Comments Add Comment

तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने

१३ असोज, काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालन हुने भएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले असोज १९ गते (अक्टोबर ५ तारेख) देखि चीनबाट सामान नेपाल आइपुग्ने अनलाइनखबरलाई जानकारी दिए ।

मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नाका खोल्ने विषयमा सहमति भएको हो ।

दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको प्रजिअ ढकालले जानकारी दिए । ‘नाका खोल्ने विषयमा सहमति भएको हो’ उनले भने, ‘उनीहरुले (चिनियाँ पक्षले) सेप्टेम्बर ४ तारेखसम्म तयारी पूरा गर्छन् र ५ तारेख (असोज १९ गते) बाट सामान हाम्रोमा आइपुग्छ ।’

नाका खुल्ने दिनसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुपर्नेछ । ‘हामीले सामान लोड गर्ने  मान्छे तयार पार्नुपर्छ । २५ जनाको ग्रुप यसअघि नै थिए, थप २९ जनाको ग्रुप तयार पार्छौं’ प्रजिअ ढकालले भने ।

तातोपानी भन्सार कार्यालय प्रमुख लालाबहादुर खत्रीका अनुसार चीनबाट ल्याएका सामान लोड अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५ जना र २९ जनाको दुई वटा श्रमिक समूह तयारी अवस्थामा रहनेछ । श्रमिकको हरेक ५/५ दिनमा पीसीआर परीक्षण गराउने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने सहमति भएको उनले जानकारी दिए ।

छलफलमा नेपालको तर्फबाट सिन्धुपाल्चोकको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, भन्सार प्रमुख, सीमा सुरक्षा बलका अधिकारी र जिल्ला प्रहरी प्रमुखलगायतको सहभागिता थियो ।

नेपालतर्फ पहिरो खसेका कारण असार २४ गतेदेखि नेपालकै आग्रहमा तातोपानी नाका बन्द गरिएको थियो । तर सडक मर्मत सकिएपछि नेपालले आग्रह गर्दा पनि तिब्बतको हिमताल फुट्ने जोखिमलाई कारण देखाउँदै चीनले नाका खोल्न आनाकानी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment