Comments Add Comment

‘दर्पण छायाँ फेरि हाम्रो ड्रिम प्रोजेक्ट’: निरुता सिंह

नायिका निरुता सिंहले आफूले काठमाण्डौ मिस गरिरहेको र चाडै आउन चाहेको बताएकी छिन् । मुम्बइमा रहेकी निरुताले अनलाइनखबरसँग कुरा गर्दै भनिन्–‘लकडाउन र कोरोनाका कारण काम अगाडि बढ्न सकेको छैन । तर, म चाडै काठमाण्डौ आएर काम गर्न आतुर छु ।’

नायिका सिंहले चलचित्र ‘दर्पण छायाँ फेरि’मा काम गर्न लागेको जानकारी दिइन् । भनिन्–‘यो चलचित्र मेरो, नायकद्धय दिलिप रायमाझी र उत्तम प्रधानको ड्रिम प्रोजेक्ट हो । उत्तमजीले यो चलचित्रको कथालाई निकै नै उत्कृष्ट शैलीमा लेख्नुभएको छ । यसले दर्पण छायाँको ब्रान्डलाई विगार्दैन बरु अझै माथि लैजान्छ ।’

कथावस्तुलाई आधुनिक शैलीमा ढालिएको भन्दै निरुताले दर्शकले मन पराउने बताइन् । यो चलचित्रलाई पनि तुलसी घिमिरेले निर्देशन गर्दैछन् । लकडाउन अगाडि सबै तयारी पुरा गरेर छायांकन सुरु गर्ने तरखर गरिएको भन्दै निरुताले लकडाउनका कारण काम रोकिएको बताइन् । सरकारले छायांकनका लागि अनुमति दिएसँगै काम सुरु गर्ने उनको तर्क छ । चलचित्रमा दिलिप, निरुता र उत्तमकै लगानी रहनेछ ।

निरुताले आफूलाई केही चलचित्रबाट अफर आएपनि लकडाउनका कारण कुराकानी अगाडि बढ्न नपाएको बताइन् । चलचित्र ‘दाल भात तरकारी’मा काम गरेकी निरुतालाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । निरुताले अरु चलचित्रमा काम गरेपनि नगरेपनि ‘दर्पण छायाँ फेरि’ भने पहिले अगाडि बढाउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment