लगातार दोस्रो जित दिलाउन ज्याक ग्रेलिसले चौथो मिनेटमा, कोनोर हाउरिहानेले १५औं र ट्राएन मिङ्ग्सले ४८औं मिनेटमा गोल गरे । ५६औं मिनेटमा फुलहमका बबी रेडले गोल गरेपनि भिएआर रेफ्रिले त्यसलाई मान्यता दिएन ।

यस सिजन प्रिमियर लिगमा बढुवा भएका फुलहमले लगातार तेस्रो खेलमा हार बेहोरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment