Comments Add Comment

गोरखामा विद्यालयमै सुरु भयो पढाइ

गोरखाको भीमसेनथापा गाउँपालिका-७ बोर्लाङको सरस्वती माध्यमिक विद्यालयमा पढ्दै विद्यार्थीहरु । तस्वीर सौजन्य : कृष्ण ढकाल ।

१३ असोज, गोरखा । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण रोकिएको विद्यालयस्तरको पढाइ गोरखामा सुरु भएको छ । गोरखाका धेरै सामुदायकि विद्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा सञ्चालन सुरु गरेका छन् ।

विद्यालयहरुले कक्षाअनुसार पालो निर्धारण गरेर विद्यालयमा विद्यार्थीको भीड नहुने वातावरण बनाएका छन् । आइतबारदेखि कक्षा सञ्चालन गरेको गोरखा नगरपालिका–७ डण्डीडाँडामा रहेको नवज्योति माविले आइतबार १, ४, ६ र १० कक्षाका बिद्यार्थीलाई पढाउने व्यवस्था गरेको छ ।

त्यस्तै सोमबार कक्षा २, ७ र ९ र मंगलबार बाल विकास कक्षासँगै कक्षा ३, ५ र ८ का विद्यार्थीलाई पढाइने प्रधानाध्यापक शिवराम कट्टेलले बताए । ‘वुधबारबाट पुन त्यही सेड्यूल दोहोरिन्छ, एक हप्तामा एक दिन एउटा बिषयको पालो आओस् भन्ने हो,’ उनले भने । शनिबार वाहेक दैनिक बिहान दश बजेदेखि १ बजेसम्म तीन घण्टा मात्र पढाइ सञ्चालन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार एउटा बेन्चमा एक जना विद्यार्थी राखिएको छ । ‘एउटा कक्षामा २० जना भन्दा बढी विद्यार्थी राखेका छैनौ, धेरै बिद्यार्थी भएको कक्षालाइ सेक्सन ब्रेक गराएका छौ,’ उनले भने । विद्यार्थी र शिक्षकका लागि मास्क अनिवार्य गरिएको छ ।

विद्यालय पस्दा अनिवार्य रुपमा सावुन पानीले हात धुने व्यवस्था गरिएको छ । ‘शिक्षकलाई पनि विद्यार्थीको पुस्तक नछुनु भनेका छौं, एउटा विद्यार्थीको पाठ्यपुस्तक अर्काेले प्रयोग गर्न नपाउने भनेर नियम बनाएका छौ,’ उनले भने ।

गोरखा नगरपालिका–६ छहरेमा रहेको बालमन्दिर माविले पनि सोमबारदेखि कक्षा शुरु गरेको छ । ‘दुर्गम भेगका विद्यार्थी धेरै छन्, त्यसैले अहिले विद्यार्थीको संख्या कम भएकाले विद्यालयमा बोलाएर पढाउनु भन्दा पनि गृहकार्य दिएर पठाउने गरेका छौ,’ प्रधानाध्यापक लुमनाथ लामिछानेले भने । विद्यार्थी र शिक्षकलाई मास्क अनिवार्य गरिएको र विद्यालय हाताको ठाउँठाउँमा हात धुने ठाउँको व्यवस्था गरिएको उनले बताए ।

धार्चे गाउँपालिकाका आधाभन्दा बढी बिद्यालय संचालनमा छन् । यही असोज ५ गते बसेको गाउँ शिक्षा समिति, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकलगायत सरोकारवालाको बैठकले बिद्यालय संचालन गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम आचार्यले बताए ।

सोही निर्णय अनुसार आइतवारबाट कक्षा संचालन गरिएको लाप्राकको मणिकाम देवी माविका प्रधानाध्यापक धनबहादुर गुरुङले बताए । दुई सिफ्ट गरेर पढाइ संचालन गरिएको उनको भनाइ छ । ‘बिहान दश बजेदेखि १२ः४० सम्म २ देखि ६ कक्षाका बिद्यार्थीलाई पढाउछौ,’ उनले भने, ‘१ बजेदेखि ४ बजेसम्म ७ देखि ११ कक्षाका विद्यार्थीको पढाइ हुन्छ ।’

एउटा कोठामा बढीमा १४ जना विद्यार्थी राखिएको र मास्क र सेनिटाइजर अनिवार्य गरिएको उनले बताए । जिल्लाको आरुघाट, भीमसेन थापा गाउँपालिका, पालुङटार नगरपालिकालगायतका अन्य स्थानीय तहमा पनि विद्यालय खुलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment