Comments Add Comment

कोरोनाबाट ८ जनाको मृत्यु, संक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो

१३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुका अनुसार काठमाडौंका तीन, बाँकेका दुई तथा मोरङ, सर्लाही र पर्साका एकएक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४९३ पुगेको छ ।

  • रातोपुल, काठमाडौंकी ७० वर्षीया महिलाको मंगलबार पाटन अस्पतालमा मृत्यु भएको छ । असोज ८ गते कोरोना संक्रमण पुष्टि भएकी उनी निमोनिया भएर ११ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • कीर्तिपुर, काठमाडौंका ६० वर्षीय पुरुषको सोमबार नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । ८ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको १० गते पुष्टि भएको थियो ।
  • काठमाडौंकी ५७ वर्षीया महिलाको मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । असोज ३ गते अस्पताल भर्ना भएकी उनलाई दम, निमोनिया र थाइरोइडको समस्या थियो ।
  • कोहलपुर नगरपालिका-१०, बाँकेका ५३ वर्षीय पुरुषको मंगलबार नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । ४ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको ६ गते पुष्टि भएको थियो । उपचारका क्रममा प्लाज्मा दिनुका साथै रेमडेसिभिर चलाइएको थियो ।
  • नेपालगञ्ज उपमहानगरपालिका-७, बाँकेका ४१ वर्षीय पुरुषको सोमबार नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि ३१ भदौमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई प्लाज्मा दिनुका साथै रेमडेसिभिर चलाइएको थियो ।
  • सुनबर्सी-७, मोरङका ६८ वर्षीय पुरुषको मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भर नोबेल मेडिकल कलेज पुगेका उनलाई कोरोना संक्रमण भएको ५ असोजमा पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि ७ असोजमा धरान लगिएको थियो ।
  • बरहथवा नगरपालिका-६, सर्लाहीका ७० वर्षीय पुरुषको सोमबार नेशनल मेडिकल कलेज, वीरगञ्जमा मृत्यु भएको छ । ११ असोजमा नारायणी अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि नेशनलमा सारिएको थियो । उनी मधुमेह, उच्च रक्तचाप, मुटु र मृगौलासबन्धी रोगका बिरामी समेत थिए ।
  • सखुवा प्रसौनी गाउँपालिका-१ पर्साका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । वीरगञ्जको नारायणी बयोधा हस्पिटलबाट थप उपचारका लागि चितवनको भरतपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । मधुमेहको पुरानो रोगी उनको मृगौलामा समेत समस्या देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।

संक्रिय संक्रमित २० हजार ३९६ छन् । १० हजार ७०७ संक्रमित होम आइसोलेसनमा छन् भने ९ हजार ६८९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २१३ को आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment