+
+
Shares

दृष्टिविहीनको तलव राख्ने बैङ्क खाता कहिले ?

गौतम पोख्रेल गौतम पोख्रेल
२०७७ असोज १४ गते १६:३२

दृष्टिविहीन व्यक्तिहरूलाई कहिले परिवार त कहिले समाजबाट विभेद गरिँदै आएको छ । यो वा त्यो नाममा कसैले कसैमाथि विभेद गर्न न त कानुनले नै छुट दिएको छ न त यसले हाम्रो सब्यताको परिचय नै दिन सक्छ ।

म पनि एक दृष्टिविहीन भएको नाताले जीवनमा धेरै तरहका विभेदहरु भोग्दै आएको छु जून एकै प्रहरमा व्याख्या गरेर साध्य छैन । यसमा पनि मुख्य गरी हामी दृष्टिविहीनहरूले बैङ्किङ क्षेत्रमा भोग्नुपरेका समस्याहरू म यस लेखमार्फत प्रस्तुत गर्दैछु ।

नेपाल सरकारले आफ्ना कानुन तथा नीतिहरू एवम् समय समयमा कार्यक्रम तथा घोषणाहरू मार्फत प्रत्येक नेपालीको बैङ्किङ सेवामा पहुँच पुर्‍याउने नीति लिँदै आएको छ । तर, सरकारका नीति कार्यक्रम एवम् संविधानको मौलिक हक अन्तर्गत धारा १८ मा व्यवस्था गरिएको समानताको हकलाई समेत चुनौती दिँदै बैङ्क तथा वित्तीय संस्थाहरूले दृष्टिविहीनहरूलाई बैङ्किङ सेवा उपभोग गर्नबाट बञ्चित गर्दै आएका छन् ।

कतिपयले बैङ्क खाता नै खोल्न पाएका छैनन् भने कतिपय बैङ्कका विभिन्न सुविधाहरू मोबाइल तथा इन्टरनेट बैङ्किङ, डेबिट, क्रेडिट कार्ड लिनबाट बञ्चित भइरहेका छन् । यो यथार्थ हो सबै आँखा नदेख्नेहरूले सही तवरले हस्ताक्षर गर्न सक्दैनन् ।

हामी विवेकशील मानिसले सोच्नुपर्ने कुरा हो कि एउटा कत्ति आँखा नदेख्ने मानिसलाई हस्ताक्षर गर, नक्सा बनाऊ भन्नु कत्तिको मानवीय व्यवहार हो । यस्तो व्यवहारले हामी दृष्टिविहीनहरूको आत्म सम्मानमा कति चोट पर्छ त्यसको हेक्का राख्नु हामी सबैको कर्तव्य होइन ?

मेरो एकजना भाइ जो जन्मसिद्ध पूर्ण दृष्टिविहीन छन्, उनको गर्बिलो शैक्षिक उपलब्धिको म मुक्तकण्ठले प्रशंसा गर्छु । उनी यस्ता व्यक्ति हुन् जसले ११-१२ मा नेपालका सारा विद्यार्थीलाई उछिनेर सर्वोत्कृष्ट भएका थिए, तर, विडम्बनाको कुरा यस्ता प्रतिभावान् व्यक्ति एउटा बैङ्कको खाता खोल्न लायक भएनन् । ती भाइ त एक प्रतिनिधि उदाहरण मात्र हुन्, उनीजस्ता हजारौं दृष्टिविहीनले आज सहज ढङ्गले बैङ्किङ सेवा उपभोग गर्न पाएका छैनन् ।

हामी बैङ्कमा जागिर खान सक्छौँ, सेयर किनेर बैङ्कको मालिक बन्न सक्छौँ तर विडम्बना त्यही बैङ्कको ग्राहक बन्न सक्दैनौं । म ल्यापटप तथा मोबाइलको प्रयोग गरेर सजिलै मोबाइल तथा इन्टरनेट बैङ्किङ, विभिन्न अनलाइन वालेटहरू सजिलै प्रयोग गर्न सक्छु । टीएमएसको प्रयोग गरी अनलाइन माध्यमबाट धितोपत्र खरिद बिक्री गर्ने सीमित व्यक्तिहरूको सूचीमा म आफू पनि पर्छु भन्दा निकै गर्भ महसुस हुन्छ ।

यद्यपि, यी बैङ्किङ सेवा उपभोग गर्न मैले कति सङ्घर्ष गर्नुपर्‍यो त्यसको म शब्दमा व्याख्या गर्न सक्दिन । तीन वर्ष सङ्घर्ष गरेर आफ्नो नामको एटीएम पाएपछि मैले बैङ्कको म्यानेजरलाई भनेको थिएँ, “म्याडम, मैले टेलिकममा सजिलै जागिर पाएँ, त्यो जागिरबाट पाउने तलव निकाल्न प्रयोग हुने एटीएम पाउन मैले धेरै दु:ख पाउनुपर्‍यो । यदि म भविष्यमा ठूलो मान्छे भएँ र आफ्नो आत्मकथा लेखेँ भने यो बैङ्कबाट पाएको दुख म उच्च प्राथमिकता दिएर उल्लेख गर्ने छु ।

अपितु, मेरो बैङ्कसँगको लडाइ अझै सकिएको छैन । केही दिन अगाडि मात्र मैले कनेक्ट आईपीएसका लागि बैङ्कसँग अनुरोध गरेको थिएँ । जवाफमा बैङ्ककी कर्मचारीले भनिन्,“तपाईं आँखा देख्न सक्नुहुन्न कसैले तपाईंको user name र password को मिस युज गरिदिन सक्छ । तसर्थ, तपाइलाईं यस्ता सेवा प्रयोग गर्न दिन मिल्दैन ।’

यसको अर्थ, म फेरि दुई चार पटक सेतो छडी टेक्दै बैङ्क धाउनुपर्ने भयो, बैङ्कका कर्मचारीहरूसँग त्यो सेवा पाउन हात जोडेर अनुनय विनय गर्नुपर्ने भयो अनि त्यति गर्दा पनि नभए संविधान कानुनको सहारा लिएर फेरि सञ्चार माध्यम र अदालत गुहार्ने धम्की दिनुपर्ने भयो ।

मैले पटक पटक बैङ्कका कर्मचारीहरूसँग भनेको छु, ‘के कोही आँखा देख्ने मानिसको युजर नेम र पासवर्ड कसैले चोरेर उक्त खाताको दुरुपयोग गरिदियो भने त्यसको जिम्मेवार बैङ्क हुन्छ त  ? यदि हुँदैन भने म मेरो खाताको जिम्मेवारी आफैं लिन्छु भन्दा मैले बैङ्किङ सेवा उपभोग गर्न किन नपाउने ?

मेरो जस्तो समस्या आज प्राय सबै दृष्टि विहीनहरूले भोग्दै आएका छन् । बोल्न सक्नेले लडेरै भए पनि बैङ्किङ सेवा उपभोग गरेका छन् भने सोझा साझाले आफूले कमाएको पैसा सिरानीमुनि असुरक्षित ढङ्गले राख्न वाध्य छन् । यता अपाङ्गता अधिकारकर्मीहरू सँगको साक्षतकारमा राष्ट्र बैङ्कले नीतिगत रूपमा दृष्टिविहीनहरूलाई बैङ्किङ सेवा उपभोग गर्नबाट बञ्चित नगरेको दाबी गर्दै आएको छ उता विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूले अनेक बखेडा झिकेर दृष्टिविहीनहरूलाई बैङ्किङ सेवाबाट बिमुख गराइरहेका छन् ।

अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने पनि दृष्टिविहीनलाई बैङ्किङ सेवामा सहज पहुँच होस् भनेर धेरै पर्यत्नहरू गरिँदै आएका छन् । हाम्रै छिमेकी मुलुक भारतको केन्द्रीय बैङ्क रिजर्ब अफ इन्डियाले दृष्टिविहीनलाई बैङ्किङ सेवामा पहुँच पुर्‍याउने हेतुले एक विशेष निर्देशिका जारी गरेको छ ।

जसमा यस्ता व्यक्तिलाई कुनै पनि बैङ्किङ सेवाबाट बञ्चित नगराउने, बैङ्क तथा वित्तीय संस्थाको वेवसाइट तथा एपहरूलाई पूर्ण रूपमा दृष्टिविहीनमैत्री बनाउनुपर्ने,औंठाछापबाट पनि चेक दिनुपर्ने, जस्ता थुप्रै बन्दोबस्त गरिएका छन् । हाम्रो नेपालमा पनि दृष्टिविहीनलाई निरक्षर व्यक्तिको जस्तो व्यवहार गरिँदै आएको छ । उक्त बैङ्कले आफ्नो निर्देशनमार्फत दृष्टिबिहीनलाई निरक्षर व्यक्तिका रूपमा व्यवहार नगर्न समेत निर्देशन दिएको छ ।

पहिला ल्यापटप र मोबाइल प्रयोग गर्ने दृष्टिविहीन शून्यप्राय थिए । विस्तारै माइक्रोसफ्ट् विन्डोले नेरेटर, गुगलले टक ब्याकर एप्पलले भ्वाइसओभर विकास गरे । यी एप्लिकेसनहरूले हामी दृष्टिविहीनको आर्थिक, सामाजिक तथा शैक्षिक जीवनमा आमूल परिवर्तन ल्याइदिएका छन् । यदि यी सफ्टवेयर निर्माण गर्ने कम्पनीको सोच पनि हाम्रा बैङ्करहरूको जस्तो भइदिएको भए हाम्रो के हबिगत हुने थियो त्यो म परिकल्पनासम्म गर्न सक्दिन ।

बैङ्क खाता खोल्दा हस्ताक्षर अनिवार्य गरिनु दृष्टि विहीनहरूका लागि अन्यायपूर्ण हुन्छ । यसमा नियाम निकायले नीतिगत रूपमा नै वैकल्पिक व्यवस्था गरिदिनु पर्दछ । साथै, दृष्टिविहीनलाई बैङ्किङ सेवा प्राप्त गर्नबाट बञ्चित गराउने बैङ्क तथा वित्तीय संस्थालाई कानुनी कारबाही गर्नु वाञ्छनीय देखिन्छ ।

विभिन्न नियम कानुन तथा राष्ट्र बैङ्कले ल्याउने मौद्रिक नीतिमा समेत व्यवस्था गरिए बमोजिम बैङ्किङ संस्थाहरूले ठूलो रकम सामाजिक सुरक्षामा खर्च गरिरहेका छन् । यसमा थोरै रकम थप गरी आफ्ना एटीएम मेसिनलाई एक्सेसिबिलिटी सपोर्ट गर्ने बनाइदिने हो भने हाम्रा लागि डेबिट कार्ड चलाउनु ठूलो कुरा हुने छैन ।

जबकी, अहिले पनि केही हाम्रा साथी हरू नियमित रूपमा एटीएम प्रयोग गर्दै आएका छन् । मोबाइल तथा इन्टरनेट बैङ्किङ दृष्टिविहीनले सजिलै प्रयोग गर्न सक्छन् यसमा बैङ्कले दृष्टिविहीनलाई केवल विश्वास गरिदिए पुग्छ ।

अतः भर्खर मात्र कामना सेवा विकास बैङ्कले दृष्टिविहीन विशेष खाताको शुभारम्भ गर्दै टकिङ एटीएमको समेत व्यवस्था गरेको छ । यस बैङ्कको प्रशंसायुक्त कार्यलाई सबै वाणिज्य बैङ्कहरूले अनुकरण गरिदिए एकातिर हामी दृष्टिविहीनले बैङ्किङ सेवा उपभोग गर्न पाउछौं भने अर्कातिर बैङ्कहरूले ग्राहक र सरकारले आफ्नो लक्ष्य हासिल गर्न सक्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?